भारत सरकारको सहयोगमा निर्माण सम्पन्न धुलिखेल अस्पतालको वार्ड भवनको उद्घाटन

काठमाण्डौ । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकास्थित धुलिखेल अस्पतालको वार्ड भवनको उद्घाटन गरिएको छ ।
नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको कुल लागत नेरु ४ करोड २६ लाखको आर्थिक सहयोगमा श्रावण २३ गते बुधबार भारतीय राजदुतावासका प्रथम सचिव अविनाश कुमार सिहले एक भव्य समारोहबीच समुद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा धुलिखेल नगरपालिकाका प्रमुख, विभिन्न राजनैतिक दलका स्थानीय नेतृत्वहरु, नेपाल सरकारका विभिन्न कार्यालयका सरकारी अधिकारीहरु, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् पदाधिकारीहरु, विभिन्न सामाजिक संघ संस्थामा कार्यरत समाजसेवीहरुको उपस्थिति रहेको थियो । नेपाल–भारत विकास सहकार्य अन्तर्गत निर्माण भएको वार्ड भवनमा आवश्यक सम्पूर्ण सुविधाहरु रहेका छन् । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अगाडि बढाइएको दुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । सो अवसरमा बोल्दै धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्यन्जुले भन्नुभयो सम्पन्न भएको परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एउटा महत्वपूर्ण उदाहरण हो । यसैगरि स्थानीय राजनैतिक दलका प्रतिनिधि, धुलिखेल अस्पतालका कार्यकारी निर्देशकले समेत नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पु¥याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभएको थियो ।


् यहाँ स्मरणीय कुरा के छ भने सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएकोमा हालसम्म ४९० वटा परियोजना सम्पन्न भइसकका छन् । यसमध्ये काभ्रेपलाञ्चोक जिल्लामा ७ वटा परियोजनासहित बागमति प्रदेशका विभिन्न क्षेत्रमा १०६ वटा परियोजनाहरु रहेका छन् । यसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी, शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स, २ हजार ३ सय स्कूल बस उपहार स्वरुप प्रदान गरिसकेको छ । त्यसमध्ये काभ्रेपलाञ्चोक जिल्लालाई प्रदान गरिएको ८ वटा स्कुल बस र १६ वटा एम्बुलेन्ससहित बागमति प्रदेशलाई मात्र २३६ वटा एम्बुलेन्स र ९८ वटा स्कुल बस प्रदान गरिएको छ । भारत सरकारले सन २०२१ जनवरीमा धुलिखेल अस्पतालको लागि एउटा एम्बुलेन्स (एडभान्स लायफ सपोर्ट) उपहार स्वरुप प्रदान गरेको थियो । उपहार स्वरुप प्रदान गरिएको उक्त एम्बुलेन्सले स्वास्थ्योपचारमा सेवा दिँदै आकस्मिक स्वास्थ्य सेवाका लागि महत्वपूर्ण योगदान पु¥याइरहेको छ ।  नेपालको असल छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र वहुक्षेत्रीय सहकार्य रहँदै आएको जारी विज्ञप्तीमा जनाइएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्व्यनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको विज्ञप्तीमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया