धरान । हिन्दु धर्मालम्बीहरुले शनि लागेपछि ग्रह शान्तिको लागि आस्था र विश्वासका साथ संकटा गर्न जाने गर्छन् । अन्य महिना भन्दा पनि कार्तिक महिना संकटा गर्न जाने उत्तम महिना मानिन्छ । सर्वसाधारणमात्र हैन, बुद्धिजीवि, शिक्षाविद्, सामाजिक व्यक्तित्व, समाजसेवी जो कोहीले कार्तिक महिनामा शनि लागेपछि ग्रहदशा शान्तिको लागि संकटा गर्न जानेको धरान ८ तीनकुनेमा रहेको शनि मन्दिरमा उत्तिकै भीड रहेको छ ।प्राचिन कालदेखि नै हिन्दु धर्मालम्बिहरूले आफ्नो दशाग्रह शान्ति पार्नको लागि संकटा देवीको पूजा(आरधना गर्ने प्रचलन छ । हरेक शनिबार बिहानी नुहाएर चोखो मनले फूलपाती र भेटी चढाउन शंकटा मन्दिरको गेटमा लाइन बसेर संकटा देवीको मन्दिरभित्र गई आफ्नो दशाग्रह शान्त होस भनी भेटि चढाउने गरेका छन् । यसरी ग्रहशान्तिका लागि संकटा गर्न जाने सबै वर्गका हुने गरेका छन् । धरान ८ तीनकुनेमा रहेको मन्दिरमा अन्य महिना भन्दा कार्तिक महिनामा अत्यन्तै भीड हुने गरेको छ । विद्यालयमा विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्दै आउनु भएका हेम सुवेदी विहानै धरान ८ तीन कुनेमा रहेको शनि मन्दिरमा भेटिनुभयो । उहाँ कार्तिक शनिग्रह शान्तिका लागि संकट गर्ने उत्तम महिना भएकोले शनिवार नै पारेर मन्दिरमा पुगेको बताउनुहुन्छ । कार्तिक महिनामा शनि मन्दिरमा दशाग्रह शान्ति गरे सुख शान्ति मिल्ने बताउनुहुन्छ ।
हेम सुवेदीमात्र हैन धरानका सन्दिप उदास धरान १५ को धरान मोडल स्कुलमा अध्यापनको काम गर्नुहुन्छ । उहाँलाई समेत कार्तिकमा शनि मन्दिर गएर ग्रहशान्तिका लागि संकटा गर्दा शान्ति मिल्ने, ग्रहदशा हटेर विश्वास गर्नुहुन्छ । उहाँले परापूर्व कालदेखि नै कार्तिक महिनाको शनिवार शनिदेव बाबाको विशेष पूजा हुने भएकोले विश्वासका साथ आफू पूजा गर्न आएको बताउनुभयो । अन्य महिनाको तुलनामा धरान ८ मा रहेको शनि मन्दिरमा कार्तिकमा अध्याधिक भीड हुने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यस बेला मन्दिरमा अत्याधिक भीडका कारण स्वयम्सेवकहरु खटाउनुपर्नै अवस्था आउने शनि मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष जुद्ध लोहोनीले बताउनुभयो । सर्वसाधारणले सहज ढंगबाट पूजाआजा गर्न पाउन भन्ने उद्देश्यले व्यवस्थापन पक्ष अत्यन्तै राम्रो बनाएको दाबी गर्नुभयो । यो मन्दिरमा र्काितक महिनामा दशाग्रह गराउन नेपालका विभिन्न ठाँउँबाट आउने गरेका छन् । अन्य दिन फाट्फुट्ट सर्वसाधारण आउने गरेपनि कार्तिक महिनामा भने अत्याधिक भीड हुने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । कार्तिक महिनाको एउटा शनिवारमात्र १० देखि १५ हजारसम्म भेटी उठ्ने व्यवस्थापन समितिले जनाएको छ । कार्तिक महिनामा दैनिक ५ हजार भन्दा बढी भक्तजनहरु शनि मन्दिरमा आउने गरेका छन् । ग्रहदशा शान्तिका लागि कार्तिक महिना नै उत्तम रहने शास्त्रमै उल्लेख भएकोले कार्तिक महिनामा अत्याधिक भक्तजन आउने गरेको व्यवस्थापन समितिले जनाएको छ ।