धरान । धरान उपमहानगरपालिका वडा न. ४ विकट वडाको रुपमा चिनिन्छ । यहाँका विद्यार्थीहरु घण्टौ हिडेर विद्यालयसम्म अध्ययन गर्न बाध्य छन् । शिवजट्टा, हर्दिया, देवी गाउँजस्ता विकट गाउँहरु यस क्षेत्रमा पर्छन् । यो वडामा ६ वटा विद्यालय छन् तर सबै आधारभूत तहका विद्यालय हुन । विगत भएकै कारण भदौ २९ गतेको राष्ट्रिय बालदिवस वडाको संयोजनमा शुक्रबार मात्र सम्पन्न भएको छ । वडाले कन्या आधारभूत विद्यालय कन्यापोखरी, बालिका आधारभूत विद्यालय देवीटार भेडेटार, आधारभूत विद्यालय हर्दिया, पञ्चकन्या आधारभूत विद्यालय हर्दिया, सिंहदेवीदेवी आधारभूत विद्यालय सुमनटार र शिक्षाज्ययोति आधारभूत विद्यालय बसन्तटारलाई धरान ४ मा बसन्तटारमा रहेको वडा कार्यालयमै भेला गराएर कार्यक्रमको आयोजना गरेको हो ।
उपमहानगरपालिकाको अत्यन्तै विकट ठाउँ भएकोले पनि एकैपटक वडामै कार्यक्रम गरिएको ४ नं. वडा सदस्य एवम् कार्यक्रम संयोजक मीना तामाङले बताइन् । उनल सो अवसरमा विद्यार्थीहरुले आफूभित्र भएको क्षमतालाई प्रदर्शन गरेको बताइन् । विद्यार्थीहरुले नृत्य, कविता, गायन प्रतियोगिता लगायतका कार्यत्रमको आयोजना गरिएको उनको भनाई छ ।
एकै पटक सबैलाई भेला गराएर कार्यक्रम गर्नुको प्रमुख उद्देश्य विद्यालयका विद्यार्थीहरुबीच प्रतिष्पर्धा गराउने, विद्यालयका विद्यार्थी, शिक्षक तथा शिक्षिका एकै ठाउँमा जमघट हुने र विद्यालयहरुको समस्याका विषयमा जानकारी हुने भएकोले पनि सबै विद्यालयलाई एकैपटक एकै ठाउँमा कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष धनबहादुर राईले बताए । अन्त्यन्तै गर्मी, टन्टलापुर घाम लागे पनि विद्यार्थीहरुले त्यसलाई वेवास्ता गर्दै आ आफ्नो क्षमता प्रस्तुत गरेका थिए ।