धरान । ज्येष्ठ नागरिक समाजका सम्पत्ति हुन्, उनीहरुलाई सम्मान गर्नुपर्छ भन्ने अभिप्रायले धरान उपमहानगरपालिका वडा नं. ६ ले कुसे औसी अर्थात बुबाको मुख हेर्ने दिनको एक दिन अगाडि प्रत्येक बर्ष ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रमको आयोजना गर्ने गर्दछ । यस बर्ष पनि वडाले ज्येष्ठ नागरकसँग भेटघाट शुभकामना व्यक्त गर्दै सम्मान समेत गरेको छ । ज्येष्ठ नागरिकलाई पनि स्थानीय सरकारको अनुभूति होस् भन्ने उद्देश्यले यस बर्षको कुसे औसीको अवसर पारेर ६ नंं वडा समितिले ६० बर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुसँग भेटघाट तथा शुभकामना र ८० बर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम राखेको थियो । धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाको प्रमुख आथित्यमा सम्पन्न सो कार्यक्रममा कुशे औसीको शुभकामनासहित सम्मान तथा सहराको रुपमा लौरो समेत वितरण गरिएको थियो ।
वडाका करिब १ सय जना सहभागी ज्येष्ठ नागरिकलाई वडामै बोलाएर सम्मान गरेकोप्रति सम्मानित भएका ज्येष्ठ नागरिकहरुले खुशी व्यक्त गरेका थिए । सो अवसरमा बोल्दै ज्येष्ठ नागरिक सञ्जाल धरानका अध्यक्ष हरिबहादुर विष्टले ज्येष्ठ नागरिकले परिवार तथा समाजलाई बाटो देखाउने काम गरेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई लक्षित गरी स्थानीय सरकारले सम्मानपूर्वक राखेको कार्यक्रमले ज्येष्ठ नागरिकलाई स्थानीय सरकारको अनुभूति महसुस भएको बताउनुभयो । वडा सदस्य एवम् धरान उपमहानगरपालिकाकी कार्यपालिका सदस्य देवीमाया विश्वकर्माले नेपाली महिलाहरुको तीज पर्व तथा बुबाहरुको सम्मान गरिने पर्व कुशै औशी अर्थात बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी ज्येष्ठ नगारिकसँग भेटघाटसँगै शुभकामना आदानप्रदानसँगै सम्मान गर्ने कार्यक्रम राखिएको बताउनुभयो । वडाध्यक्ष भुपेन्द्र भट्टराईले १७ गते सबैले घर घरमा बुबाको मुख हेर्ने, मिठो मसिनो खान दिने लगायतका कार्यक्रम गर्ने र आउँदो तीज पर्वलाई लक्षित गरी कुशे औशीको दुइदिन अगाडि नै कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले वडाको बजेटमार्फत ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ भन्ने अभिप्रायले प्रत्येक बर्ष निरन्तर गरिदै आएको कार्यक्रम यस बर्ष पनि आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा ज्येष्ठ नागरिक महिलाहरु तीज गीतमा छमछम नाचेका थिए । सो अवसरमा ८० बर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सम्मानित ज्येष्ठ नागरिकहरु तथा लौरो प्राप्त गर्ने ज्येष्ठ नागरिकले स्थानीय सरकारलाई धन्यवाद दिएका थिए । यस प्रकारको कार्यक्रमले परिवार तथा समाजले गर्दै आएको विभेद अन्त्यका लागि पनि सहयोग पुग्ने अपेक्षा उनीहरुले राखेका थिए ।