पर्यटकीय स्थल शिवजट्टा प्रचार प्रसारको अभावमा ओझेलमा

धरान । धरानको अत्यन्तै आकर्षक स्थल शिवजट्टा प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । ऐतिहासिक महत्व बोकेको यो स्थान रमणीय स्थल हुदा हुदै पनि ओझेलमा पर्नु सरकारी पक्षको आखा नपुगेको पर्यटन व्यवसायी बताउछन् । तर यस क्षेत्रको प्रवद्र्धनमा वडा समितिले पहल कदमी थालेको छ । शिवजट्टा धनकुटाको साँगुरीगढी गाउँपालकामा रहेको नमस्ते झरना भन्दा रमणीय हिसाबले कम छैन । पर्यटकीय स्थल शिवजट्टामा जोकोही जान नसक्नुको प्रमुख कारण सडक सञ्जाल हो । नजिकैको स्थान भएकोले धरान आसपासका सर्वसाधारण वनभोज खान, अत्याधिक गर्मीको समयमा पौडी खेल्ने प्रयोजनका लागि नमस्ते झरना रहने गरेको छ । यो क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रजस्तै साँगुरी गढीमा रहेको नमस्ते झरनाजस्तै पर्यटक तान्ने खालका पूर्वाधारको योजनामा वडा समिति रहेको छ । उपमहानगरपालिकाको वडा नं. ४ न रहेको शिवजट्टा पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना भएर ओझेलमा परेको छ । धरान बजारबाट करिब ५ किलोमिटर उत्तरपूर्वमा रहेको शिवजट्टा धार्मिक पर्यटनको सम्भावना बोकेको स्थल भएको्ले यसको प्रचार प्रसारसँगै नजिकै रहेको शिव मन्दिरको स्तरोन्नति गरी धार्मिक पर्यटकलाई समेत आकर्षणको केन्द्रविन्दु बनाउने योजनामा वडा समिति रहेको ४ नंं वडा समितिका वडाध्यक्ष धनबहादुर राई बताउनुहुन्छ । शिवजट्टा प्राकृतिक रुपमा मनोरम स्थलमात्र नभएर यहीको पानी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोग हुने भएकोले पौडी खेल्ने, पिकनिक खाने कुरालाई परिवर्तन गरेर झर्नामा रमाउने, तस्विर क्लिक गर्ने र नजिकैको शिवालयमा दर्शन गर्ने योजना अनुरुप १५ लाखको बजेटमा त्यहाँसम्म पुग्ने पैदलबाटो समेत निर्माण गरिएको वडाध्यक्ष राई बताउनुहुन्छ ।


झरनासँगै रहेको शिवालयमा केही वर्ष अघि सम्म शिवरात्रीका दिन भारतका जोगीहरु आएर धुनी बालेर बस्ने गरेको स्थानीयहरु बताउछन् । तर पछिल्लो समय जोगिहरु आउन छाडेको उनीहरु बताउछन् । काठमाडौंको पशुपति क्षेत्र जस्तै शिवजट्टामा शिवालयको महत्व रहेको पूजारीको दाबी छ । धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार हिन्दुका आराध्यदेव शिवले सतीदेवीको शव बोकेर भौतारि हिड्दै गएको अवस्थामा विस्तारै सतीदेवीको शरीरको सबै अंग पतन भइसकेपछि शिवजीको चेत खुल्दा आफ्नो शरीर ज्यादै फोहोर पाए पछि यही शिवजट्टाको झरनामा नुहाएको किवंदन्ती छ । नुहाउने क्रममा शिवको जट्टा त्यस ठाउँमा पछारेकोले यसलाई शिवजट्टा भनिन थालिएको स्थानिय पूजारी इन्द्रमान चाम्लिङ राई बताउनुहुन्छ । शिव जट्टालाई शिव बास बसेकाले शिवकुण्ड पनि भनिने गरिएको उहाँको भनाई छ । यो क्षेत्र प्राकृतिक र धार्मिक रुपमा पनि पर्यटकीय सम्भावना बोकेको क्षेत्र हुँदा हुदै पनि प्रचार प्रसार, सहज सडक सञ्जालको पहुच नपुगेका कारण ओझेलमा परेको छ । उपमहानगरपालकाले गुरु योजना बनाएर यस क्षेत्रको विकास गर्न सके कोशी प्रदेशकै पर्यटकीय गन्तव्य स्थल बन्नेमा दुई मत छैन ।

तपाईको प्रतिक्रिया