संखुवासभा । भारतका विद्युत, आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टरले आज संखुवासभा जिल्लाको चिचिला गाविसस्थित निर्माणाधीन ९ सय मेघावाटको अरुण थर्ड जलविद्युत आयोजनाको निरीक्षण गर्नुभएको छ । नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काको निमन्त्रणमा दुई दिने नेपाल भ्रमणमा आउनु भएका मन्त्री खट्टर र मन्त्री खड्काले संयुक्त रुपमा जलविद्युत परियोजनाको भ्रमण गर्नुका साथै त्यहाँ भएको प्रगतिको समीक्षा समेत गर्नुभयो । उहाँहरुले जलविद्युतसँग सम्बन्धित अवरोधहरुको समाधान गर्ने कुरामा छलफल गर्नुका साथै पावर हाउसमा इलेक्ट्रोमेकानिकल कार्यहरुको समेत शुरुवात गर्नुभयो ।


प्राप्त समाचार अनुसार मन्त्री खट्टरले मंगलबारै भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर अन्तर्गतको २२० केभी प्रशारणलाइनको इनरुवा, बसन्तपुर–वानेश्वर तुम्लिङटार २२०, १३३, ३३ केभी तुम्लिङटार स्टेशन २२०, ३३ केभी बानेश्वर सवस्टेशन र २२०,१३३,३३ केभी बसन्तपुर सवस्टेशनको समेत उद्घाटन गर्नुभएको थियो ।


