पाँचथर । मेचीमार्ग अन्तर्गत पाँचथरको फिदिममा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीनजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा झापा नगरपालिका–१ की १८ वर्षीया रश्मी भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरी फर्किने क्रममा शुक्रबार राति प्रदेश–१–०१–००१ च ९३४९ नम्बरको कार दुर्घटना भएको थियो । ज्यान गुमाएकी किशोरी र घाइते सबै एकै परिवारको रहेको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा मृतक भुजेलका बुबा ४५ वर्षीय राजु भुजेल, आमा ३९ वर्षीया लीला भुजेल र राजुकी दिदी ४० वर्षीया सीता भुजेल गम्भीर घाइते भएका छन ्। भाइ १३ वर्षीय राजमोहन भुजेल भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
