बुढासुब्बा मन्दिरमा भाकल गर्न आउनेको चहलपहल बढ्यो

धरान । कोशी प्रदेशकै एकमात्र मन्दिर धरान १४ विजयपुरमा रहेको बुढासुब्बा मन्दिरमा भदौ १ गते शनिवार अत्याधिक चहपहल बढेको छ । साउनभरि बोलबम मेला लाग्ने भएकोले विजयपुरमा रहेका मठ मन्दिरका कुनै पनि मन्दिमा बली चढाउन बन्देज लगाइएको थियो । तर भदौ १ गते शनिवारबाट बली चढाउन खुल्ला गरेसँगै भाकल पूरा गर्ने सर्वसाधारणको घुइँचो लागेको छ । करिब एक महिनापछि बुढासुब्बा मन्दिरमा बली चढाउन खुल्ला गरिएको पूजारी अशोक आलेमगरले बताउनुभयो । साउन सकिनेवित्तिकै भदौ १ बाट भाकल पूरा गर्नेहरुका लागि बली चढाउन खुल्ला गरिएको बताउनुभयो । यो मन्दिरमा बुढासुब्बालाई भाले र गौरेनी मातालाई पोथी चढाउने प्रचलन भएपनि पोथी नभएको भए पोथीको प्रतिकको रुपमा अण्डा चढाउने प्रचलन छ । उहाँले दशैको सोह्र श्राद्ध लाग्ने पुर्णिमादेखि १६ दिनसम्म पुन ःकाटमार अर्थात बलि चढाउन रोक लगाइने प्रचलन रहेको बताउनुभयो । उहाँले मन्दिरमा बलि चढाउन दशैकौ घटस्थापनादेखि पुन ः शुरु हुने बताउनुभयो । साउनसँगै एकादशी, स्वास्तानीको साँगे, कृष्ण अष्टमी, राम नवमी, शिवरात्री औशीका दिन समेत मन्दिरमा बलि चढाउन नपाइने बताउनुभयो । उहाँले बुढासुब्बा यिनै हुन् भन्ने यकिन तथ्य नभए पनि सबैले बुढाबाजेको रुपमा पुज्ने प्रचलन रहेको बताउनुभयो ।
लामो समयपछि मन्दिरमा बली चढाउन खुल्ला भएपछि नेपालका विभिन्न स्थानबाट भाकल पूरा गर्नका लागि मन्दिरमा आउने भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको थियो । भाकल पूरा गर्दा मनोकांक्षा पूरा हुने विश्वास भएर आउने गरेको भाकल पूरा गर्न विराटनगरबाट आएकी सम्झना खत्रीको भनाई छ ।
कुनै पनि नौलो काम गर्नु परे बुढासुब्बा तथा गौरेनी मातालाई भाकल गर्ने प्रचलन छ । यसमा बृद्धबृद्धामात्र हेन युवा पुस्तामा समेत विश्वास रहेको पाइएको छ । विश्वास भएकै कारण युवाहरु समेत भाकल पूरा गर्न आउने गरेको इलामका अतित तामाङ बताउनुहुन्छ ।

कतिपयको तर्क भने बलि दिनु मात्र भाकल पूरा गर्ने आधार नहुने बताउँने गर्छन् । धरानका अग्रज एक दम्पत्तिले भाकल पूरा गर्न आएको बताए पनि काटमार चाहि नगर्ने बताए । धरान बसोबास गरेदेखि नै बुढासुब्बाको पूजाआजा गर्दै आए पनि काटमार कहिल्यै नगरेको उनीहरुले सुनाए । यो मन्दिरप्रति सर्वसाधारणको आस्था बढ्दै गएको छ । मन्दिरमा पूजाआजा गर्दा तथा भाकल गर्दा आफूले चिताएको पुग्ने विश्वास भएकै कारण नेपालबाट मात्र हैन भारतको पश्चिम बंगाल लगायतका स्थानबाट बुढासुब्बा मन्दिरमा आउने गरेको पाइएको छ । कोशी प्रदेशमै एकमात्र यो मन्दिरको महिमा दिनप्रतिदिन चुलिदै गएको छ भने भक्तजनहरुको आगमन समेत बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया