धरान । प्रत्येक वर्ष छठ पर्व अझ समावेशी र साझा पर्वको रूपमा विकसित हुँदै गएको छ । विगतमा मुख्यतः तराईमा मात्र मनाइने यो पर्व अहिले हिमाल र पहाडसम्म फैलिँदै सबै जातजाति, भाषा र समुदायको साझा सांस्कृतिक उत्सवका रूपमा स्थापित हुँदैछ । यसैबीच, पहाड र तराईको संगमस्थल धरानमा पनि यस वर्ष सबै समुदायका नागरिकले एकै ठाउँमा भव्यताका साथ छठ पर्व मनाएका छन् । धरानको सेउती र सर्दु खोलाले यसपटक बेहुलीझै रूप लिएका थिए । विगतमा बालुवा, ढुंगा र पानीको सामान्य बहाव मात्र देखिने यी खोलाहरू छठ पर्वको अवसरमा दीप, फूल र रंगोलीले सजिएर झकिझकाउ बनेका थिए । विगतमा यहाँको पूजा स्थलमा मुख्यतः मधेशी समुदायका महिला, वृद्धवृद्धा र युवाहरू मात्र देखिन्थे । तर पछिल्ला वर्षहरूमा राई, लिम्बु, क्षेत्री, ब्राह्मण लगायत सबै समुदायको उत्साहपूर्ण सहभागिताले छठ पर्वको आकर्षण र आत्मीयता झन् बढेको देखिन्छ । सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेर व्रतालुहरूले पूजा गरेका थिए भने मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न गरेका छन् ।


छठ पर्वको अवसरमा पूजास्थलमा उपस्थित धरान–१५ की लिला ढकालले धरानमा सबै जातजातिले एउटै ठाउँमा साझा पर्वका रूपमा छठ मनाएको दृश्यले सबैमा उत्साह र गौरवको अनुभूति दिलाएको बताउनुभयो । सर्वसाधारणले पनि एउटै स्थानमा सबै समुदाय मिलेर पूजा गर्दा विशिष्ट अनुभव भएको बताए । उनीहरूका अनुसार सूर्यदेवको आराधना र छैठी माताको पूजाबाट मनोकांक्षा पूरा हुने जनविश्वास अझ प्रगाढ बन्दै गएको छ । विगतमा आ–आफ्नै तरिकाले मनाइँदै आएको छठ पर्वलाई अहिले व्यवस्थित रूपमा मनाउन छठ पूजा समिति गठन गरिएको छ । समितिलाई धरान उपमहानगरपालिकाले समेत सहयोग गरेको छ । सूर्य र छैठी माताको महत्वका कारण धरान–४ ले मन्दिर निर्माणका लागि जग्गा उपलब्ध गराएको र गत वैसाखदेखि मन्दिर निर्माणको काम सुरु भएको छ । अनुमानित ४० लाख रुपैयाँ लागतमा बन्ने सो मन्दिरको निर्माणमा हालसम्म करिब ५ लाख रुपैयाँ खर्च भइसकेको छ । छठ पूजा समितिका संयोजक महेन्द्र कायस्थका अनुसार आगामी वर्षभित्र मन्दिर निर्माण सम्पन्न भई सर्वसाधारणका लागि दर्शन खुला गरिनेछ । नेपालीहरूले मनाउने अन्य पर्वहरूजस्तै छठ पर्व पनि अहिले सबै नेपालीको साझा सांस्कृतिक सम्पदाको रूपमा विकसित हुँदै गएको छ । सामूहिक रूपमा मनाउने परम्पराले आपसी सद्भाव, सामाजिक एकता र भाइचाराको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै ल्याएको छ । धरानको छठ पर्वले विविधतामा एकताको सन्देश दिँदै नेपाली समाजमा सामूहिकताको सशक्त उदाहरण प्रस्तुत गरेको छ ।
छठ पूजाको महत्व

धरान । विगतमा तराईका जिल्लाहरूमा मात्र मनाइने गरिएको छठ पूजा यतिबेला नेपालका भित्री मधेस र पहाडहरूमा समेत धुमधामका साथ मनाइन थालिएको छ । छठ पूजाको व्रतमा सर्वव्यापी सूर्य देवताको पूजा आराधना गर्ने गरिन्छ । सूर्य भगवान सम्पूर्ण प्राणीहरूले प्रत्यक्ष देख्ने मात्र नभई सम्पूर्ण प्राणीहरूको जीवनको आधार पनि हुन् । छठ पूजामा ब्रतलुहरूले सूर्यको उपासना, पूजापाठ मात्र गर्दैनन्, षष्ठी देवी अर्थात् छठ माताको पूजा पनि गरिन्छ । हिन्दू धर्म र शास्त्र एवं पौराणिक मान्यता अनुसार षष्ठी माताले सन्तानको रक्षा, स्वास्थ्यता एवं दीर्घायु बनाउने बलियो मान्यता रहँदै आएको छ । छठ पूजालाई आजभोलि लोकपूजा पनि भन्ने गरिएको छ । सूर्य देवको आराधना गर्ने भएकाले पनि यसलाई लोकपर्व वा लोकपूजा भनिएको हो । यद्यपि आजभोलि देखासिकीका आधारमा पनि छठ पूजा मनाउने प्रचलन बढ्दै गएको पाइन्छ, तर यसको मौलिक कुराहरूका सम्बन्धमा स्वयं छठ पूजाका ब्रतलुहरू समेत अनविज्ञ रहेको देखिन्छ । कतिपय मानिसहरूलाई छठ पूजामा कुन देवीको पूजा गरिन्छ भन्ने कुरा पनि धेरैलाई ज्ञात छैन । मूलतः छठ पूजामा सूर्य देवको आराधनासँगै सूर्य देवका पत्नीद्वय उषा र प्रत्युषालाई अर्घ दिएपछि मात्र पूजा सम्पन्न भएको मानिन्छ । अर्कोतर्फ सूर्य देव र षष्ठी माताको सँगसँगै पूजा
गरिने भएकाले पनि यो पर्वको आफ्नै विशेष महत्व रहेको छ । यहाँ स्मरणीय कुरा के छ भने सूर्यसँग त सबै परिचित छन् तर छठदेवीका बारेमा धेरै अनविज्ञ रहेका छन् । शास्त्र अनुसार सृष्टिको अधिष्ठात्री प्रकृति देवीको एउटा अंशलाई देवसेना भनिन्छ भने प्रकृतिको छैठौँ अंश भएका कारण छठ पूजामा पूजिने देवीको नाम षष्ठी रहन गएको हो । शास्त्र अनुसार षष्ठी देवीलाई सृष्टिकर्ता ब्रह्माको मानसपुत्रीको रूपमा समेत अथ्र्याइएको छ । नवरात्रिका बेला यी देवीलाई षष्ठी देवीको रूपमा पूज्ने गरिन्छ । अर्कोतर्फ छठ पूजाको सुरुवात कसरी भयो भन्ने कौतुहलता पनि धेरैमा हुन सक्छ । शास्त्र अनुसार प्रथम मनु स्वायम्भुवका पुत्र राजा प्रियव्रतका कुनै सन्तान थिएनन् । सन्तान नहुँदा उनी दुःखी थिए । त्यसैबेला ऋषि कश्यपले पुत्रेष्टि यज्ञ गर्न सल्लाह दिए । यज्ञपछि उनीहरूको पुत्र त भयो तर मृत जन्मिएको । राजाले विलौना गरेको देखेर षष्ठी देवी प्रकट भई मृत पुत्रलाई जीवित बनाइदिइन् । त्यसपछि छठ पर्व एवं पूजा गर्ने प्रचलन सुरु भएको हो । अर्कोतर्फ हिन्दू धर्मशास्त्रमा सूर्यलाई गुरु मानिन्छ । महाबली हनुमानले सूर्यसँगै शिक्षा लिएका थिए । राम–रावण युद्धमा रामले आदित्य हृदय स्तोत्रको पाठ गरी सूर्यलाई खुशी बनाएपछि मात्र रावणलाई हानेको अन्तिम वाणले राम विजयी भएका थिए । सूर्यको उपासना गरिएको भएकाले त्यसैबेलादेखि छठ पर्व मनाउने प्रचलनमा आएको किंवदन्ती छ । यस्तै अर्को रोचक प्रसङ्ग पनि छठ पूजासँग जोडिएको छ । भगवान कृष्णका पुत्र साम्बलाई कुष्ठ रोगले च्यापेको थियो । त्यसबेला साम्बले पनि सूर्यको उपासना गरेको हुँदा कुष्ठ रोगबाट मुक्ति पाएका थिए । सूर्यको उपासना गर्नाले मनुष्यले रोगबाट छुटकारा पाउने विश्वास गरिन्छ । जसले सूर्यको उपासना गर्छ ऊ दरिद्र, दुःखी, शोकग्रस्त, अन्धो हुँदैन । सूर्यलाई ब्रह्माको तेजका रूपमा पनि हिन्दू धर्मशास्त्रमा वर्णन गरिएको छ । सूर्यले अर्थ, धर्म, काम, मोक्ष पुरूषार्थ प्रदान गर्ने भएकाले सम्पूर्ण संसारको रक्षा गर्छन् भन्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ । त्यसैले छठ पर्वमा सूर्यको उपासनालाई प्रथम मानिन्छ ।







