आस्थाको धरोहर तोडफोड निन्दनीय कार्य

प्रकृतिपुजक किराँत राईहरुको आस्थाको धरोहर (आकाश र धर्ति) सुम्निमा पारुहाङका प्रतिमा भोजपुरमा तोडफोड भएको छ । खोटाङ जिल्लाको द्रिपुङ चुइचुम्मा गाउँपालिका वडा नं. ६ को छितापोखरीमा निर्माण गरिएको वावुसहितको प्रतिमा शुक्रबार राति अज्ञात समूहले तोडफोड गरेको छ । छितापोखरीको मैस्याङ डाँडामा दुई बर्ष अगाडि प्रतिमा निर्माण गरिएको थियो । उक्त स्थानमा किराँत समुदायले धुमधामसँग उद्यौली उँभौली पर्व मनाउदै आएका मात्र थिएनन् नयाँ बर्षको अवसरमा साकेलासिली प्रदर्शनको वृहत कार्यक्रम समेत सार्वजनिक
गरेका थिए । उक्त स्थानमा आन्तरिक एवम् वाह्यक पर्यटकहरुको ठूलो संख्यामा आवागमन हुन थालेको थियो । एकातिर धार्मिक आस्था अर्कोतर्फ गाउँमै स्वरोजगारको अवसर ।
एउटा समुदायको धार्मिक आस्थाको धरोहर तोडफोड गरिनु घोर निन्दनीय कार्य हो । एउटा समुदायको आस्थामाथि चोट पु¥याउने घृणित र निन्दनीय कार्य बिगतमा कहिल्यै भएको थिएन । वहुजाति, वहु धार्मिक, वहु साँस्कृतिक भएको र एक अर्काप्रति सहिष्णुता रहेको नेपाली समाजलाई छिन्नभिन्न बनाउने दुष्प्रयास हो सुम्निमा पारुहाङको प्रतिमा तोडफोडको घटना । यसको जति निन्दा र भत्र्सना गरे पनि त्यो कम हुन्छ । नेपालमा विगत ३५ बर्षदेखि राजनैतिक स्वार्थको लागि एउटा समूह क्रियाशील रहेको तथ्यलाई कसैले बिर्सनु हुँदैन । त्यो समूह विगत ३५ बर्षदखि आलोपालो सत्तामा रहेर देश र नागरिक दोहन गरेर बसेको छ । जातजातिमा विभाजन ल्याउने, धर्मका नाममा अधर्म फैल्याउने, भुगोललाई जातजातिको नाममा रेखांकन गर्ने, सत्य कहिल्यै नबोल्ने, सदैव झुटलाई सत्यमा बदल्न उद्धत रहने अनि आफ्नो स्वार्थ पूरा गर्ने दुसाहस गर्दै आएको सर्वविदितै छ । राजनीतिको आडमा अपराधले प्रश्रय पाएको छ । युद्ध अपराधीको रुपमा मृत्यु दण्ड या आजीवन काराबारको सजाय हुनुपर्ने व्यक्ति मुलुकमा पटक पटक कार्यकारी प्रधानमन्त्री बन्छ । मन्दिर भत्काउने, गुम्बा भत्काउने, मन्दिरको पूजारीको हत्या गर्ने, विद्वान पण्डितहरु मार्ने, विद्यालयका शिक्षकको हत्या गर्न, बसमा बम प्रहार गरी नागरिकको हत्या गर्ने, बैंक लुट्ने, हजारौलाई विधवा बनाउने, बेपत्ता बनाउने, राजधानीमा करोडौको घर बनाउने, महँगा गाडी चढ्ने, विदेशमा अरबौ रुपैया थन्काउने निकृष्ट कार्य गर्ने जमातलाई नै हामी विश्वास गर्छौ । अनि कसरी सुम्निमा पारुहाङको प्रतिमा जोगिन्छ ? आज यहाँ कुशासन, भ्रष्टाचार, विकृति, विसंगतिका विरुद्ध नागरिक स्वस्फूर्त रुपमा यिनीहरुका विरुद्धमा सडकमा आएका छन् । अब यिनीहरुले आफूमाथिका अपराध ढाकछोप गर्न नागरिकको ध्यान अन्यत्र मोड्न पनि यस्ता खालका गतिविधि खोटाङको चुइचुम्वामात्र होइन अन्यत्र समेत गर्नेछन् । नागरिक एक अर्का समूह वा जातप्रति आक्षेप लगाएर आपसमै लडुन । यो डरलाग्दो षड्यन्त्रको शुरुवात हुन सक्छ । यतिबेला आम नागरिकले संयमता अपनाएर वास्तविकताको पहिचान गर्नु जरुरी हुन्छ । एक पटक अपराध गरेकालाई, बारम्बार लुट्न पल्केकालाई, बारम्बार झुट बोलेर भ्रम सिर्जना गर्नेलाई पुन ः त्यस प्रकारको गतिविधि गर्न कुनै संकोच लाग्दैन । उसले आफ्ना निहित स्वार्थका लागि यस्ता गतिविधिलाई निरन्तरता दिइ नै रहन्छ ।

तपाईको प्रतिक्रिया