शिक्षासेवी एवम् समाजसेवी श्याम बहादुर कटुवाल सम्मानित

धरान । आजीवन शिक्षा सेवा, समाजसेवामा समर्पित शिक्षा सदन माविका पूर्व प्रद्यानाध्यापक श्याम बहादुर कटुवाल सम्मानित हुनु भएको छ । सनातन धर्म सेवा समिति सुनसरीले व्यास जयन्ति तथा गुरु पूर्णिमाको अवसरमा विहीबार गीता भवनमा आयोजित विशेष समारोहमा कटुवालललाई सम्मानित गरेको हो । धरान १६ स्थित नाष्ट कलेजका प्राचार्य टोप प्रसाद आचार्यको प्रमुख आतिथ्यमा आयोजित समारोहमा कटुवाललाई पुष्पहार सहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । सो अवसरमा शिक्षा निकेतन माविका पूर्व प्रद्यानाध्यापक गोकुल प्रसाद श्रेष्ठले सम्मानित व्यक्तित्व कटुवालका बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले भन्नुभयो कटुवालले २०२२ सालदेखि २०५६ सालसम्म शिक्षा सदन माविको शिक्षक, प्रद्यानाध्यापकको महत्वपूर्ण भूमिका निर्वाह मात्र गर्नुभएन सेवा निवृत्त पश्चात पनि सोही विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भएर सेवा गर्नुभएको स्मरण गर्नुभयो । सम्मानित व्यक्तित्व कटुवालले सनातन धर्म सेवा समिति सुनसरीले आफूलाई सम्मान गरेकोमा हार्दिक आभार व्यक्त गर्दै भन्नुभयो आफूले जीवनमा एउटा विसुद्ध शिक्षक र प्रद्यानाध्यापकको रुपमा विद्यालयका लागि इमान्दारितापूर्वक काम गरेको तर तलब लिएर गरिने कार्य सेवा गरेको भन्ने भावना आफ्नो मनमा कदापी नआएको बताउनुभयो ।


कार्यक्रमका प्रमुख अतिथि टोम प्रसाद आचार्यले सम्मानित व्यक्तित्व श्याम बहादुर कटुवाललाई सम्मान गर्न पाउँदा आफूलाई अत्यन्तै हर्ष लागेको बताउदै भन्नुभयो आजको समाजमा विद्यार्थी अनुशासन, चरित्र र नैतिकता ह«ास हुदै गएको छ । उहाँले पाठ्यक्रममा नैतिक शिक्षाको खाँचो रहेको औँल्याउदै गुरुहरुले पनि विद्यार्थीहरुमा नैतिक अनुशासन र आचारणमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्नु पर्ने कुरामा जोड दिनुभयो । सनातन धर्म सेवा समिति सुनसरीका अध्यक्ष प्रा.डा. गोपाल भण्डारीको सभापतित्वमा सम्पन्न उक्त समारोहमा समितिका उपसभापति प्रा.डा. आनन्द आचार्य, प्रा.डा भोला पोख्रेलले व्यास जयन्ति तथा गुरु पूर्णिका बारेमा प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन समितिका सचिव जगन्नाथ कट्टलले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया