इनरुवा । माध्यामिक शिक्षा परीक्षा (एसइइ) मा वाट्सप गु्रप बनाएर चिट चोराउने तीन जना परीक्षा गार्ड निम्बित भएका छन् । चैत्र ७ गतेदेखि सञ्चालन भएको एसइइ परीक्षामा वाट्सप ग्रुप बनाएर परीक्षा गार्डको रुपमा रहेका शिक्षकहरुले नै चिट चोराएको गोप्य सूचनाको आधारमा परीक्षा समितिका अध्यक्ष समेत रहनु भएका सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको नेतृत्वमा गएको सुनसरीका प्रहरी प्रमुख सहितको टोलीले तीनजना शिक्षकलाई नियन्त्रणमा लिएको थियो ।
अनुगमनका क्रममा इनरुवा ९ स्थित रहेका सरस्वती मावि, इनरुवा ६ स्थित रहेको भगवती माविमा परीक्षा गार्डका रुपमा रहेका तीन शिक्षकहरुलाई नियन्त्रणमा लिइएको थियो । उनीहरुलाई उत्तरपुस्तिकाको उत्तर तयार पारिएको वाट्स एपको मोवाइलसहित नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका शिक्षकहरुमा इनरुवा नगरपालिका वडा नं. ४ का कोशी माविका शिक्षक मुकेन्द्र यादव, भगवती माविका शिक्षक रमानन्द यादव र बीपी आधारभूत विद्यालयका शिक्षक दिनेशप्रसाद यादव रहेको सुनसरीका प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो । उनीहरुबाट मोवाइल जफत गरी आइतबार दिनभर जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो । साँझमा जिम्मा जवानीमा छोडे पनि पुन ः सोमबार उपस्थित गराई प्रमुख जिल्ला अधिकारी मिश्र समक्ष उभ्याइएको थियो । आवश्यक छलफल पश्चात उनीहरु तीन जनालाई परीक्षा गार्डबाट निलम्बन गर्दै आगामी दिनमा पुन ः यस्ता हर्कत नगर्न चेतावनी दिइएको थियो ।