इटहरी । नेपाल परिवार नियोजन संघ सुनसरी शाखाको आयोजनामा र जिल्ला स्वास्थ्य कार्यालय सुनसरीको समन्वयमा सोमवार प्रेप PrEP (pre Exposure Prophylaxis) कार्यक्रम सम्पन्न भएको छ । एचआइभी संक्रमण नभएका तर जोखिम भएका व्यक्तिहरुलाई एचआइभी संक्रमणबाट जोगाउनका निम्ति एआरभी औषधीको विषयमा सरोकारवाला निकायहरु बिच युवा विकास केन्द्र इटहरीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल परिवार नियोजन संघ सुनसरीका सभापति निर्मला अधिकारीको अध्यक्षता आयोजित उक्त कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला समन्वय समितिका समन्वय अधिकारी भुपध्वज थापाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि प्रसाईले एचआइभी सक्रमण रोक्नका लागि जोखिमपूर्ण व्यवहारमा रहेका व्यक्तिहरुलाई पहिले नै सक्रमणबाट बच्न मुखबाट सेवन गरिने यो औषधीको प्रभावकारीता र उपलब्धताले सेवाग्राहीलाई सहज हुनका साथै एचआइभी न्युनीकरणमा थप आयाम हुने बताउनु भएको थियो । नेपाल परिवार नियोजन संघ सुनसरीको शाखा प्रबन्धक रानु राउतले सेवाको उपलब्धताका बारेमा बताउनु भएको थियो भने डा. मनिष अर्यालले अन्य जानकारीहरु प्रदान गर्नुभएको थियो । वर्तमान अवस्थामा भएका चुनौतीहरुको बारेमा आम्दा नेपालको प्राजेक्ट संयोजक रोहित कुमार उराँवको प्रस्तुति रहेको सो कार्यक्रममा कोशी प्रदेश सुपरभाइजर रोमन राईले सबै सरोकारवाला संघसस्थाले आ आफनो तहबाट एचआइभी सक्रमणको जोखिम न्युनीकरणमा सहयोग गर्नुपर्ने कुरामा जोड दिनु पर्ने बताउनु भएको थियो ।
