धरान । जेनजी एलाइन्स फोर मोनार्कीले वर्तमान अन्तरिम सरकारको कार्यशैलीले आफूहरूलाई फेरि विद्रोहमा जान बाध्य पारिएको जनाएको छ । जेनजी एलाइन्स फोर मोनार्कीले शनिवार राष्ट्रपति, प्रधानमन्त्री, सञ्चारमाध्यम, दलहरू, ओपिनियन लिडरहरूको नाममा सचेतना अपिल जारी गर्दै त्यस्तो चेतावनी दिएको हो । जेनजी एलाइन्स फोर मोनार्कीका प्रवक्ता सनातन रिजालद्वारा हस्ताक्षरित अपिलमा जेनजी पुस्ताले जुन उद्देश्य र भावनाका साथ आन्दोलन गरेका थिए, वर्तमान अन्तरिम कठपुतली सरकारले तिनै हिजोका भ्रष्ट, दलाल, हत्याराहरूको पक्षपोषण गरिरहेको समेत गम्भीर आरोप लगाएका छन् । अपिलमा भनिएको छ – हामी वास्तविक जेनजी समूहका देशभक्त राष्ट्रवादी किशोर–किशोरी तथा युवाहरु तपाईहरूको एकलकटे र निषेधको विचार तथा व्यवहार देखेर आक्रोशित समेत भएका छौं । हामीलाई फेरि साँच्चै विद्रोहमा जान तपाईहरूले बाध्य पारिरहनु भएको अवस्था जानकारी दिन चाहन्छौं ।

अपिलमा भनिएको छ अहिले राष्ट्रपति र प्रधानमन्त्रीहरूले जेनजी समूहका व्यक्तिहरूसँग वार्ता गर्न भनी वास्तविक देशभक्त र राष्ट्रवादी जेनजीहरूलाई निषेध गरी नेपालमा अफापसिद्ध पुरानो रीतिथिति, भ्रष्ट संयन्त्र, शैली तथा संविधानलाई कायम राख्ने प्रयास गरिरहनु भएको छ । तपाईहरू जेनजीसँग वार्ता र छलफल भनी दलका नयाँ पुस्ताका कार्यकर्ताहरू र विदेशी एजेन्टहरूसँग छलफल गरिरहनु भएको छ । यसको परिणाम राम्रो हुने छैन । जो–जो व्यक्तिहरूलाई ‘जेनजी’ भनेर भ्रम फैल्याउने गरी मिडियाले जेनजीहरू पुरानै भ्रष्ट व्यवस्थाका समर्थक मात्र हुन भन्ने समाचार र विश्लेषण तयार गरी स्थान दिएको छ, तिनीहरूलाई जेनजी भनेर राष्ट्रपति र प्रधानमन्त्रीहरू छलफल गरिरहनु भएको छ भने उहाँहरूको यस पूर्वदेखिने विभिन्न पार्टीका नेताद्वारा परिचालित भएका भ्रष्ट नेता र दलका कार्यक्रममा सहभागी भएर खिचिएका फोटो–भिडियोले प्रमाणित भएको छ कि तिनीहरू परिवर्तनका संवाहक होइनन् । उहाँहरू जो–जो प्रतिनिधि भनेर छलफलमा बोलाइएका र मिडियामा कभर गरिएका छन्, उहाँहरू सबैले कुनै न कुनै दल आवद्ध विद्यार्थी संगठनको टिकट लिएर चुनाव लडेका, नेपालको हितविपरीत चलेका, विदेशी आइएनजीओका सदस्य रहेका मात्र हुन् । तर आन्दोलनमा शहादत प्राप्त गर्ने जेनजी शहीद तथा अस्पतालमा मरणासन्न अवस्थामा छटपटाइ रहेका योद्धाहरूका सम्बन्धमा भन्नुपर्दा–ती कुनै पनि भ्रष्ट नेता र दलसँग आवद्ध नभएका, विदेशी एजेन्ट÷आइएनजीओका सदस्य नभएका व्यक्ति हुन् । बाँच्ने प्रतिनिधि भनेर चिनाइएका सबैले दलका नेताहरूबाट फोटो खिचाएर हिँड्ने, आइएनजीओका सदस्य भएका विद्यार्थी संगठनबाट चुनाव लडेका देखिन्छन्; तर शहीदहरू र घाइतेहरू भने स्वतन्त्र रहेका र कुनै नेतासँग नजिक भएर फोटो समेत नखिचेकाहरू हुन् – यो कसरी हुनसक्छ ? यसबाट के प्रष्ट हुन्छ ? यसबाट प्रष्ट हुन्छ – लड्नेहरू सच्चा देशभक्त राष्ट्रवादी थिए, तर मौकाको फाइदा उठाउनेहरू पुरानै भ्रष्टहरूको पक्षमा रहेका विदेशीद्वारा सञ्चालित हुन् । तिनीहरूसँगै वार्ता गरिरहेको र सञ्चारमाध्यमले पनि जेनजी भनेर तिनीहरूलाई नै देखाएर वास्तविक जेनजीको आवाज र आकांक्षालाई दबाउन खोजेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अपिलमा भनिएको छ – हामी मर्नबाट थोरै मात्र बाँचेका, शरीरभरि पाँच–सात गोली खाएर बाँचिरहेका वास्तविक देशभक्त जेनजीहरूले देशमा राजसंस्था तथा राजसंस्थावादी शक्ति पनि एउटा शक्ति हो; यसलाई निषेध नगरियोस् । आन्दोलनमा मर्ने र घाइतेहरू अधिकांश राजसंस्थाको पक्षमा रहेकाहरू थिए । हामी कुनै पार्टीमा आवद्ध होइनौं, तर इतिहास पढ्दा राजसंस्थाले नेताहरूले जस्तो देशको हितविपरीत कुनै काम नगरेको प्रमाणका आधारमा राजसंस्थालाई अभिभावकीय भूमिका प्रदान गरेर अघि नबढेमा देश रहन्न भन्ने निष्कर्ष आएको छ । यसैले बाहेकको कुनै सहमति वा वार्ताले अर्को विद्रोह निश्चित र छिट्टै निम्त्याउने छ भनी यसपूर्व घाइते तथा मृतकका
परिवारबाट सचेत गराइसकेको छौं । त्यसैले पुनः सञ्चारमाध्यम, ओपिनियन लिडरहरू, विश्लेषकहरूलाई यो तथ्य राष्ट्रपति, प्रधानमन्त्री, दलहरू समेतलाई यथाशीघ्र सम्झाइदिन, बुझाइदिन आम रुपमा आवहान गर्दछौं । हामी चाँडै नै यस विषयमा सम्बोधन नगरिएका अवस्थामा– चुनाव पूर्व नै सबै शान्ति समेटिका अन्तरिम शासन विधान जारी गरी यसपूर्व चुनाव नगरी ८३ जना विद्रोही माओवादीलाई संसद सदस्यको रुपमा ल्याइए जस्तो अन्तरिम संसद गठन गरी सर्वपक्षीय शान्तिपूर्वक आग्रह गर्दछौं । हाल राष्ट्रपति र प्रधानमन्त्रीले जेनजी भनी एकपक्षीय वार्ता–सम्वाद गरिरहेकोमा त्यस षड्यन्त्रलाई तत्काल रोकियोस् र सर्वपक्षीय सहमतिको बाटो खोजियोस् भनी अपिल गरेको छ । नत्र भविष्यमा यस कारणले पर्ने क्षतिको जिम्मेवारी सो प्रक्रियामा रहेका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, दलहरू र सञ्चारमाध्यम तथा समाजका बुद्धिजीवीहरूले लिनुपर्ने समेत संयमतापूर्वक चेतावनी सहित जानकारी दिन चाहन्छौं, अपिलमा भनिएको छ ।
