काठमाण्डौ । नेपालको विकट पहाडी जिल्ला बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकास्थित मुक्ति कोटमा खाद्यान्न संकलन तथा वितरण केन्द्रको लागि भारत सरकारको आर्थिक सहयोगमा कृषि प्रवद्र्धन केन्द्र भवन बन्ने भएको छ । उक्त कृषि प्रवद्र्धन केन्द्र भवनको जेठ १४ गते स्वामी कार्तिकखापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकाया र काठमाण्डौस्थित भारतीय राजदुतावासका काउन्सिलर अविनाश कुमार सिंहले एक भव्य समारोहबीच संयुक्त रुपमा शिलान्यास गर्नुभएको छ । खाद्यान्न संकट झेलिरहेको उक्त स्थानमा कृषि प्रवद्र्धन केन्द्र भवन निर्माण हुने भएपछि शिलान्यास समारोहमा स्थानीयहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो । यद्यपि शिलान्यास समारोहमा विभिन्न राजनैतिक पार्टीका स्थानीय नेताहरु, नेपाल सरकारका जिल्लास्थित कार्यालय प्रमुखहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखहरु, जिल्लास्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवीहरु, स्थानीय निकायका निर्वाचित जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नेपाल भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु ३ करोड १४ लाखको सहयोगमा उक्त कृषि प्रवद्र्धन केन्द्र निर्माण हुन लागेको हो । भारत सरकारको अनुदान सहयोग अन्तर्गत निर्माण हुने उक्त भवनमा डेस्क, रेकर्ड रुम, अन्य सहयोगी संरचनासहितको अन्न भण्डारण र वितरणका लागि आवश्यक पूर्वाधारहरु रहने भएको छ । निर्माण हुने उक्त परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइने भएको छ । उक्त परियोजनाको स्वामी कार्तिक खापर गाउँपालिका बाजुरामार्फत कार्यान्वयन गरिने भएको छ ।


बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकाया लगायत राजनैतिक दलका प्रतिनिधि र स्थानीय सरोकारवालाहरुले भारत सरकारको अनुदान सहयोग अन्तर्गत निर्माण हुन लागेको भवनप्रति आभार व्यक्त गर्नुभएको थियो । उहाँहरुले बाजुरा जिल्ला जस्तो दुर्गम जिल्लाको स्वामी कार्तिक खापर गाउँपालिकाको मुक्तिकोटमा भवन निर्माण हुनु अत्यन्तै खुशीको कुरा भएको बताउनु भएको थियो । स्थानीय जनताको आवश्यकता बमोजिम भवन निर्माण हुन लागेकोले भारत सरकारले गर्दै आएको विकास सहयोगको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । उहाँहरुले निर्माण हुन लागेको पूर्वाधारले यातायात र सञ्चार पूर्वाधार सिमित रहेको हिमाली क्षेत्रमा कृषि उत्पादनहरुको उचित संकलन र भण्डारण सुनिश्चित गर्न अत्यन्तै ठूलो मद्धत हुने बताउनुभयो । यसका साथै निर्माण हुने नयाँ पूर्वाधार लामो समयसम्म स्थानीय उत्पादनहरुको भण्डारण गर्न सुनिश्चित हुने हुँदा यस क्षेत्रको खाद्य सुरक्षामा योगदान पुग्ने उहाँहरुको धारणा रहेको थियो । भारत सरकारले सन् २००३ यता नेपालका विभिन्न क्षेत्रहरुमा ५७३ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाईसकेकोमा हाल ४९५ वटा परियोजनाहर सम्पन्न भइसकेका छन् । यसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरुलाई १००९ वटा एम्बुलेन्स, ३ सय वटा स्कुलबसहरु उपहार स्वरुप प्रदान गरिसकेको छ । यी मध्ये सदुर पश्चिम प्रदेशमा ७० वटा एम्बुलेन्स, २७ वटा स्कुल बस, उपहार स्वरुप प्रदान गरेको छ । यसरी प्रदान गरिएका उपहारमा ३ वटा एम्बुलेन्स र एउटा स्कुल बस बजुरा जिल्लामा रहेका छन् । दुताबासद्वारा एक विज्ञप्ती प्रकाशित गरी नजिकको छिमेकी भएको नाताले र छिमेकी पहिलो भन्ने अभिप्रायले
भारत र नेपालबीच व्यापार र वहुपक्षीय सहकार्य रहँदै आएको छ । विज्ञप्तीमा भनिएको छ उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको समृद्धिका लागि र प्राथमिकता क्षेत्रमा पूर्वाधारको विस्तारका लागि भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको समेत जारी विज्ञप्तीमा जनाइएको छ ।


