धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको छाताचौक स्थित पुरानो अस्पतालको नामले परिचित सो ठाउँमा धरान स्वास्थ्य चौकी सञ्चालनमा छ । उपमहामनगरपालिकाले यस स्थानमा स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य चौकी सञ्चालन गरे पनि प्रभावकारी हुन सकेको छैन । प्रतिष्ठानको जग्गामा उपमहानगरपालिकाले सञ्चालन गरेको स्वास्थ्यचौकी प्रभावविहीन बनेको छ । विगतमा वीपी प्रतिष्ठानले विरामीको चाप तथा प्रभावकारगी एवम् गुणस्तरीय सेवालाई ध्यानमा राखेर सो क्षेत्रमा निकट भविष्यमा सय शैयाको अस्पताल निर्माण गर्ने र तत्काल जेनेरल मेडिसिन र स्त्री रोग सम्बन्धि ओपिडी तथा ल्याव, एक्सरे र अल्ट्रासाउण्ड सुविधासहितको अस्पताल सेवा विस्तार गर्ने योजना अगाडि सारेको थियो । प्रतिष्ठानमा सामान्य विरामी र स्वास्थ्य वीमाका विरामीहरुको चापले गर्दा जटिल प्रकारका विरामीहरुको उपचार प्रभावित हुंदै आइरहेको भन्दै प्रतिष्ठानले सो योजना अगाडि सारेको थियो । तर सो क्षेत्रमा उपमहानगरपालिकाले भौतिक संरचनासँगै सुविधा सम्पन्न नगर अस्पताल बनाउने योजना अगाडि सारे पछि बीपीको योजनालाई थाँति राख्यो । उपमहानगरपालिकाले सुविधा सम्पन्न नगर अस्पताल सञ्चालन गर्ने योजना अगाडि सारेपनि अहिलेसम्म त्यो हुन नसक्दा नगर अस्पतालको अवधारणा हावादारी सावित धरान स्वास्थ्य चौकीका इन्चार्ज चन्द्रप्रकाश खनालको भनाइबाट प्रष्ट हुन्छ ।


नेपालको संविधानमा सबै स्थानीय तहले सुविधा सम्पन्न स्वास्थ्य चौकी संञ्चालनमा उल्लेख छ । नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी नागरिकले पाउने स्वस्थ्य अधिकारलाई मनन गरी उपमहानगरपालिकाले सञ्चालन गरेको धरान स्वास्थ्य चौकी दशक वितिसक्दा पनि गुणस्तरीय हुन सकेकौ छैन भने हालसम्म भौतिक संरचना निर्माण हुन सकेको छैन ।
स्थानीय सरकारले आधारभूत स्वास्थ्य चौकी निर्माण गर्नुपर्ने दायित्व हुन्छ । विगत एक दशक वितिसक्दा पनि धरान उपमहानगरपालिका दायित्वबाट पन्छिएको पूर्व सुनसरी जिल्ला स्वास्थ्य प्रमुख श्रीराम साह बताउनुहुन्छ । उहाँले महिला तथा बालबालिका, ज्येष्ठ नागरिकलाई दिइने आधारभूत स्वास्थ्य सेवा प्रवाहमा समेत अन्य स्थानीय तहको भन्दा दयनीय अवस्था रहेको बताउनुभयो । सो क्षेत्र खुला र एकान्त भएकाले अहिले लागुऔषध प्रयोगकर्ताहरुको अखडा बन्दै गएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य चौकी र वर्थिङ सेन्टर सञ्चालनमा रहेपनि सो समेत प्रभावकारी रुपमा सञ्चालनमा छैन । वीपी प्रतिष्ठानको स्वामितवमा रहेको १ विगाह १३ कठ्ठा १४ धुर क्षेत्रफलमा रहेको जग्गा तथा जीर्ण भवनहरुमा अहेव र अनमीको स्तरवाट स्वास्थ्य चौकी र वर्थिङ सेन्टर सञ्चालन हावादारी बनेको हो । धरान उपमहानगरपालिका वडा नं. १ मा रहेको सो स्वास्थ्य चौकीका विषयमा उपमहानगरपालिकाले सिटी अस्पताल बनाउने हौवा पिटने बाहेक जनप्रतिनिधिहरुले अर्को काम गरैका छैनन् । भविष्यमा सो स्थानमा सुविधा सम्पन्न सिटी अस्पताल बनाउने योजना अगाडि सारेकोे धरान उपमहानगरपालिका १ नंं वडा समितिका अध्यक्ष यज्ञमणि आचार्य बताउनुहुन्छ । शिक्षा, स्वास्थ्य जस्ता जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्नकै लागि संघीयतामा स्थानीय सरकारलाई संविधानमै धैरै अधिकार प्रत्याभूत गरिएको छ । उपमहानगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य चौकीको यस्तो दयनीय अवस्था छ भने नगरपालिका तथा गाउँपालिकाहरुमा सञ्चालन भएका सस्वास्थ्य चौकीहरुको अवस्था कस्तो होला भन्ने कुरा छर्लङ्गै छ । यसतर्फ सम्बन्धित पक्षको ध्यान गएको पाइदैन ।
