धरान । मध्यपहाडी लोकमार्गको उद्गम विन्दु पाँचथरको याङबरक गाउँपालिका वडा नं. २ स्थित चिवा भन्ज्याङ गणेशचौक सडक आगामी बर्ष पूर्ण रुपमा सम्पन्न गर्ने लक्ष्य रहे तापनि थप केही बर्ष लाग्ने भएको छ । यस बर्षको लगातारको बर्षाले दुई वटा पुल पूर्ण रुपमा बगेका छन् भने एउटा पुल कामै नलाग्ने गरी क्षतिग्रस्त बनेको छ । गणेशचौक चिवा भन्ज्याङ सडक समेत पहिरोले झण्डै २५ किमी बगाएको फिदिम चिवाभन्ज्याङ मध्यपहाडी लोकमार्ग आयोजनाका प्रमुख वीरेन्द्रकुमार यादवले बताउनुभयो । मेची राजमार्ग अन्तर्गत पाँचथर सडक खण्डको गणेशचौक चिवाभन्ज्याङ ६० किमी रहेको छ । भारतको सिक्किम राज्यसँग सीमा जोडिएको चिवाभन्ज्याङ आन्तरिक एवम् वाह्य पर्यटकका लागि आर्कणको केन्द्र मानिन्छ । चिवाभन्ज्याङ भारतको जोगबनीबाट धरान हुँदै धनकुटाको मुलघाट लावरबोटे तमोर करिडोर भएर २ सय किमीको दूरीमा रहेको छ । यसैगरि ताप्लेजुङ जिल्लाको नेपाल चीन सीमा नाका टिप्तला भन्ज्याङबाट तमोर करिडोर भएर चिवाभन्ज्याङको दूरी २५६ किमी रहेको छ । कोभिडभन्दा अगाडिसम्म टिप्तला भन्ज्याङ नाका भएर चिनियाँ पर्यटकहरु चिवाभन्ज्याङ सम्म पुगेर हप्तौसम्म गोठ स्टेहरुमा बसेर प्राकृतिक सुन्दरताको आनन्द लिएर फर्कन्थे । हाल टिप्तला भन्ज्याङ नाका खुले तापनि अविरल बर्षसँगै आएको बाढी पहिरोका कारणले चिनियाँ पर्यटकहरु नआएको पाँचथर गणेशचौकका सुमन नेम्बाङले बताउनुभयो ।

सबैभन्दा महत्वपूर्ण मानिएको यस सडकलाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत समावेश गरेको छ । पाँथरको गणेशचौकबाट चिवाभन्ज्याङसम्मको ६० किमीमा ११ वटा मोटरेबल पुल र एक दर्जन भन्दा बढी स–साना कल्भर्टहरु रहेका छन् । यस पटकको लगातारको बर्षाले गणेशचौक भन्दा २० किमी अगाडि रहेको ओयाम खोलाको २० मिटर लामो मोटरेबल पुल, यसैगरि गणेशचौकदेखि ४३ किमी अगाडि रहेको फलामे खोलाको २५ मिटर लामो पुल पूर्ण रुपमा बगेका छन् । उता नुवा खोलाको पुल कामै नलाग्ने गरी क्षतिग्रस्त भएको आयोजना प्रमुख यादवले बताउनुभयो । उहाँले भन्नुभयो यस भन्दा पनि पहिला अर्थात गत बर्षको बाढीले नेवा खोलामा रहेको २५ मिटर लामो पुल बगाइदिएको थियो । उहाँका अनुसार बाढी पहिरोले पुलहरु बगाउने र मर्मत गर्दा पनि प्रयोगमा ल्याउन नसक्ने तीनवटा पुलमात्र होइन चार वटा कल्भर्ट समेत बगाएको छ । ओयाम खोला भन्दा अगाडि आएको पहिरोले २५ किमी जति सडक नै बगाइदिएको छ । मध्यपहाडी राजमार्गको फिदिम चिवाभन्ज्याङ सडक आयोजनका प्रमुख वीरेन्द्र कुमार यादवले भन्नुभयो यो सडक चाँडो पूरा गर्न दबाब छ । जसका कारण सडक निर्माणलाई तिब्रता पनि दिइएको थियो । तर खोलामा आएको बाढी र पहिरोका कारण यो बर्ष ठूलै नोक्सानी व्यहोर्नु परेको छ । आउने आर्थिक बर्षमा गत बर्ष क्षतिग्रस्त भएको नेवा खोलाको पुल निर्माणका लागि ठेक्का भइसकेको छ । उक्त पुल निर्माणका लागि झापाको सरोज निर्माण सेवाले ७ करोड २५ लाखमा ठेक्का सकारेको छ । यस बर्षको बाढीले क्षतिग्रस्त भएका ओयाम खोला र फलामे खोलाको पुलको लम्बाई अब ४० मिटर बनाउनै पर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो । प्रमुख यादवले भन्नुभयो आगामी आर्थिक बर्षभित्रमा सडकको सम्पूर्ण काम पूरा गर्ने लक्ष्य भएपनि अब त्यो सम्भव देखिदैन । यातायात आवागमनका लागि खोला किनारमा टेम्पोरेरी डाइभर्सन बनाएर काम चलाइएको पनि उहाँले सुनाउनुभयो । पहिरोले त्यत्रो सडक बगाएको छ, पुलहरु पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । यस्तो अवस्थामा पनि यातायात सञ्चालन भएको छ त भन्ने जिज्ञासामा उहाँले भन्नुभयो पुल क्षतिग्रस्त भएको स्थानमा टेम्पोरेरी डाइभर्सन बनाइएको र पहिरो गएको स्थानमा समेत त्यसैगरि गरिएको छ । भारी बर्षा भएको अवस्थामा भने यातायात सञ्चालन हुँदैनन् । यहाँ स्मरणीय कुरा के छ भने गणेशचौकदेखि दारिम्बासम्मको ९ किमी सडक दुई बर्ष अगाडि नै पूर्ण रुपमा कालोपत्रे भइसकेको छ भने दारिम्बादेखि चिवाभन्ज्याङ सम्मको ५१ किमी सडक निर्माणका लागि ३ प्याकेजमा ठेक्का लागेर काम भइरहेको छ । चिवाभन्ज्याङबाट १६ किमी यता रोशन शिवशक्ति जेभी, त्यस भन्दा १६ किमी यता सन्तोषी शिवशक्ति जेभी र त्यस पछि दारिम्बासम्मको १७.६५ किमी शिवशक्ति जेभी नै कालोपत्रे सम्मको ठेक्का पाएका छन् । बर्षाभन्दा पहिला ठेकेदार कम्पनीहरुले सडकको स्तरोन्नतिसँगै वाल, ड्रेन, तारजाली र स्ट्रक्चरको काम गरिरहेका थिए । यो सडक कालोपत्रेसम्म पुग्दा ७ मिटरको कालोपत्रे, डेढ मिटरको सोल्जर, १.२ मिटरको नाला सहित ९.७५ मिटरको हुने प्रमुख यादवले बताउनुभयो ।
