धरानमा गरियो सामुहिक गौपूजा

धरान । आज यमपञ्चक अन्तर्गत गाई पूजा । धरानको भानु ॐकार परिवारले सामुहिक रुपमा गौपूजाको आयोजना गरेको छ ।
हिन्दु सनातन धर्ममा गाईलाई माताको रुपमा लिइने गरिएको छ । अहिले गाई पाल्नेहरुको संख्या घट्दै गएको अवस्थामा धरान १५ का गुरु देवीप्रसाद पोख्रेलको घरमा पालिएको गाई धरान २ भानुचौकमा रहेको गणेशमन्दिर अगाडि सामुहिक गौपूजा गरिएको हो । प्रत्येक बर्ष गाई तिहारका दिन ॐकार परिवारले सामुहिक रुपमा गौपूजा आयोजना गर्दै आएको छ । विगतमा भानुचौकको बीच भागमा गौपूजा गरिने भएपनि यस पटक भने सुरक्षा सम्बेदनशीलतालाई मध्यनजर गरी प्रशासनले सार्वजनिक स्थलमा गौपूजा लगाउन निषेध गरेपछि घण्टाघरभित्र रहेको गणेश मन्दिर अगाडि सामुहिक पूजा गरिएको हो । सो अवसरमा बोल्दै ॐकार परिवार पण्डित. केशव अधिकारीले हिन्दु सनातन धर्मालम्बीहरुले सदियौदेखि यमपञ्चक अन्तर्गत गाईपूजाका दिन गौपूजा गर्दै आएकोले यसको निरन्तता स्वरुप सामुहिक गौपूजा गर्दै आएको बताउनुभयो । उहाँले धार्मिक सद्भाव कायम राख्न सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।


परापूर्वकालदेखि गर्दै आएको गौपूजा नौलो पूजा नभएको सनातन हिन्दु धर्मकी अभियन्ता पिंगला न्यौपानेले बताउनुभयो । उहाँले सामुहिक गौपूजाले हिन्दु धर्मालमीहरुलाई एकताबद्ध बनाउने काम गरेको बताउनुभयो । जगत जननी गौमाताको पूजा सबै ठाउँमा सामुहिक रुपमा गर्नुपर्ने आवश्यता रहेको बताउदै सबै ठाउँमा यसरी सामुहिक रुपमा पूजा गर्न राधाकृष्ण मन्दिरका मठाधिशले आवहान गर्नुभयो ।
विहान ८ बजेबाट शुरु भएको सो गौपूजा पण्डित प्रा.डा.पुरुषोत्तम भट्टराईको उपस्थितिमा गरिएको थियो । सो अवसरमा प्रदेश सांसद यसोदा कायस्थ, धरान उपमहानगरपालिकाका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, हिन्दु सनतान धर्मको प्रचारक अभियन्ता, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया