एक हजार मेघावाट विद्युत निर्यात

धरान । नेपाल विद्युत प्राधिकरणले हाल भारततर्फ एक हजार मेघावाट विद्युत निर्यात गरिरहेको र आगामी १० बर्षमा १० हजार मेघावाट विद्युत विक्री गर्ने लक्ष्य राखेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार पछिल्लो पटक अन्तरदेशीय व्यापार हेतु भारतको तोकिएको प्राधिकरणले नेपालका १२ वटा जल विद्युत परियोजनाहरुबाट थप २५१ मेघावाट विद्युत निर्यातका लागि स्वीकृत गरेको छ । नेपालले पहिलो पटक विहारमा मध्यकालीन विद्युत विक्री सम्झौतामार्फत विद्युत निर्यात गर्ने भएको छ । यसको कुल स्वीकृति परिणाम ६९० मेघावाट (१६ वटा परियोजनाहरुबाट) ९४१ मेघावाट (२८ वटा परियोजनाबाट) पुग्ने छ । यो २५१ मेघावाट स्वीकृत हुनु अगावै गत आर्थिक बर्षमा नेरु १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत विक्री गरी नेपाल स्वयम् निर्यातकर्ता र स्वयम् राजस्व उत्पादनकर्ता बनेको छ ।

सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेघावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो । तीन बर्षभन्दा कम अवधिमा यो तथ्यांक २४ गुणा भन्दा बढीले बढेको छ । इण्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा विक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात शुरु गरेको थियो । त्यसयता भारतले रियल टाइम मार्केटमा समेत पहुँच दिएको थियो । नेपाल विद्युत प्राधिकरणले हरियाणा र विहारको डिस्कमसँग मध्यकालीन विद्युत विक्री सम्झौता पनि गरेको छ । भारतले भारतका खरिदकर्ताहरुका लागि जलविद्युत खरिद दायित्व (एचपिओ) को एक हिस्साको रुपमा नेपालबाट हुने जलविद्युत आयात गणना गर्ने प्रावधान समेत खुल्ला गरेको छ । जसले खरिदकर्ताहरुलाई नेपालबाट विद्युत खरिद गर्न प्रोत्साहन गर्छ । नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० बर्षमा नेपालबाट भारतलाई १० हजार मेघावाट सम्म विद्युत विक्री गर्ने परिकल्पना गरेको छ । योसँगै नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत निर्यातकर्ता बन्ने बाटोमा देखिएको छ । बंगलादेशलाई ४० मेघावाट विक्री गर्ने सम्झौता टुंगो लागेर श्रावण १३ गते हस्ताक्षर गर्ने योजना भएपनि बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण हाल स्थगित भएको छ ।

तपाईको प्रतिक्रिया