यस बर्षको तिहारमा भारतीय फूल भित्रिएन

धरान । बाढी पहिरो तथा फूल उत्पादन कम भएकोले यस बर्षको तिहारमा फूल उत्पादनबाट कृषकहरु लाभान्वित हुने देखिएको छ । बाढी र पहिरोका कारण भारतको आयातित फूल समेत नआएकोले नेपाली कृषकले उत्पादन गरेको फूलले तिहारलाई धान्नुपर्ने भएकोले फूल उत्पादनमा कम भए पनि कारोबारमा भने विगतको बर्षभन्दा कम नहुने धरान १३ स्थित रहेको कृषि बजार व्यवस्थापन समितिले जनाएको छ ।
गत बर्ष नेपालमै उत्पादन भएको स्थानीय फूलले तिहारमा प्रसस्त थानेको थियो । त्यसबेला नेपाली फूलले भारतीय फूललाई विस्थापित गरेको थियो । तर यस बर्षको तिहारमा भने भारतको फूल आएकै छैन भन्दा फरक पर्दैन । नेपाली फूलले नै तिहार धान्नुपर्ने अवस्था आएको कृषि बजारले जनाएको छ । कम फूल उत्पादन हुदा कारोबारको हिसाबले स्वभाविक मूल्य बृद्धि भएको छ । मूल्य बृद्धिका कारण कारोबारका हिसाबले गत बर्षको भन्दा कम नहुने कृषि बजार व्यवस्थापन समितिले जनाएको छ । कोशी पहाडी जिल्लाको विभिन्न ठाउँमा यस बर्ष तिहार लक्षित सयपत्री फूल धरान १३ कृषि बजारमा आएको छ । गत बर्ष प्रसस्त फूल उत्पादन भएकै कारण ५ रुपैया मुठा विक्री भएको फूल यस बर्ष भने प्रतिमुठा एकसय देखि १ सय ५० र २ सय सम्ममा खरिदविक्री भइरहेको छ । महंगोमा खरिद गर्नुपर्दा पनि उपभोक्ताहरुलाई मारमा परेको महसुस नै भएको छैन । नेपाली उत्पादन फूलले मात्र बजार धान्ने अवस्थामा कृषकको जीवन स्तर उस्कने र कृषकले गरेको परिश्रम अनुसारको फल पाउने भएकोले पनि उपभोक्ताहरु महंगोमा खरिद गर्नुपर्दा पनि महंगो भएको महसुस गरेका थिएनन् । उपभोक्ता प्रभाव खतिवडाले महंगोमा खरिद गर्नुपरे पनि कृषक भने यस बर्ष लाभान्वित भएको बताउनुभयो ।
यता व्यापारीहरुले समेत जति मूल्य बढीमा खरिद विक्री गर्न पाइयो त्यति नै मुनफा कमाउने भएकोले यस बर्ष फूलको कारोबारबाट मुनाफा लिन सकिने दाउमा रहेका छन् । भारतीय फूल नआएको र नेपाली फूल बजारमा कम आएका कारण व्यवसायीहरुले समेत फूलबाट मनग्गे आम्दानी गरेका थिए ।
बजारमा अहिले सयपत्री, मखवली लगायतका फूलहरु यत्रतत्र देखिएका थिए् । भारतीय फूल धरानमा नआएकै कारण अहिले कृत्रिम फूल प्रयोग गर्ने उपभोक्ता समेत बढेको पाइएको थियो ।

यता कृषि बजार व्यवस्थापन समितिले भने बजारमा फूल कम आउनुको प्रमुख कारण बाढी पहिरो र गत बर्ष प्रसस्त फूल उत्पादन हुदा कृषकले व्यहोर्नुपरेको घाटालाई महसुस गरी व्यवसायिक फूल कृषकले उत्पादन नै नगरेका कारण देखिएको जनाएको छ । कृषि बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईले भारतीय फूल आयातमा शून्य रहेको र नेपाली फूल कम उत्पादन भए पनि मूल्य बढी भएको कारण कारोबार भने उस्तै उस्तै हुने बताउनुभयो । उहाँले गत बर्ष तिहारको समयमा एक करोड बराबरको कारोबार भएको थियो । यस बर्ष पनि सोही
हाराहारीमा कारोबार भएको बताउनुभयो । विगतमा कृषकहरुले व्यवसायिक खेति गर्दा कुनै बर्ष प्रसस्त फूल फुलेर मुनाफा लिने उद्धेश्यले पनि धेरै कृषकहरुले तिहार लक्षित फूल खेति गर्थे । तर तिहार आउनुभन्दा अगाडि नै फुल्ने वा तिहार पछि फूल फुल्ने गरेका कारण कृषकले गरेको मेहनत त्यसै खेर जाने गरेको थियो । यसैका कारण कृषकलाई व्यवसायिक बन्न अत्यन्तै कठिन पनि थियो । राज्यले समेत कृषकलाई व्यवसायिक फूल खेतितर्फ उन्मुख गराउन सकेको छैन । विउ, मल तथा अनुदान सरकारले व्यवस्थापन गरिदिने हो भने नेपालमा उपत्पादन भएका फूलले भारतका आयातित फूललाई विस्थापित गरिदिनमा दुई मत छैन । यसले तिहारका समयमा महंगा मूल्य तिरेर फूल विक्री गर्नुपर्ने बाध्यता हट्ने थियो भने फूलबाट प्रसस्त मुनाफा हुने भएकोले कृषकहरु व्यवसायिक फूल खेती तर्फ आकर्षित हुने थिए ।

तपाईको प्रतिक्रिया