बाहिरी चलखेलको आँडमा मुलुक यतिबेला आन्तरिक द्वन्द्वमा फँसेको छ । सुरक्षा संवेदनशीलता बढेको छ, लुटपाट, आगजनी र हत्याका श्रृंखलाहरुले सर्वत्र त्रास उत्पन्न गराएको छ । यस्तो जटिल परिस्थितिको चिन्ता भन्दा पनि नेपाली काँग्रेसका महामन्त्रीद्वय पदीय आसक्तिमा मुगरिलालको सपना देखेर दौडिएका छन् । धमिलो पानीमा माछा मार्ने अभिसप्त देखिएका छन् । मुलुकको जटिल परिस्थितिको तिनलाई चिन्ता छैन । आफ्ना पार्टी सभापतिले चुटाइ खाएको अवस्थालाई उनीहरुले पदीय हस्तान्तरणको अवसर ठानेका छन् । पदका निम्ति कतिसम्म हदसम्म भएका छन् भने उनीहरु अब पार्टीको निमित्त महाधिवेशन पर्खने अवस्थामा छैनन् । विशेष महाधिवेशन बोलाएर भए पनि पद लुछ्ने अभियानमा लागेका छन् । यहाँका लागि हाल उनीहरुले कथित हस्ताक्षर अभियान चलाएका छन् । चालीस प्रतिशत हस्ताक्षर संकलन गरेर, नेतृत्वलाई दबाब दिएर विशेष महाधिवेशन गरी पद प्राप्तिको लागि दौडिएका छन् । तर उनीहरुले एउटा कुरा चाहिँ भुसुक्कै बिर्सिएका छन् – देश रहे राजनीति रहने हो । देशै नरहे यिनले कहाँ राजनीति गर्ने ? कस्का लागि राजनीति गर्ने, के का लागि राजनीति गर्ने ? त्यस अवस्थामा यिनको अस्तित्व कसले जगाइदिन्छ ? भदौ २३ र २४ गतेको आन्दोलनमा यी जसरी लुकेर भागेका थिए अवस्था त्यो भन्दा विकराल हुनेछ । दुई दिनको आन्दोलनमा काँग्रेसका महामन्त्रीद्वय कहाँ थिए ? जनताबाट विश्वास गुमाएकै कारण यिनको श्रीसम्पत्तिमा आगजनी भयो । किन तिनका घर जल्नबाट कसैले रोक्नुको सट्टा आगोमा घ्यू थप्ने काम गरे ? आफ्नै सभापति र तिनकी श्रीमतिलाई हातपात गरेर रक्ताम्य बनाउँदा यी आफ्नै ज्यान बचाउन लुकेर बसे । राजधानीमा मात्र ५० हजार नेपाली काँग्रेसका सक्रिय सदस्य थिए । किन सभापतिलाई जोगाउन कोही बाहिर आएनन् ? घटनाका अवस्थामा सबै या त मोबाइलमा घरभित्र फेसबुक हेरेर बसेका थिए या त ज्यान जोगाउन भूमिगत भएका थिए । तसर्थ पहिला मुलुकमा शान्ति स्थापनाका लागि भूमिका निर्वाह गर्नुपर्छ । यसका लागि सरकार जसको सुकै होस् आफ्ना राय सुझाव पेस गर्नुपर्छ । महामन्त्रीद्वयले एउटा कुरा यतिबेला बिर्सिएका छन् – नेपाली काँग्रेस अब हिजोको अवस्थामा छैन । कार्यकर्ताहरु सबै लाखापाखा लागिसकेका छन् । भोलिका दिनमा काँग्रेसले चुनाव लड्न उमेदवार नपाउने अवस्था सिर्जना भइसकेको छ । आज कुनै पनि काँग्रेसका जिम्मेवार कार्यकर्ता एक्लै सडकमा हिड्न सक्ने अवस्था छैन । कागजमा ८ लाख सक्रिय कार्यकर्ताको ध्वाँस अब नपिटेको बेश । परिस्थितिको गम्भीरतालाई अब मनन नगर्ने हो भने देउवा र आरजुको नमियत महामन्त्रीद्वयले पनि भोग्नुपर्छ । पद र प्रतिष्ठा समय र आवश्यकताको उपज हो । विशेष महाधिवेशनको कथित अभियानको वर्तमान अवस्थामा औचित्य छैन । भ्रष्टाचारको मामलामा महामन्त्रीद्वय समेत विशुद्ध छैनन् । त्यसैले राजधानीमा बिना कुनै व्यापार, व्यवसाय आलिशान महल ठडिँदैन, करोडौंको सवारी साधन जोडिँदैन, करोडौं बैंक ब्यालेन्स हुँदैन । तसर्थ पहिला मुलुकको अस्मिताका लागि आवाज उठाऊँ, कर्तव्य पालन गर, नत्र कालान्तरको हविगत आरजु देउवाको भन्दा फरक हुनेछैन । हेक्का रहोस् ।
