धरान । छैठ पर्व विशेष गरी तराईमा बसोबास गर्ने मधेसी समुदाय तथा अन्य समुदायले मनाउने चाड हो । अस्ताउदो र उदाउदो सूर्यलाई अर्घ दिई मनाउने यो पर्व नेपालका सबै जिल्ला, गाउँ, सहरहरुमा सबै जातजाति, धर्म, समुदायले मनाउने साझा पर्वको रुपमा विकास भएको छ । साझा पर्व बनेकै कारण सबै नेपालीलाई एक सुत्रमा बाध्ने काम गरेको छ । धरान उपमहानगरपालिका तराई र पहाडको संगम स्थलको रुपमा परिचित छ । धरानलाई आदिवासी जनजातिको वाहुल्यता भएको सहरको रुपमा मुलुकभरि चिनिन्छ । यहाँ अन्य सहरभन्दा मधेशी मुलका सर्वसाधारणको उपस्थिति भन्दा पनि राई, लिम्बु, नेवार, व्राम्हण क्षेत्री, दलित लगायतका सर्वसाधारण बसोबास गर्छन् । अर्थात मुलुकमा हुने हरेक पहिचानको मुद्धा धरानबाटै उठ्ने गर्छ, तर यस्तो सहरमा समेत चाडपर्वहरु भने एक जाति, एक समुदायकोमात्र नभई साझा पर्वको रुपमा विकास हुदै गएको पाइएको हो ।
धरानमा सेउती, सर्दु तथा अन्य खोलानालामा यस बर्षको छैठ पर्व मनाइयो । विहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिइ मनाइएको थियो भने आज शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिई विधिवत रुपमा छैठ पर्व सम्पन्न भएको छ । धरानमा मनाइएका छैठ पर्वमा मधेशी समुदायमात्र उपस्थित थिएनन् आदिवासी जानजाति, नेवारी समुदाय, दलित तथा सबैले उत्तिकै महत्वका साथ छैठ पर्व मनाएका थिए । विगत १० बर्षदेखि स्थानीय सरकार धरान उपमहानगरपालिकाले छैठपर्वलाई महत्व दिएर समिति निर्माण भएपछि यो पर्व धरानेहरुले भव्यताका साथ मनाउन थालेका हुन् ।

धरान ८ का नविन.पराजुलीले बाबु भारतीय सेनामा कार्यरत हुदा जोगवनीमा गएर छैठ पर्व मनाएको स्मरण गर्नुहुन्छ । आमाले नै शुरुवात गरे पनि धरानमा छैठ पर्व मनाउने प्रचलन नै नभएको उहाँ सुनाउनुहुन्छ । तर १० बर्ष अगाडिदेखि धरानमै सबै मिलेर समिति नै गठन गरेर छैठ पर्व मनाउन थालेयता प्रत्येक बर्ष छैठ पर्व सेउती खोलामा मनाउदै आएको बताउनुहुन्छ । यो पर्वलाई स्थानीय सरकार धरान उपमहानगरपालिका तथा धरानका राजनीतिक दलहरुले समेत प्रवद्र्धन गर्दै गएका छन् । नेपाली काँग्रेसले त सेउती खोलामै व्यानर राखेर सामुहिक रुपमा छैठ पर्वको प्रवद्र्धन गरेको थियो । यस्तै नेकपा एमालेलका कार्यकर्ताहरु समेत छैठ पर्वको बेला धरानका विभिन्न स्थानमा समावेश भएको पाइएको छ । सबै जातजाति, धर्म मान्नेहरुको चाडपर्व नेपालीको चाडपर्व बन्दै जाँदा छैठ पर्व पनि एउटा समुदाय, जाति तथा धर्मको नभई साझा पर्वको विकास हुदै गएको राजनीतिक दलका प्रतिनिधिहरुको ठम्याई छ । यसले नेपालीहरुमा एक आपसमा भाइचारासको सम्बन्ध स्थापित गर्दै एकतामा बाध्ये काम गरेको नेकपा एमाले धरान नगर इन्चार्ज नारायण सुवेदीले बताउनुभयो । यता छैठ पर्वलाई मर्यादित बनाउन गठित समितिहरुले समेत धरानमा बर्षैनी छैठ पर्व मनाउनेको संख्यामा बृद्धि हुदै गएको बताउने गरेका छन् । विगत १० बर्षदेखि सामुहिक रुपमा मनाउदै आएको यो पर्वमा सबै जातजाति, समुदाय तथा धर्ममा आस्था राख्नेहरु रहने गरेको पाइएको समितिले जनाएको छ । समितिमा रहेर काम गर्दै आउनु भएका रामस्वरुप शर्माले छैठ पर्व मनाउनेको संख्यामा बर्षेनी वृद्धि हुदै गएको बताउनुभयो ।
छैठ पर्व मात्र हैन लिम्बुहरुको चासोक तङनाम, राइहरुको साकेला, नेवारहरुको लाखेनाच लगायतका साँस्कृति पर्व, सनातन हिन्दु धर्मालम्बी महिलाहरुले मनाउनै तीज पर्व तथा विभिन्न जातजातिका पर्वहरु साझा पर्वको रुपमा विकास हुदै गएको छ । सबै पर्व साझा पर्व बनेकाले सबैलाई एक सुत्रमा बाध्न सहयोग त पु¥याएकै छ त्यो भन्दा पनि पर्वहरु नेपालको मौलिक पर्वको रुपमा स्थापति बन्दै गएको छ । यस्ता पर्वले विगतमा भएका तिक्ततलाई समेत भाइचारामा परिणत हुन सहयोग पुगेको छ ।
