धरान १४ को जलाधार क्षेत्रमा वृक्षरोपण

धरान । धरानमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रम संस्कतिको विकास गरेपछि वडाहरुले यसको अनुशरण गरेका छन् । मेयर साम्पाङले शनिवारलाई श्रमबार घोषणा गरेर जलाधार क्षेत्रमा वृक्षरोपण गर्ने, खानेपानीको मुहान संरक्षण गर्ने लगायतका धेरै कामहरु गर्दै आउनु भएको छ । यसै अनुरुप धरान उपमहानगरपालिका वडा नं. १४ ले पनि शनिवारलाई श्रमबार घोषणा गरेर आफ्ना वडामा रहेका मठमन्दिर, जलाधार क्षेत्रको संरक्षणमा लागेको हो ।


गत शनिवारबाट वडाले धरान १४ मा रहेका जलाधार क्षेत्रको संरक्षण अभियान शुरु गरेको छ । गत हप्ताको शनिवार धरान १४ मा रहेका सेउती खोलामा तटबन्धन लगाउने कामबाट शुरु गरेको यो अभियान यो हप्ता भने खानेपानीको मुहान सरसफाइ गर्ने काम गरेको हो । उनीहरुले विजयपुरमा तीनधारेको खानेपानी मुहान सरसफाइसँगै आवश्यक अनुसारको बोट विरुवा रोपेका हुन् । वडाले वडामा रहेका १२ वटा टिएलओ, विजयपुर जलाधार तीनधारे खानेपानी उपभोक्ता समतिसँग सहकार्य गरेर संरक्षणको काम शुरु गरेको हो । तीनधारे हिउँदको समयमा  धरानमा चरम खानेपानी अभाव हुदा धरानेहरुको लागि खानेपानीको आपूर्ति गर्ने मुहानको रुपमा लिएको छ । अभावका समयमा धरानका अधिकांश वडाले यहाँबाट पानी बाकेर पिउने गर्छन् । खानेपानी लिन आउने, नुहाउन आउनेहरुले जथाभावि फोहोर गरेर जाने तर सरसफाइ नगर्ने गरेकाले यसको संरक्षणमा लाग्न वडाले सबैलाई अनुरोध समेत गरेको छ । धरान १४ विजयपुर क्षेत्र चुरे पहाडभित्र पर्दछ । यहाँ धेरै ठाउँमा मूल फुटेर पानी उम्रिएका छन् । प्रकृतिले दिएको कुरालाई संरक्षण गर्न नसक्दा मासिदै जाने खतरा बढेकोले यसको संरक्षणका लागि पनि सबैसँग मिलेर श्रमदान थालिएको धरान उपमहानगरपालिकाका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई बताउनुहुन्छ । उहाँले तीनधारेको पानी १४ नं. वडाबासीले भन्दा पनि अन्य वडाले बढी प्रयोग गर्ने भएकोले यसको संरक्षणका लागि वृक्षारोपण गर्ने र अनावश्यक झार तथा रुखहरुको व्यवस्थापन गरिएको उहाँको भनाई छ । विगतमा मठ मन्दिरको सरसफाइमा केन्द्रित जनश्रमदान अहिले जलाधार क्षेत्रको संरक्षणमा केन्द्रित भएको छ । जनश्रमदान उचित कार्यका लागि प्रयोग गरेको खण्डमा यसले सार्थकता पाउने बुझेरै वडा कार्यालय त्यसतर्फ केन्द्रित भएको पाइएको हो ।

 

तपाईको प्रतिक्रिया