कुनै पनि राष्ट्रको समुन्नति र समृद्धिमा त्यस राष्ट्रको शासक, राष्ट्रप्रमुख, युवाहरुको सक्रियता मेरुदण्डको रुपमा रहेको हुन्छ । शासक शारिरिक रुपमा सशक्त र सक्षम भएमा उसले सकारात्मक सोचका साथ काम गर्न सक्छ । । राष्ट्रकै लागि युवाहरुकोे सक्रियता रहेमा त्यो भन्दा अर्को सबल पक्ष केही हुन सक्दैन । तर नेपालको सन्दर्भमा यी कुराहरु फगत विरोधाभाष अवस्थाबाट अगाडि बढेका छन् । नेपालका राष्ट्रपतिकै सन्दर्भ कोट्याउने हो भने एउटा अशक्त, विरामी, अर्काको सहारामा हिड्नुपर्ने व्यक्तिलाई राष्ट्रपति बनाएर शितल निवास हुलिएको छ । जो आफै अशक्त छ, उसले मुलुकलाई कसरी सशक्त रुपमा अगाडि बढाउन सक्छ ? पछिल्लो डेढ महिनामा नेपालका राष्ट्रपति स्वदेश र विदेशका गरी पाँच पटक हस्पिटल भर्ना भइसकेका छन् । उनी चैत्र २२ गते त्रिभुवन व्रिश्वविद्यालय अन्तर्गतको शिक्षण अस्पताल, वैसाख ५ गते पुन ः शिक्षण अस्पताल, वैसाख ६ गते हृदयरोग केन्द्र, असार २ गते मनमोहन कार्डियो थेरासिमा भर्ना भइसकेका छन् । डेढ महिनामा पाँचपटक विरामी भएर अस्पताल भर्ना हुने व्यक्तिले मुलुकको समृद्धिमा कस्तो सोच पस्केलान् ? राष्ट्रपति विरामी हुनु हुँदैन भन्ने होइन । यदाकदा शारीरिक अशक्तता हुनु प्राकृतिक न्यायकै सिद्धान्तभित्र पर्छ । तर यहाँ त अब
राष्ट्रपतिलाई कुनबेला के होला भनेर राज्यको संयन्त्रहरु चौवीसै घण्टा चलायमान भएर बस्नुपर्ने अवस्था देखिनु दुःखद् पक्ष हो । के नेपालमा महत्वपूर्ण ओहदामा रोगी, अशक्तहरुलाई थन्काउने ठाउँ हो ? आफूमा शारिरिक दुर्वलता भएमा आफैले पदबाट हँट्ने इच्छाशक्ति नि देखाइँदैन ? बाँकी रहेको समयावधिसम्म राज्यका स्रोत साधन प्रयोग गरेर जीवन्त बनाइरहनु पर्ने हो ?
अर्कातर्फ जब मुलुकका होनहार युवा शक्तिहरु मुलकबाट पलायन हुन्छन् त्यसबेला मुलुकको अद्योगतितर्फको यात्रा निश्चित हुन्छ । राज्यले विगत २५ औं बर्षदेखि आफ्ना नागरिकलाई विभिन्न वहानामा दुहुन मात्र जानेको छ । उनीहरुको शिक्षा, रोजगारी आदिका बारेमा कहिल्यै सशक्त योजनाहरु ल्याउने, उनीहरुलाई मुलुकमै पसिना बगाउने वातावरण सिर्जना गर्नेतर्फ कहिल्यै चासो दिएन । आज लाखौ लाख युवा युवतीहरु शिक्षा र रोजगारीका लागि विदेशिन बाध्य भएका छन् । आफ्नो सोच अनुकूलको शिक्षा र रोजगारी मुलुकमै उपलब्ध भइदिएको भए उनीहरु विदेशिन बाध्य हुने थिएनन् । तर विडम्बना यहाँका शासकहरु आफै युवा पलायनका कारक बनेका छन् । पछिल्लो पटक त आफ्नै नागरिकलाई अनागरिक बनाइ अमेरिका पठाउने धन्दामा उनीहरु संलग्न भएको सर्वत्र जगजाहेरै छ । यो हदैसम्मको अपराध हो । विगतमा नेपालका राजाहरुले पलायन भएकाहरलाई खोजी खोजी मुलुकमा ल्याएर जिम्मेवारी दिइएको थियो । हरिभक्त कटुवाललाई, भेषबहादुर थापा लगायत हजारौलाई स्वदेश ल्याएका थिए । तर हालको अवस्था अत्यन्तै भिन्न रहेको छ । यहाँँ दक्ष जनशक्ति पलायनका लागि प्रेरित गरिन्छ । उनीहरुलाई कसरी हुन्छ मुलुकमै बस्ने वातावरण बनाउनुपर्ने होइन ?
