सरकारी खर्चमा कथित प्रदर्शनको तयारी

आफू र आफ्ना परिवारका लागि मात्र गणतन्त्रको स्वास्वादन विगत ३५ बर्षदेखि लिँदै आएका आदर्श, नैतिकता र सिद्धान्तविहीन सत्तासीन राजनीतिक दल, विगतमा सत्ताभोग गरिसकेका प्रतिपक्षी दलहरुले सरकारी खर्चमा कथित प्रदर्शनको तयारी गरेका छन् । मुलुकमा विद्यमान कहालीलाग्दो भ्रष्टाचार, दण्डहीनता, सुशासनको अभाव, सार्वजनिक सम्पत्तिको दोहन, उद्योग धन्दाको निर्मुलीकरण, परिवारवाद, नातावाद, विदेशी स्वार्थका मतियार, शिक्षा–स्वास्थ्यमा व्यापारीकरण, सार्वभौमसत्ता बन्दकी राखेर बैदेशिक बैंकहरु एसियाली विकास , विश्व बैंक, एक्जिम बैंकबाट खरबौ ऋण लिएर मिलीभगतमा दुरुपयोग गर्ने, मुलुकको वाह्य शाख धरासायी बनाउने, विदेशी बैंकमा खरबौ निक्षेप गर्ने, दक्ष युवा जनशक्तिलाई विदेशिन बाध्य बनाउने, हत्यारा जोगाउने, अदालतले आजीवन काराबास तोकेका अपराधीलाई लेनदेनमा आम माफी दिने, राजनैतिक आडमा अपराधी जोगाउने जस्ता सैयौ जनहित विपरीतको कार्यहरु गर्दै आएका दलीय अपराधीका विरुद्ध यतिबेला लाखौ जनता सडकमा आएका छन् । आम नेपाली जनता यिनीहरुको शासन शैली, अराजक गतिविधिबाट आजित भएर राजसंस्थाको स्वर्णकालीन समय फर्काउन सडकमा आएका छन् । ३५ बर्षे शासन कालमा दलहरुले मुलुकलाई अद्योगतितर्फ धकेल्ने बाहेक अर्काे उपलब्धी दिन सकेनन् । जनतामा आशा जगाउन र काम गर्नका लागि साढे तीन दशकको अवधि धेरै हो,प्रसस्त हो । दलहरुकै कुशासनका कारण विश्व जनमानसमा नेपालीलाई हर्ने दृ्ष्टिकोण बद्लिएको छ । नेपाली नागरिकलाई विश्व जगतले हेयको दृष्टिले हेर्छन् । यतिमात्र नभएर वर्तमान शासकहरुको विश्व जगतमा न मान छ ,न इज्जत छ, धर्म इतिहास, मेटाउनकै लागि विदेशीको दलाली गर्ने, औचित्यहीन तथा आफ्ना आसेपासेको व्यवस्थापन गर्नका लागि संघीयता विदेशिकै इसारामा लाद्ने जस्ता कुकृत्यका विरुद्ध नेपाली जनताले पुन ः नेपालमा राजसंस्थाको अपरिहार्यता देखर स्वस्फूर्त सडकमा उत्रिएका हुन् । मुलुकको चरम बेथितिलाई मध्यनर गरेर राजा ज्ञानेन्द्र शाहले एउटा विज्ञप्तीमार्फत आवहान गर्दा स्वस्फूर्त रुपमा नागरिक सडकमा लाखौको संख्यामा आउनुलाई कथित दलहरुले कम आंकलन गरे त्यसको दुष्परिणाम भोलिका दिनमा भयावह हुन सक्ने कुरालाई बेलैमा मनन गर्नु उचित हुन्छ । संसारमा कही पनि सत्तासीनले नागरिकको आवाजलाई प्रतिकार गरेको इतिहास छैन । जुन कुरा कथित दलहरुले गर्न खोज्दैछन् । यसले उनीहरुलाई अवसानतर्फ उन्मुख गराउने बाहेक अरु केही हुन सक्दैन । नेपालका नदीहरुमा धेरै पानी बगिसकेको छ । हिजो जनताले चाहँदा राजाले एघार पुस्ताको वर्चस्व छोडेका थिए । आज नेपाली नागरिकले चाहेरै राजसंस्था पुनस्र्थापना गर्नका लागि सडकमा आएका हुन् । नेपाली नागरिकले व्यवस्था परिवर्तनसँगै अवस्था परिवर्तनको अपेक्षा राखेका थिए । एउटा परिवारको मात्र अवस्था परिवर्तन गर्न हिजो नेपाली नागरिक सडकमा आएका थिएनन् । म नै राज्य हुँ भन्ने भ्रममा यहाँका दिशाहीन दलहरुमा उन्माद भरियो । यिनीहरुको प्रतिकारमा भेला हुने भनेकै खान, पान, रकममा मात्र हो । तसर्थ सत्तासीनहरुले आम नागरिकको आवाजलाई दबाउने कुचेष्टा गरेमा त्यसको परिणाम भयावह हुन सक्छ । समय छँदै हेक्का राखेको राम्रो ।

तपाईको प्रतिक्रिया