इटहरी । दैनिक उपभोग्य सामानदेखि अन्य झण्डै ४ लाख ५० हजार प्रकारका सामान रहेको गोरखा डिपार्टमेन्ट स्टोरमा यतिबेला दैनिक दशौ हजार ग्राहकहरुले दशैका लागि सामानहरु खरिद गर्न थालेका छन् ।
पूर्वैली ग्राहकहरुका लागि विगत २४ बर्षदेखि ‘ब्राण्ड’ बनेको गोरखा डिपार्टमेन्ट स्टोरमा आउने ग्राहकहरुको पहिलो प्राथमिकता ग्रोसरी हुने गरेको स्टोरका म्यानेजर श्रीप्रसाद गौतमले बताउनुभयो ।
म्यानेजर गौतमका अनुसार गोरखा डिपार्टमेन्ट स्टोरमा कोभिड भन्दा अगाडिकै जस्तो ग्राहकहरुको चहलपहल देखिन थालेको छ । विश्वव्यापी महामारीका रुपमा २०७६ र २०७७ सालमा फैलिएको कोभिडका कारण स्टोरको अवस्था खस्केको भएपनि हाल पूर्ववत अवस्थामा फर्किएको छ । उहाँ भन्नुहुन्छ, दशै लक्षित किनमेलका लागि यतिबेला नेपालका दुर दराजका ग्राहक, स्थानीय र भारतको विहार, बंगाल, असाम, मणिपुर, सिक्किम देखिका ग्राहक आउन थाल्नु भएको छ । बाहिरबाट आउने ग्राहकहरुले खासगरि लक्जरियस सामान, इलेक्ट्रोनिक सामान, सर्टिङ्गसुटिङ्गका कपडा, ब्राण्डेड विदेशी तथा स्वदेशी जुत्ता चप्पल, ब्राण्डेड घडीहरु खरिद गर्ने गरेको म्यानेजर गौतमले बताउनुभयो ।

सरकारले हाल लक्जरियस सामान आयातका लागि प्रतित पत्र (एलसी) खोल्न प्रतिबन्ध लगाएको सन्दर्भमा लक्जरियस सामान कसरी आयात गर्दै हुनुहुन्छ त भन्ने सवालमा म्यानेजर गौतमले भन्नुभयो सबै लक्जरियस सामानहरुमा आयात प्रतिबन्ध लागेको छैन । केही निश्चित सामानहरु मगाउन नसकिएको स्वीकार्दै उहाँले भन्नुभयो हाल चाइना, सिगापुर, थाइल्याण्ड, बंगलादेश, भारतबाट सामान आइरहेका छन् । चीनबाट आयात गरिने फुल लगायतका समानहरु पनि थोरै थोरै परिणाममा आइरहेको छ । विगतमा जुन परिणाममा समानहरु अन्य देशबाट आयात हुन्थ्यो त्यो भने हुन सकेको छैन । म्यानेजर गौतम भन्नुहुन्छ यतिबेला गोरखा डिपार्टमेन्ट स्टोरबाट खोजेको सामानै नपाएर ग्राहकहरु फर्किने अवस्थाचाहिँ छैन । गोरखा डिपार्टमेन्ट स्टोरका अन्य शाखाहरु मोरङ्गको विराटचौक, पथरी, झापाको दमकमा समेत दैनिक दशौ हजार ग्राहक दशैको किनमेलका लागि आउने गरेको गौतमले सुनाउनुभयो ।
दशैका लागि चाहिने सामान हामीसंग प्रयाप्त छ
धगोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहकरुका लागि दशै लक्षित के कस्ता योजना ल्याएको छ ? विगतमा विशेष छुटको व्यवस्था हुन्थ्यो, यसपटक के छ त्यस्तो ?
–हामीले हाम्रा ग्राहकहरुका लागि दशै लक्षित योजनाहरु विगतका बर्षहरुमा जस्तै ल्याउँदैछौ । आगामी असोज १ गतेबाट ग्राहकले खरिद गरेका सामानमा १० प्रतिशतसम्म छुट दिने व्यवस्था गर्दैछौं । ग्रोसरीमा ५ प्रतिशत, अन्य सामानमा १० प्रतिशत छुट दिने योजना आउँदैछ भने पेय पदार्थ (रक्सी) मा छुटको व्यवस्था छैन ।
ग्राहकहरुको माग अहिले सबैभन्दा ज्यादा कस्ता वस्तुमा देखिएको छ ?
–दशै आएर नै होला ग्राहकहरुको माग नै अहिले ग्रोसरीमा देखिएको छ । अरु समानको विक्री अत्यन्तै न्यून छ ।
सरकारले एलसी खोलेर सामान आयात गर्न बन्द गरेपछि अन्य देशबाट समान आउन बन्द भएका छन् । बाहिरबाट एलसी खोलेर आउने सामान के कस्ता थिए ?
–लक्जरियस आइटमहरुचाहिँ बन्द भएको हो । अन्य सामानहरु त आइनै रहेको छ ।
लक्जरियसमा के के पर्थे हामीले ल्याउँदा ?
–खेलौनाहरु, फूलहरु लगायत रहेका थिए । केही आइटम रोकिएको छ ।
विगत २४ बर्षदेखि डिपार्टमेन्ट स्टोर सञ्चालन गर्दै आउनु भएको छ । विगत र वर्तमानमा के फरक पाउनु भएको छ ?
–अहिले मानिसहरुसँग पैसाको कमी भएको छ । विगतको तुलनामा सर्वसाधारणको आम्दानी घटेको छ । त्यसमाथि बैंकहरुले लगानी नगरी ठप्प बनाइदिएका छन् । बैंकले लगानी नगरेपछि कारोवार नै ठप्प भएको छ ।
विगतमा भन्दा यतिबेला बजार खस्किएको छ ?
–खस्किएको मात्र हैन इतिहासमा सबैभन्दा धेरै खस्किएको छ ।
गोरखा डिपार्टमेन्ट स्टोरले आफ्नै उत्पादनलाई पनि जोड दिएको छ । आफ्ना उत्पादनहरु के के छन् ?
–गोरखा डिपार्टमेन्ट स्टोरको प्रमुख उत्पादन मिठाइका परिकारहरु हुन् । जुन दूधबाट उत्पादन हुने अर्थात डेरी प्रोडक्टहरु । त्यसपछि बेकरीका उत्पादन, आर्गनिक साग सब्जी आदि हुन् ।
पानी पनि उत्पादन गरेको थियो हैन र ?
–पानी छैन अहिले । अहिले अटोमेटिक प्लान्ट र मिनरल वाटरलाई मात्र दिने भएपछि हामीले बन्द ग¥यौं । यसका अलवा हाम्रो आफ्नै डेरी उद्योग छ ।
हाल तपाईले आफै भन्नुपर्दा कहाँ कहाँका ग्राहकहरु आउँदै हुनुहुन्छ ?
–हामीलाई अहिले अलि अप्ठरो स्थिति भइरहेको छ । इटहरीमा पार्किङ्गको समस्या छ । चौकबाट ३ सय मिटरसम्म पार्किङ्ग गर्न नपाइने नियम बनाइएको छ । विकल्प दिएर त्यसो गर्नुपथ्र्यो । बाहिरबाट आउने ग्राहकहरुलाई पार्किङ्गको समस्या छ । यद्यपि ग्राहकहरु अन्यत्र सवारी साधन रोकेर भएपनि समान खरिद गर्न आइरहनु भएको छ ।
अन्य शाखाहरुको अवस्था कस्तो छ ?
–अहिले ठिकै छ । अरुको भन्दा राम्रो छ तर सन्तोष जनक छैन ।

