जघन्य हत्याराको मृत्युमा काँग्रेसको शोक

रौतहट जिल्लाको राजपुर फरहदवाको इँटाभट्टा काण्डका मुख्य नाइके काँग्रेस नेता शेख इद्रिसका भतिजा अफताव आलमको मृत्युमा काँग्रेस केन्द्रीय कार्यसमितिले शोक मनाएको छ । जसका कारण देशभरिका काँग्रेस कार्यकर्ताको शीर निहुरिएको छ भने आत्मग्लानीको महसुस भएको छ । वि.सं. २०६४ सालको संविधानसभामा निर्वाचित उनी नै मच्चाएको बम काण्डका घाइतेहरूलाई निर्ममतापूर्वक इँटाभट्टाको आगोमा जिउँदै फालेर हत्या गरिएको त्यो क्षण राजपुरबासीहरूका लागि विर्सन नसकिने कहालीलाग्दो दिन हो । सत्ता, शक्ति र पैसाको आडमा उक्त सामूहिक हत्या काण्डलाई दबाउने काम भयो ।
जिउँदै जलाएर मारिएका आफन्तहरूले न्यायका लागि आवाज उठाउँदा उनीहरूको आवाज दबाउने काम भयो । या त उनीहरूको सुनियोजित हत्या भयो, या त उनीहरूलाई पलायन हुन बाध्य बनाइयो । अपराध धेरै दिनसम्म लुकाउन सकिँदैन भन्ने यथार्थ हो । वि.सं. २०७६ सालमा अपराधी आलमलाई पक्राउ गर्न सर्वोच्च अदालतले आदेश दियो र उनीमाथि छानबिन गरी मुद्दा चलाइयो । उनले त्यसबेला मच्चाएको बम काण्डमा घाइते भएका २२ जना घाइतेलाई ट्र्याक्टरमा हालेर इँटाभट्टाको आगोमा लगेर हालिएको थियो । बम काण्डका प्रत्यक्षदर्शी स्थानीयहरूले त्यसबेला दिएको जानकारी अनुसार बम काण्डमा कसैको मृत्यु भएको थिएन । तर राति ११ बजे घाइतेहरूलाई उपचारका लागि लैजाने बहानामा इँटाभट्टाको आगोमा लगेर हालिएको थियो । आगोले जल्दा घाइतेहरू कति चिच्याएका होलान् ? तिनका आफन्त तथा आश्रित परिवार कति प्रताडित भए होलान् ? कति सम्म गरिएको थियो भने सत्ता र शक्तिको आडमा सशस्त्र प्रहरीले स्कर्टिङ गर्दै उनीहरूलाई स्थानीयहरूमा भय र त्रास सिर्जना गरी इँटाभट्टा पु¥याएको थियो । योभन्दा क्रूर अपराध अरू के हुनसक्छ ? पछि सर्वोच्च अदालतले इँटाभट्टा काण्डमा दोषी ठहर गर्दै जन्मकैदको फैसला ग¥यो । पीडित आफन्तहरूले न्यायको सुस्केरा हालेका थिए । तर उनीहरूको न्यायप्रतिको विश्वास धेरै दिन टिक्न सकेन । उच्च अदालत वीरगञ्जका दुई जना न्यायाधीशले अपराधी आलमलाई निर्दोष करार गरिदिए । अदालतको उक्त निर्णयमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र संस्थापन पक्षका अन्य नेताहरूको समेत चर्को दबाब थियो । हुन त आलमलाई छुटाउने देउवाले प्रारम्भदेखि नै दबाब सिर्जना गर्दै आएका थिए । उच्च अदालत वीरगञ्जको निर्णयपश्चात् लगत्तै हत्यारा आलमलाई मस्तिष्कघात भयो भने न्यायाधीशद्वयमाथि निलम्बनसम्मको कारबाही भयो । यस्ता जघन्य अपराधीलाई छुटाउने र मृत्युपश्चात् शोक मनाउने काँग्रेसले पीडित परिवारका पक्षमा कहिल्यै आवाज उठाएन । अपराधीको मृत्युमा शोक मनाउने, सिंगो पार्टीको झण्डा तीन दिनसम्म झुकाउने र कार्यालय बन्द गर्न निर्देशन दिने काँग्रेस पक्कै पनि आरालो बाटोमा हिँडेको स्वीकार गर्न कसैलाई अप्ठ्यारो पर्दैन । जनहित र जनभावनाको कदर र सम्मान गर्न नसके त्यो प्रजापरिषद्मा परिणत हुने निश्चित छ । काँग्रेस त्यही पदचापमा हिँडेको छ ।

तपाईको प्रतिक्रिया