राजसंस्था पुनस्र्थापना आन्दोलनमा छरिएका सम्पूर्ण राष्ट्रवादी शक्ति एकै ठाउँमा जुटे : जेठ १५ भित्रमा राजसंस्था पुनस्र्थापना हुने आन्दोलन परिचालन समितिका सहसंयोजक गुरुङको दाबी

धरान । व्यवस्था परिवर्तन भएपनि अवस्थामा कुनै परिवर्तन आउन नसक्नु, दलीय आडमा परिवारवाद र तिनका आफन्तको ढलीमली हुनु, दक्ष युवा जनशक्तिलाई विदेश पलायनका निम्ति बाध्य पारिनु, सत्तासीनहरु खरबौ भ्रष्टाचारमा लिप्त हुनु, राज्य शक्तिको आफू अनुकूल प्रयोग गर्नु, भयावह रुपमा वैदसिक ऋणको बोझभार थोपरिनु, बढ्दो दण्डहीनता लगायतका प्रवृत्तिबाट आक्रान्त नेपाली जनता यतिबेला राजसंस्था पुनस्र्थापनाको सशक्त आन्दोलनमा होमिएका छन् । राजसंस्था पुनस्र्थापनाको मुद्धा उठाएर पनि एकै ठाउँमा एकत्रित हुन नसकेका राजसंस्थावादीहरु बैसाख १५ गतेदेखि एकै ठाउँमा उभिन पुगेका छन् । उनीहरु बीच फुटको वातावरण बनाउँदै आएकाहरुको वैसाख १५ गतेपछि उदांगिएका छन् । काठमाण्डौको खुल्ला आम सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन, केशरबहादुर विष्ट, कमल थापा, दुर्गा प्रसाई लगायत एकै ठाउँमा उभिएर कथित गणतन्त्रवादीहरुलाई चुनौति दिएका छन् ।
राजसंस्था पुनस्र्थापनाका लागि मुलुकमा फागुन २५ गतेदेखि नै आन्दोलन सशक्त बन्दै गएको छ । केही हप्ताको पोखरा बसाई पश्चात राजधानी फर्किएका राजा ज्ञानेन्द्र शाहको स्वागतमा लाखौ नागरिक स्वस्फूर्त रुपमा अन्तर्राष्ट्रिय विमान स्थल पुगेर व्यवस्थाका विरुद्ध नाराबाजी गरेपछि गणतन्त्रका ठेकेदारहरु नराम्रोसँग झस्किएका थिए । फागुन २५ गते पश्चात काठमाण्डौमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समिति, केशरबहादुर विष्ट, दुर्गा प्रसाई लगायतले आ–आफ्नै ढंगले आन्दोलन अगाडि बढाए । राजधानी बाहिर झापाको विर्तामोड, दमक, मोरङ्गको विराटनगर, सुनसरीको इनरुवा, इटहरी, सप्तरीको राजविराज, सिराहाको लहान, जनकपुर,जलेश्वर, महोत्तरी, रौतहट, विरगञ्ज, कलैया, हेटौडा, नारायणगढ, बुटवल, भैरहवा, धनगढी, नेपालगञ्ज, सुर्खेत, दाङ लगायतका स्थानमा वर्तमान अवस्था र तिनका ठेकेदार विरुद्ध आन्दोलन निरन्तर चलिरहेको छ । चैत्र १५ गते राज्यले नै निर्धारण गरेको कोटेश्वरको शान्तिपूर्र्ण आन्दोलनमा राज्य आतंकित शैलीमा ओर्लियो । दुई जनाको ज्यान लिने गरी राज्य पक्षबाट भएको बर्बराहट घट्ना, दर्जनौको धरपकड, झुठा मुद्धाले राज्यसत्ता थप नांगियो । चैत्र २६ गतेको बल्खुको लाखौको सहभागिता, सिंहदरबारभित्रै राप्रपाद्वारा इतिहासमै पहिलो पटक गरिएको विरोध प्रदर्शन, माइतीघर मण्डलामा निषेधित क्षेत्र तोडिएको घट्ना सबैमा राज्यले मण्डले प्रवृत्ति प्रदर्शन गर्नुले व्यवस्थाको जरा नराम्रोसँग हल्लिएको प्रष्ट हुन्छ ।

एक महिना लामो शिक्षक आन्दोलन
्सामुदायिक विद्यालयका शिक्षकहरुले शिक्षा ऐनको माग गर्दै राजधानी केन्द्रित आन्दोलन गरेको एक महिना भन्दा अधिक समय भइसकेको छ । पेशागत ग्यारेन्टीको माग गर्दै नेपाल शिक्षक महासंघका नेतृत्वमा चैत्र २० गतेदेखि जारी शिक्षक आन्दोलनप्रति राज्यले देखाएको उदाशीनता आश्चर्यजनक रहेको छ । शिक्षकहरुले उठाएको शिक्षा ऐन जारी गर्नुको सट्टा शिक्षक आन्दोलन दबाउने कुचेष्टा राज्यले गरेको छ । शनिवार काठमाण्डौको बानेश्वरमा भएको प्रदर्शनमा प्रदर्शन कारी शिक्षकहरुमाथि प्रहरीद्वारा निर्घात कुटपिट गर्नु, सञ्चारकर्मीको आँखा फुटाउनु राज्यशक्ति दुरुपयोगको पराकाष्ठ हो । शिक्षकहरु आन्दोलनमा उत्रिएपछि शैँिक्षक क्षेत्रको भर्ना अभियान प्रभावित भएको छ भने कक्षा १२ कोे परीक्षा अन्यौलतातर्फ धकलेलिएको छ । शिक्षकहरुको मागप्रति सकारात्मक रहेकै कारण शिक्षामन्त्री विद्या भट्टराईलाई प्रधानमन्त्री ओलीले बर्खास्त समेत गर्नुले सरकार सामुदायिक विद्यालयलाई धरासायी बनाई निजी क्षेत्रका विद्यालयलाई बढावा दिन चाहेको प्रष्ट हुन्छ ।
नांगियो भ्रष्टतन्त्र कालो पेटीकोट आन्दोलन

सत्ता निकट दलालहरुले सञ्चालन गरेको लघुवित्त र सहकारी पीडितहरुले आइतबार काठमाण्डौको भृकुटीमण्डप परिसरमा नेपालको इतिहासमै पहिलो पटक महिलाहरु अर्धनग्न कालो पेटीकोट लगाएर प्रदर्शनमा उत्रिए । पुरुषहरु अर्धनग्न भएर यस भन्दा अगाडि आन्दोलन गरे पनि महिलाहरुले यो पहिलो पटक गरेका हुन् । लघुवित्त चक्रिय व्याज लिएर आफूहरुको उठिबास लगाएको र सहकारीमा दैनिक ज्यालादारी गरेर जम्मा गरेको बचत रकम फिर्ताका लागि सरकारले पीडितहरुलाई थप पीडा दिएर पिडकको भरणपोषण गरेको उनीहरुको आरोप थियो । सञ्चारकर्मीहरुसँग बोल्दै कालो पेटीकोट आन्दोलनकारीहरुले सरकारप्रति आक्रोस पोखेका थिए । उनीहरुले जनताको आँखामा छारो हालेर अरवौ भ्रष्टाचार गरेर विदेशमा थुपारेको आरोप लगाउदै महिला सार्वजनिक रुपमा अर्धनग्न हुँदा समेत सरकार निर्लज्ज भएको बताएका थिए । उनीहरुले आफूहरुलाई न्याय नदिए भोलिका दिनमा नांगै हिडन बाध्य हुने चेतावनी समेत दिएका थिए ।
शान्तिपूर्ण आन्दोलनमा भिजिलान्तेको घुसपैठ
पछिल्ला दिनमा सरकार कुन हदसम्म नांगिएको छ भने लाखौ जनताले आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गरी शान्तिपूर्ण आन्दोलन गर्दा समेत सरकार त्यस्ता आन्दोलनलाई बद्नाम गराउने, दबाउन एकातिर राज्य शक्तिको चरम दुरुपयाग गरिरहेको छ भने अर्कातर्फ आफ्ना झोलेहरु पठाएर भाँड्ने कार्यमा उद्धत रहेको छ । शिक्षक आन्दोलन भाँड्न, बदनाम गर्न त्यस प्रकारको भिजिलान्तेको प्रयोग भएको घट्नाक्रमले प्रष्ट पारिसकेको छ । शिक्षक आन्दोलनमात्र नभएर राजसंस्था वादीहरुको आन्दोलनमा समेत त्यस्तै भिजिलान्तेहरुको प्रयोग भएको स्पष्ट भइसकेको छ । कोटेश्वरको जडिबुटी आगजनीको घट्ना, भाटभटेनी लुटपाटको घट्नामा स्वयम् प्रधानमन्त्री ओली निकटका व्यक्ति, नेपाली काँग्रेस सहमहामन्त्रीका छोराहरुले नृत्य देखाएको समेत स्पष्ट भइसकेको छ ।

तपाईको प्रतिक्रिया