धरान । नेपालको ४५ औं प्रधानमन्त्रीका रुपमा चौथो कार्यकालका लागि खड्गप्रसाद शर्मा ओली (केपी ओली) ले सोमबार पदभार ग्रहण गरेका छन् । सोमबार विहान एघार बजे राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोहबीच प्रधानमन्त्री ओलीले पद तथा गोपनियताको सपथ लिएका थिए । संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको समर्थनमा ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् । एमालेका अध्यक्ष समेत रहेका ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच मुलुकलाई राजनैतिक स्थायित्वसँगै संविधान संसोधनका लागि असार १७ गते सात बुँदे सहमति भएपछि संसदको तेस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकार असार २८ गते विश्वासको मत प्राप्त गर्न नसकी विस्थापित भएको थियो । राष्ट्रपति रामचन्द्र पौड्यालले ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम आइतबार साँझ नियुक्ति गरे तापनि पद तथा गोपनियताको सपथ सोमबार मात्र गराउनु भएको थियो । ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि नेपाली काँग्रेसका सभापति र स्वयम् ओली एमाले र काँग्रेसका १६६ जना सांसदको हस्ताक्षर सहित राष्ट्रपति भवन शितल निवास पुगेका थिए । राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिएसँगै प्रधानमन्त्री ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीको सत्ता आरोहण
चौथो पटक प्रधानमन्त्री बनेका ओली पहलो पटक २०७२ साल असोज २४ गते प्रधानमन्त्रीमा नियुक्ति हुनु भएको थियो । सुशिल कोइरालाको नेतृत्वमा बनेको सरकारले नेपालको संविधान जारी गरेपछि उहाँ प्रधानमन्त्रीमा नियुक्ति हुनु भएको थियो । यसगरी संघीय संसदको पहिलो निर्वाचन २०७४ पश्चात ओली माओवादी केन्द्रको समर्थनमा दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभयो । त्यसबेला दुवै दलबीच अत्यन्तै घनिष्ट सम्बन्ध स्थापित भयो । यहाँ सम्मकी एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता समेत भयो । २०७५ साल जेठ ३ गते पार्टी एकता हुँदा त्यसको नाम नेपाल कम्युनिस्ट पार्टी मात्र राखियो । जसको अध्यक्षमा ओली र प्रचण्ड दुवै रहेका थिए । दुवै दलको एकताबाट बनेको सरकारको नेतृत्व गरेका ओलीले दोस्रो कार्य ३ बर्ष ९ महिना सत्ता सञ्चालन गर्नुभएको थियो । पहिलो कार्यकाल भने ओलीले १० महिना मात्र चलाउन पाउनु भयो । २०७२, २०७४, २०७५ र २०८१ गरी चार पटक प्रधानमन्त्री बनेका ओली तेस्रो कार्यकालमा अर्थात २०७८ वैसाख २९ गते सर्वोच्च अदालतको परमादेशबाट बाहिरिए पनि २०८१ को असार अन्त्यतिर आइपुग्दा पुन ः जनादेशबाटै प्रधानमन्त्रीमा नियुक्ति भएका छन् ।
प्रचण्डको बर्गिगमन रोदनपूर्ण
संघीय संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको यसपटकको सत्ता बहिर्गमन कष्टपूण र रोदनपूर्ण देखियो । राजनीतिको कुनै अलौकिक चमत्कार नभए प्रचण्डको राजनैतिक अवसान यहीबाट शुरु भएको नेपाली राजनीतिका विश्लेषक पुरन्जन आचार्यको कथन छ । संसदमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र दोस्रो ठूलो दल एमालेलाई सरकारको नेतृत्वबाट अलग राखेर कहिले एमालेको समर्थनमा प्रधानमन्त्री बन्ने त कहिले काँग्रेसको समर्थनमा सत्तामा टिकिरहने चतुर खेल प्रदर्शन गर्दै मुलुकलाई राजनैतिक अस्थिरतातर्फ धकेल्दै आएका प्रचण्डले जाँदा जाँदै बिलौना गर्न भने छोडेनन् । स्वर्ग गएपनि सँगै जाने नर्क गए पनि सँगै जाने भनेर एमालेका अध्यक्ष ओलीले आफूलाई बचन दिएकोले ढुक्क थिएँ । यहाँसम्म भनिएको थियो चाडै नै पार्टी एकता गर्नुपर्छ । म माथि ठूलो विश्वासघात गरियो । अब यिनले मलाई मार्न पनि सक्छन् । जेल हाल्न पनि सक्छन् । प्रचण्डका यस्ता अभिव्यक्तिले उनी राजनैतिक अवसानको बाटोमा गएको प्रष्ट हुन्छ, आचार्यले भन्नुभयो ।
भारतीय प्रधानमन्त्रीद्वारा बधाइ
नेपाली काँग्रेसको समर्थनमा चौथोपटक प्रधानमन्त्रीमा नियुक्त हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कार्यकाल सफलताको कामना गर्दै बधाई दिनु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै भन्नुभएको छ–‘नेपालको प्रधानमन्त्रीको रुपमा नियुक्ति हुनु भएकोमा केपी शर्मा ओलीलाई बधाई ।’ उहाँले ट्वीटमा अगाडि भन्नुभएको छ, हाम्रा दुई देशबीचको मित्रताको गहिरो सम्बन्धलाई अझ बलियो बनाउन र हाम्रा जनताको प्रगति र समृद्धिका लागि हाम्रा पारिस्परिक गहिरो सम्बन्धलाई अझ बलियो बनाउन र हाम्रा जनताको प्रगति र समृद्धिका लागि हाम्रा पारस्परिक लाभदायक सहकार्यलाई थप विस्तार गर्न मिलेरकाम गर्न तत्पर छु । प्रधानमन्त्रीको रुपमा ओलीको पद तथा गोपनियताको सपथ लिएसँगै ओलीलाई सबैभन्दा पहिला भारतीय प्रधानमन्त्रीले बधाइ दिनुभएको हो । त्यसपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना लगायतले ओलीलाई बधाइ दिएका थिए ।
२५ मन्त्रालयमध्ये १८ वटामा काँग्रेस र एमाल
नेपालको संघीय संरचनामा रहेका २५ वटा मन्त्रालयमध्ये प्रमुख सत्ता घटक एमाले र नेपाली काँग्रेसले ९÷९ वटा मन्त्रालय लिएका छन् भने बाँकी ९ मन्त्रालयहरु सरकारमा सहभागी हुन आउने अन्य साना दलका लागि छुट्याइएका छन् । बदलिएको सत्ता समीकरणमा प्रचण्डलाई विश्वासको मत दिएका माधवकुमार नेपालको एकीकृत समाजवादी, विवादास्पद बन्दै गएको रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी नगराउने प्रमुख सत्ता घटकले निर्णय गरिसकेका छन् । यी दुई बाहेक सिके राउतको राष्ट्रिय जनमत पार्टी, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, उपेन्द्र यादवको जनता समाजवादी पार्टी, अशोक राई नेतृत्वका नयाँ जनता समाजवादी पार्टी र महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका लागि ९ वटा मन्त्रालय छुट्याएको नेपाली काँग्रेस स्रोतले जानकारी दिएको छ । अन्य राजनैतिक दलकहरु सरकारमा जान इच्छुक भएपनि राजेन्द्र लिंगदेन नेतृत्वका राष्ट्रिय प्रजातन्त्र पार्टी भने सरकारमा जान अनिच्छुक देखिएको छ ।
नेपाली काँग्रेस र एमालेबीच भएको मन्त्रालय भागबण्डा अनुसार प्रकाशमानसिंह उपप्रधानमन्त्री, सहरी विकास मन्त्री, रमेश लेखक गृह मन्त्रालय, देउवा पत्नी आरजु राणा परराष्ट्रमन्त्री, दिपक खड्का ऊर्जा तथा जलस्रोत मन्त्री, ऐनबहादुर साही वन तथा वाततावरण मन्त्री, अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री, बद्री पाण्डे पर्यटन, सँस्कृति तथा नागरिक उड्यान मन्त्री, प्रदीप पौड्याल स्वास्थ्य तथा जनसख्या मन्त्री, रामनाथ अधिकारी कृषि तथा पशुपंक्षी मन्त्रीमा नियुक्त हुनु भएको छ । उता एमालेबाट विष्णु पौड्याल उपप्रधान एवम् अर्थमन्त्री, बलराम अधिकारी भूमी, व्यवस्थापन तथा सहकारी मन्त्री, दामोदर भण्डारी उद्योग वाणिज्य तथा अपाूर्ति मन्त्री, विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री, मानवीर राई रक्षा मन्त्रीमा नियुक्त हुनु भएको छ । यसैगरी साना राजनैतिक दलहरुका तर्फबाट शरदसिंह भण्डारी लोकतान्त्रिक समाजवादी पार्टीबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, अशोक रार्इी नेतृत्वको जनता समाजवादी पार्टीबाट प्रदिप यादव खानेपानी मन्त्री, उपेन्द्र यादवको जनता समाजवादी पार्टीबाट नवल किशोर साह, सुढी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा नियुक्त हुनु भएको छ








