धरानका दुई र रामधुनीको एक गरी तीन सामुदायिक विद्यालय एसइइमा शून्य निजी विद्यालयतर्फ विष्णु र युरेका उत्कृष्ट : सामुदायिकतर्फ पब्लिक मा.वि. जिल्लामै पहिलो

धरान । माध्यामिक शिक्षा परिक्षा २०८० को गत हप्ता प्रकाशित नतिजामा सुनसरी जिल्लाका तीन वटा सामुदायिक विद्यालयबाट कुनै विद्यार्थी उत्तीर्ण हुन सकेनन् । प्रकाशित नतिजा अनुसार धरानको सामुदायिक विद्यालयतर्फ किरातेश्वर मावि र पञ्चायत मावि तथा रामधुनी नगरपालिकास्थित पञ्चायत मावि चौसठ्ठी विघाको नतिजा शून्य रहेको छ भने नीजि विद्यालयतर्फ विष्णु मेमोरियल मावि र युरेका आवासीय मावि उत्कृष्ट हुन पुगेका छन् । शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका प्रमुख खगेन्द्र सु्वेदीका अनुसार सामुदायिक विद्यालतर्फ धरान १२ स्थित पब्लिक मावि सर्वाधिक विद्यार्थी उत्तीर्ण गराउने जिल्लाकै पहिलो विद्यालय बनेको छ । सामुदायिक विद्यालतर्फ पब्लिक माध्यामिक विद्यालयबाट १९३ जना विद्यार्थीले परीक्षा दिएकोमा उत्कृष्ट ३.६ मा १८ जना, धेरै राम्रो ३.२ मा ३४ जना। राम्रोमा २.८ मा ५० जना र सन्तोषजनक २.४ मा २२ जना गरी ८१.३५ प्रतिशत विद्यार्थी पास भएका छन् । त्यसरी परीक्षा दिएकाहरुमध्ये २५ जनाको १ विषय, ९ जनाको दुई विषय, १ जनाको ३ विषय र १ जनाको ५ विषय ननग्रेडेड अंक आएको छ ।


उता निजी विद्यालयतर्फ विष्णु मेमोरियल मावि धरान ९ बाट १ जना  Outstanding अर्थात 4 GPA, ९० जना उत्कृष्ट, ४५ जना धेरै राम्रो र ६ जना राम्रो श्रेणीमा उत्तीर्ण भएका छन् । एसइइ २०८० मा विष्णु मेमोरियल माविबाट १४२ जना विद्यार्थी सहभागी भएका थिए । यसैगरि धरान १ स्थित युरेका आवासीय माविबाट २ जना उत्कृष्ट, ३५ जनाले धेरै राम्रो, ४९ जनाले  राम्रो र १३ जनाले सन्तोषजनक अंक ल्याएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका इकाइ प्रमुख खगेन्द्र सुवेदीका अनुसार सुनसरी जिल्लामा मात्र नभएर मुलुकैभरि पालिकाहरुमा रहेको शिक्षा विभागले आफैले विद्यालयको सम्पूर्ण तथ्यांक राख्ने गरेका छन् । यद्यपि शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका तर्फबाट भन्नुपर्दा यसपटक सुनसरी जिल्लामा ३२४ वटा विद्यालयका विद्यार्थीहरुले एसइइ परीक्षा दिएका थिए । नीजि र सामुदायिक ३३२ वटा माध्यामिक विद्यालय भएपनि परीक्षामा ३२४ वटा विद्यालयका विद्यार्थीहरुमात्र सामेल भएका हुन् । यसपटकको एसइइ परीक्षामा सहभागी विद्यार्थीमध्ये चार हजार ८ सय ३४ जना विद्यार्थीहरु अनुत्तीर्ण भएका छन् । अर्थात फेल हुने विद्यार्थी ३६ प्रतिशत रहेका छन् । कुल १३ हजार ४ सय २५ जनाले एसइइ दिए पनि ८ हजार ५ सय ९१ जना विद्यार्थीहरुमात्र उत्तीर्ण भएका छन् । यो संख्या भनेको ६४ प्रतिशत हो । अझ 4 GPA ल्याउने सुनसरी जिल्लामा दुई जना विद्यार्थीमात्र रहेका छन् । विष्णृु मेमोरियल मावि धरानकी गृष्मा लुइँटेल र इटहरीकी लोरी मावोहाङ्गल 4 GPA ल्याएका छन् । जिल्लामा रहेका अन्य कुनै पनि विद्यालयले 4 GPA नल्याएको पनि उहाँले सुनाउनुभयो । उहाँका अनुसार नन्ग्रेडेड ३६ प्रतिशत छन् । साउन २२ गते पुन ः मौका परीक्षा हुँदा कतिले परीक्षा दिन्छन् कतिले दिँदैनन् । सुनसरी जिल्लामा सामुदायिक विद्यालयबाट ३ वटा विद्यालयले शून्य नतिजा ल्याए पनि नीजि विद्यालयबाट शून्य नतिजा लाइएको भने छैन । उता सुनसरी जिल्लामा रहेका मदर्शाहरुमध्ये तीनवटा मदर्शाका विद्यार्थीहरु एसइइ परीक्षा २०८० मा सामेल भएका थिए । मदर्शाबाट परीक्षा दिएका अधिकांश विद्यार्थीहरु पास भएका छन् । भोक्राहा नरसिंह मदर्शा, जल्लापुर मदर्शा, इनरुवा मदर्शाबाट विद्यार्थीहरुले परीक्षा दिएका थिए ।

तपाईको प्रतिक्रिया