काठमाण्डौ । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा भारत सरकारको अनुदानमा निर्मित मंगलादेबी बथिङ (प्रस्तुति) सेन्टर कार्तिक २१ ग्ते मंगलबार शिक्षण अस्पताललाई हस्तान्तरण गरेको छ ।
नेपालमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सफल कार्यान्वयनको २० बर्ष पुगेको अवसरमा उक्त वर्थिङ सेन्टर हस्तान्तरण गरिएको हो । अर्थमन्त्री डा. रामशरण महत, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री श्रीमति अनिता देवी, नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले संयुक्त रुपमा उक्त वर्थिङ सेन्टर शिक्षण अस्पताललाई हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा भारतीय अनुदान सहयोग अन्तर्गत नेपालको वैतडी र मुस्ताङ जिल्लामा कुल अनुमानित लागत नेरु १३ करोडका थप तीन वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो ।

त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल नेपालको प्रतिष्ठित चिकित्सा संस्थामध्येको एक हो । नेपाल–भारत विकास सहकार्य ढाँचा अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोग नेरु ४.४०४ करोड लागतमा त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा मंगलादेवी वर्थिङ्ग सेटरको निर्माण गरिएको हो । भारत सरकारले कोभिड १९ को महामारीको समयमा उक्त अस्पतालका विभिन्न विभागलाई २ थान ४० केभिए डिजिटल जेनेरेटर, ५ वटा बस र दुई वटा एम्बुलेन्स उपलब्ध गराएको थियो । जसमध्ये एउटा एम्बुलेन्समा एड्भान्स लाइफ सपोर्टको सुविधा रहेको छ । सो अवसरमा त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालका प्रतिनिधिहरुले नवनिर्मित बर्थिङ्ग सेन्टर नर्सहरुद्वारा रेखदेख गरिने बताउनु भएको थियो । नेपालका अन्य क्षेत्रमा कार्यान्वयनका लागि नव निर्मित वर्थिङ्ग सेन्टरले नमूना वर्थिङ्ग सेन्टरका रुपमा काम गर्ने र मातृ मृत्युदर घटाउन मद्धत पुग्ने बताउनु भएको थियो । स्थानीय तहमा कार्यरत नेपाली संस्थामार्फत भारतको अनुदान सहयोगमा साना विकास परियोजनाको कार्यान्वयन गर्न नेपाल सरकार र भारत सरकारबीचको द्विपक्षीय सम्झौतामार्फत वि.सं. २०६० कार्तिक २१ गते उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शुरुवात गरिएको थियो । जसलार्इ पहिला साना विकास आयोजनाको नामले चिनिन्थ्यो । यी परियोजनाहरु नेपालसँगको विकास साझेदारीको नविन एवम् महत्वपूर्ण अंशको रुपमा रहेको छ । नेपाल सरकारको प्राथमिकतामा रहेका क्षेत्रहरुमा पूर्वाधार निर्माण गरी नेपालका भुइतहका मानिसहरुको जीवन स्तर सुधार्न यस्ता परियोजनाहरुको क्रमश ः कार्यान्वयन गरिएको हो ।
बर्थिङ्ग सेन्टर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय राजदुत नविन श्रीवास्तवले विगत २० बर्षमा उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनको यो यात्रा निक्कै सफल रहेको बताउनु भएको थियो । सन् २००३ यता शिक्षा, स्वास्थ्य, सडक तथा पुल, नदी प्रशिक्षण, खानेपानी, विद्युत, सिँचाई, सँस्कृति, समाज कल्याण जस्ता विविध क्षेत्रमा करिब ५५० वटा परियोजना यस ढाँचा अन्तर्गत अघि बढेकोमा राजदुत श्रीवास्तवले सन्तोष व्यक्त गर्नुभएको थियो । उहाँले यस्ता परियोजनाले मानिसको जीवनमा प्रत्यक्ष प्रभाव पारेको समेत बताउनुभयो । ५५० परियोजनामध्ये ४८० परियोजनाहरु सम्पन्न भइसकेका छन् भने बाँकी निर्माणाधीन अवस्थामा रहेका छन् । विगत २० बर्षको अवधिमा नेपाल–भारत विकास सहकार्य अन्तर्गत नेपालका हरेक १ दिनमा एक भन्दा बढी नयाँ परियोजना वा हरेक बर्ष २७ वटा भन्दा बढी परियोजना कार्यान्वयन हुने गरेको दृष्टान्त दिँदै राजदुत श्रीवास्तवले नेपाल सरकारको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै भविष्यमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनलाई अझ व्यापक र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले भनुभयो यस्ता उच्च प्रभाव सामुदायिक विकास परियोजनाले विविध क्षेत्रलाई समेट्नुका साथै नेपालका धेरै ठाउँहरुमा फैलिएको छ । नेपालका सबै प्रदेशमा उच्च प्रभाव सामुदायिक विकास परियोजनालाई अघि बढाइएको जानकारी दिँदै राजदुत श्रीवास्तवले भन्नुभयो कोशी प्रदेशमा ८४, मधेश प्रदेशमा ८१, बागमति प्रदेशमा १०५, गण्डकी प्रदेशमा ६२, लुम्बिनी प्रदेशमा ६०, कर्णाली प्रदेशमा १४ र सुदुर पश्चिम प्रदेशमा ४१ वटा परियोजनाहरु सञ्चालित रहेका छन् । यी परियोजनाहरु एक भन्दा बढी प्रदेशमा फैलिएका १०७ परियोजना बाहेकका हुन् ।
यसैगरि अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विकास पूर्वाधार निर्माणमा निरन्तर सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिनु भएको थियो । उहाँले उच्च प्रभाव सामुदायिक विकास परियोजना भारत र नेपालबीचको विकास साझेदारीको आधारशिला भएको बताउनुभयो । नेपाली जनताका जीवकोपार्जनमा प्रभाव पार्ने यस्ता परियोजनाको कार्यान्वयनका लागि नेपाल सरकारको पूर्ण सहयोग रहने अर्थमन्त्री डा. महतले सुनिश्चतता दिलाउनु भएको थियो । यसैगरि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री श्रीमति अनिता देवीले यस्ता परियोजनाको मुख्य पक्ष भनेकै छोटो समयमा निर्माण सम्पन्न भई प्रतिफल दिने र स्थानीय तहको आर्थिक विकासमा यसले खेल्ने भूमिका रहेको बताउनुभयो । उहाँले समेत भारत सरकारलाई सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । उहाँले उच्च प्रभाव सामुदायिक विकास परियोजना आकारमा सानो भएपनि आम नेपाली जनताको जीवनमा ठूलो प्रभाव पारेको र समुदायमा परिवर्तन ल्याएकोले यसलाई उच्च प्रभावकारी परियोजना भन्नु उपयुक्त हुने बताउनुभयो ।
प्रत्येक बर्ष आफ्नो स्वतन्त्रता र गणतन्त्र दिवसको उपलक्ष्यमा भारत सरकारले स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुलाई एम्बुलेन्स र स्कुल बस उपहार स्वरुप प्रदान गर्दै आएको छ । हालसम्म नेपालका विभिन्न भागका लाभार्थीहरुलाई ९७४ वटा एम्बुलेन्स, २३४ वटा स्कुल बसहरु उपहार स्वरुप प्रदान गरिएको छ । प्रत्येक हप्ता एउटा एम्बुलेन्स र प्रत्येक महिना एउटा बस उपहार स्वरुप प्रदान गरिदै आएको छ । यी सेवाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको छ । यो पहलले नेपालका दुर्गम क्षेत्रमा बसोबास गर्ने भुइँतहका मानिसहरुलाई समेत जोडेको छ ।
हस्तान्तरण कार्यक्रममा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनको विगत २० बर्षको यात्रालाई िचत्रण गर्ने स्रव्य दृष्य समेत देखाइएको थियो ।
