लाखे नाच संरक्षणमा नेवार समुदाय

धरान । नेपाल साँस्कृतिक रुपले धनी देश हो । यहाँ विभिन्न जातजातिका आ आफ्नै सँस्कृति हुन्छन् । ती मध्ये नेवार समुदायको लाखे नाच एक हो । यो नितान्त नेवार समुदायको साँस्कृतिक पर्व भएकोले यस पर्वलाई विकृतिजन्य बनाउदै मागी खाने भाडो बनाएकोमा नेवार समुदायका अग्रजहरुले सँस्कृति जगेर्नाप्रति चिन्ता व्यक्त गर्न थालेका छन् । अहिले उनीहरु यो नाचको संरक्षणमा जुटेका छन् । नेवार समुदायमा विभिन्न प्रकारका नाचहरू नाचिन्छन । यसरी नाचिने नाचहरूमा प्राय देवीदेवतासँग जोडिएको हुन्छ । यीमध्ये लाखे नाच धेरै रोचक हुन्छ । तर यो नाचभित्र पनि विकृति भित्रिने क्रम बढिरहेको र कमाउ गर्ने धन्दाको रुपमा यो नाचलाई प्रयोग गरेको प्रति नेवार समुदायका अग्रजहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । धरानका स्थानीय उत्तम शाक्यले धरानमा उहाँका बाजे दानबहादुर शाक्यले लाखे नाच शुरु गरेको दाबी गर्नुहुन्छ । वि.स. २०१० सालमा धरान झरेपछि २०१४ सालदेखि लाखे नाच बाजे दानबहादुरले शुरु गरेको उहाँको दाबी छ । देवीसँग प्रसंग जोडिएको यो नाच पछिल्लो समय हेलचेक्राई ढंगबाट निकाल्ने, कमाइ गर्ने भाडो बनाउने, लाखे नाचको वास्तविकता नबुझी हचुवाको भरमा लाखे नाच निकाल्ने गरिएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।


तीन सय वर्षअघिदेखि राक्षसको रूपमा रहेको घण्टाकर्णलाई मारेपछि पुनः राक्षसको अवतार नदोहोरियोस् भन्नका लागि लाखे नाच्ने परम्परा रहेको नेवार समुदायका अग्रजहरुले बताएका छन् । लाखे नाचमा दैवी शक्ति भएको एक प्रकारको नाच रहेको नाचमा संलग्न रहेकाहरुले बताएका छन् । धरान २ सिंहदेवी चौकमा रहेको सिंहदेवी मन्दिरमा पूजाआजा गरिसकेपछि शुरु हुने लाखे नाच पूजाका समयमा चढाएको चामललाई टेक्ने, लापारबाही गर्ने गरेमा हानी हुने लाखे नाचमा संलग्नहरुले बताएका छन् । उनीहरुले साँस्कृतिक पर्व भएकोले सँस्कृतिलाई जगेर्ना गर्दै परम्परागत रुपमा लाखे नाच्ने गरिएको बताउदै लाखे नाच पैसा कमाउनको लागि नभएको उनीहरुको भनाई छ । लाखे नाचलाई पुस्तान्तरणको खाँचो भए पनि पछिल्लो समय यो नाँच कमाउने माध्यमका रुपमा प्रयोग गरिएकोमा लाखे नाचको सरक्षणमा जुटेका कैलाश शाक्यले बताउनुभयो । बाबु दानहादुर शाक्यले भोजपुरबाट धरान झरेपछि धरानमा शुरुवात गरेको दाबी गदै अहिले जथाभावि पैसा संकलन गर्ने उद्देश्यले लाखे नाच निकाल्ने परम्पराको अन्त्य गर्न सबै जुट्नु पर्नेमा जोड दिनुभयो । लाखे नाच कृष्णलाई मार्नका लागि कृष्णका मामा कंशले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने परम्परा रहेको छ । नाग पञ्चमीका दिनबाट सुरु गरिएको पुतनाको मृत्युको कामना ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झँदै बन्दुक पड्काएर लाखे विर्सजन गरिने परम्परा रहँद । राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई सिंगारेर लाखे नचाउने गरिन्छ । अहिले यो नाचको वास्तविकता बुझाउदै विकृतिमुक्त लाखे नाच नचाउन युवा पुस्ताहरुलाई समेत यो नाचको विषयमा सिकाउने काम धरानमा हुदै आएको छ ।

तपाईको प्रतिक्रिया