प्रजातन्त्र आजको युगको सर्वस्वीकार्य राजनीतिक विश्व व्यवस्था हो–राजा ज्ञानेन्द्र शाह

धरान । नेपालका राजा ज्ञानेन्द्र वीर विक्रम शाहले प्रजातन्त्र आजको युगको सर्व स्वीकार्य राजनैतिक विश्व व्यवस्था भएको बताउनु भएको छ । नेपालको ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उहाँले त्यस्तो बताउनु भएको हो । शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ हामी प्रत्येक बर्ष राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गर्दछौं । यस अवसरमा हामी प्रजातन्त्रप्रति प्रतिवद्ध हाम्रा प्रात स्मरणीय पुण्य ज्यु, वुवा ज्यु, राष्ट्रपिता श्री ५ त्रिभुवनको त्याग र उद्वारताको स्मरण गर्दै प्रजातन्त्रका अथक योद्धा बीर शहीद सबैमा श्रद्धाभाव राख्दै हार्दिक शुभकामना व्यक्त गर्दछौं ।


शुभकामना सन्देशमा भनिएको छ प्रजातन्त्रको प्रगति हुँदै जानु अपरिहार्य देखिन्छ, किनभने यो इतिहासमा पाइने सबैभन्दा समान, सबै भन्दा पुरानो र सबैभन्दा स्थायी पद्धति हो । प्रजातन्त्रमा आफ्नो देशको प्रकृति, प्रवृत्ति, सँस्कृति र परिवेश अंकित हुनुपर्दछ । यसैगरि आफ्ना्े भु–वनौट, आफ्नो भूमाग भित्रका विविधि समाज सबैलाई संलगन पार्नुपर्दछ । सबैलाई समाविष्ट गर्ने र सबैको विशेषता, योग्यता तथा योगदानलाई प्रजातन्त्रमा फल्नफुल्न दिनुपर्छ । आफ्नो राष्ट्रको मौलिक मान्यता तथा आफ्नो सामाजिक संरचना मुताविक आफ्नो शैली, पद्धति र परिपाटी अनुरुप राज्य पद्धति कायम रहनै पर्दछ । प्रजातन्त्रभित्र अर्थतन्त्र पृथक हुन सक्दैन । आफ्नो स्रोत, साधन र शिव सबै यसमा समाहित हुनुपर्दछ । यसैबाट नै प्रजातन्त्र बलियो र गहकिलो बन्दछ । सबैले मीठो खान पाउने, सबैले राम्रो लाउन पाउने, सबैले स्वास्थ्य, शान्त र सन्तुष्ट भएर बाँच्च सक्ने, सबैलाई देशमै गतिलो शिक्षा र सबैको क्षमता अनुसार  रोजगारीको व्यवस्था हुने भएमा नै प्रजातन्त्रको रसिले अर्थ रहन्छ । प्रजातन्त्र पुजनीय अवस्य हो तर यसको पूजा शब्दले मात्र गरेर पुग्दैन, यसको पूजा कर्म, कर्तव्यले, त्याग र उद्धारताले, निष्ठाको राजनीतिले एवम् सही प्रकारको आचरणले मात्र हुने हो । जनता जनर्दनले जे भन्छन् त्यो सुनौ त्यसैलाई गुनौ र राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थता आधारमा प्रजातन्त्रिक विधि व्यवहार झल्काउनुपर्दछ । राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता तथा जनताको उत्थानमा निरन्तर लागिरहने प्रतिबद्धता हामी राख्दछौ । प्रजातन्त्र दिवसको यो शुभ सन्दर्भमा हामी सदैव नेपाली जनतासँग निकट रही रहने र सम्पर्कका निम्ति हाम्रा सबै द्वाराहरु खुल्ला रहने शुभेच्छा भाव पनि राख्दछौं ।

तपाईको प्रतिक्रिया