भारतीय राजदुतावासद्वारा ३४ एम्बुलेन्स र ५० वटा स्कुल बसको चाबी हस्तान्तरण

काठमाण्डौ । नेपालस्थित भारतीय राजदुतावास काठमाण्डौले आषाढ ३१ गते आइतबार नेपालका विभिन्न जिल्लाका स्वास्थ्य संघ संस्था र शिक्षण संस्थाहरुलाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बसहरु उपहारस्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले नेपाल सरकारका शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्री अशोककुमार राईको समुपस्थितिमा दुतावास परिषरमा आयोजित विशेष समारोहका बीच ती स्कुल बस र एम्बुलेन्सहरुको चाबी हस्तान्तरण गर्नुभएको थियो । भारतीय राजदुतावास काठमाण्डौले जारी गरेको विज्ञप्ती अनुसार हस्तान्तरण समारोहमा नेपालका विभिन्न जिल्लाका नगर पालिका प्रमुख, गाउँपालिकाका प्रमुख, लाभग्राही संघ संस्था तथा स्वास्थ्य संस्था र शिक्षण संस्थाका प्रतिनिधिहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु, प्रतिष्ठित समाजसेवीहरुको समुपस्थिति रहेको थियो । दुतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ नेपालको स्वास्थ्य तथा शिक्षण क्षेत्रको उच्च प्राथमिकतालाई मध्यनजर गरी भारत सरकारले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको  अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थाहरुलाई एम्बुलेन्स तथा स्कुल बसहरु प्रदान गर्दै आएको छ । उक्त हस्तान्तरण समारोहमा बोल्दै नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भन्नुभयो ‘एम्बुलेन्स र स्कुल बसको हस्तान्तरण शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा नेपाल सरकारले गरेको प्रयासलाई थप सबल, सदृढ र बलियो बनाउन नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारको लामो समयदेखिको परम्परा रहँदै आएको छ ।’ उहाँले भन्नुभयो यो कार्यक्रम भारत र नेपालबीचको बलियो विकास साझेदारीकै एक अंशको रुपमा रहेको छ । दुईदेशबीच इतिहास, विरासत बोकेको र नेपालका धेरैजसो भूभागमा फैलिएको कार्यक्रमले जनजीवनलाई सहज बनाउनुका साथै नेपालको विकास यात्रामा मुर्त प्रगति हासिल गर्न मद्दत पुग्ने विश्वास राजदुत श्रीवास्तवले गर्नुभयो ।


सो अवसरमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले भन्नुभयो भारत सरकारको सहयोगमा नेपालमा जारी विकास परियोजनाको जति प्रशंसा गरे पनि कम हुन्छ । यस्ता परियोजनाले दुई देशबीचका जनता–जनता बीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई  निरन्तर सुदृढ बनाउँदै लैजाने छ । मन्त्री राईले नेपालको हिमालदेखि तराई सम्मका विद्यालय तथा स्वास्थ्य संस्थालाई सहयोग गरेकोमा भारत सरकारको प्रंशसा गर्नुभएको थियो । हाल हस्तान्तरण गरिएका एम्बुसलेन्स र स्कुल बस सहित सन १९९४ यता भारतले नेपालका विभिन्न जिल्लामा रहेका संघ संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहार स्वरुप उपलब्ध गराइसकेको छ ।

तपाईको प्रतिक्रिया