सिमापार रेमिट्यान्स कार्यान्वयनमा

धरान । गत बर्ष जेठमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीमापार रेमिट्यान्सका सम्बन्धमा भएको वार्ताले हाल आएर औपचारिकता पाएको छ । यस भन्दा अगाडि सोही सम्बन्धमा भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दाश र नेपाल  राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच लिंकेज औपचारिक रुपमा शुभारम्भ गर्ने सम्बन्धी वार्ता समेत भएको थियो । दुवै देशका केन्द्रीय बैंकका गभर्नर बीचको वार्ता र आवश्यक तयारी पश्चात माघ १ गते सीमापार रेमिट्यान्सका लागि नेपालको राष्ट्रिय भुक्तानी इन्टरफेस एनपिआइसँग भारतको एकीकृत भुक्तानी इन्टरफेस युपिआइको एकीकरणमा रिजर्भ बैंक अफ इण्डिया र नेपाल राष्ट्र बैंकबीचमा हस्ताक्षर भएको छ ।


भारतीय रिजर्भ बैंकका प्रमुख महाप्रबन्धक योगेश दयालद्वारा माघ १ गते जारी गरिएको विज्ञप्तीमा भनिएको छ दुवै बैंकले आज  भारत–नेपालको द्रुत भुक्तानी प्रणाली अर्थाँत भारतको एकीकृत भुक्तानी इन्टरफेस र नेपालको राष्ट्रिय भुक्तानी इन्टरफेसको एकीकरणका लागि सर्तसहित हस्ताक्षर गरी कार्यान्वयमा ल्याइएको छ । विज्ञप्तीमा भनिएको छ, दुई प्रणालीका प्रयोगकर्ताहरुलाई तत्काल कम लागतमा कोष स्थापना गर्न सक्षम पारि भारत र नेपालबीचको सीमापार रेमिट्यान्सलाई सहजीकरण गर्ने लक्ष्य राखिएको छ । भारत र नेपालबीचको आफ्नो दु्रत भुक्तानी प्रणालीलाई UPI–NPI लिंकेज मार्फत जोड्ने सहकार्यले दुई देशबीचको स्थायी ऐतिहासिक, साँस्कृतिक र आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया