धरान । कर्णेल अफ दि रेजमेन्ट, थ्री जिआर गोर्खा राइफल्स, वाइएसएम भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगण नेपालको ६ दिने भ्रमण सम्पन्न गरी शनिवार स्वदेश फर्कनु भएको छ । नेपालको ६ दिने औपचारिक भ्रमणका लागि जनरल सिंह असोज १४ गते काठमाण्डौ आउनु भएको थियो । उहाँलाई भारतीय राजदुतावासका डिफेन्स एटाची (रक्षा सहचरी) वी सुव्रमन्वयमले त्रिभुवन अन्तर्राष्ट्रिय विमन स्थलमा हार्दिकतापूर्वक स्वागत गर्नुभएको थियो ।
मेजर जनरल चरणजीत सिंह देवगणले नेपालको ६ दिने औपचारिक भ्रमणका क्रममा पोखराको भ्रमण गरी गण्डकी प्रदेशमा बसोबास गर्नुहुने भूतपूर्व भारतीय सेनाको र्यालीमा सहभागी भई वीरता पुरस्कार विजेता र वीर नारीहरुलाई सम्मान गर्नुभएको थियो । यसैगरि उहाँले भारतीय राजदुतावास स्थित रहेको रक्षा विभागका विभिन्न शाखाको भ्रमण गरी सैनिक अंशदायी स्वास्थ्य योजना (भ्ऋऋज्) पोलिक्लिनका सम्बन्धमा जानकारी लिनु भएको थियो । सो अवसरमा उहाँले हाम्रा भूतपूर्व सैनिकहरुको सेवामा इसिएचएस को पहुँचलाई नेपालमा थप अभिवृद्धि गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । भारतसँगको नेपालको द्विपक्षीय सैन्य सम्बन्धलाई अझ अगाडि बढाउने र दुईदेशका सेनाबीचको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल गर्न भ्रमणका क्रममा जनरल देवगणले नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलसँग नेपाली सेनाको मुख्यालय भद्रकालीमा सिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।


मेजर जनरल चरणजीत सिंह देवगणको नेपालको ६ दिने भ्रमण सफल र फलदायी रहेको दुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा उहाँले दुवै देशको द्विपक्षीय सम्बन्धलाई अघि बढाउन खेलेको कुशल व्यवसायिक भूमिका र नेपालमा भारतीय भूतपूर्व सैनिकहरुको कल्याणका लागि गरिएका प्रयासका लागि दुतावासस्थित रक्षा विभागका कर्मचारीहरुले प्रशंसा गर्नुभएको थियो ।



