धरान । विगत केही समयदेखि सुस्ताउदै गएको धरानको साहित्यिक गतिविधि विस्तारै लयमा फर्कन थालेको छ । अन्तर्राष्ट्रिय परदेशी साहित्य समूह भारतको आयोजना र धरान १३ स्थित साहित्य कला सँस्कृति प्रतिष्ठानको सहयोगमा आज वडा समितिको सभाहलमा बृहत साहित्य विमर्श तथा पुस्तक परिचर्चा हुने भएको छ ।

अपरान्ह ४ बजेदेखि आरम्भ हुने उक्त कार्यक्रमका आकर्षक व्यक्तित्व भीम उदाश रहनु हुने आयोजकले जनाएका छन् । साहित्यिक स्रष्टा उदाश विगत तीस बर्ष यता अमेरिका, स्विजरल्याण्ड, पाकिस्तान, इटली, रसिया, म्यानमार, जोर्डन, भारत, मोजाम्बिक, दक्षिण अफ्रिका, इरान लगायतका देशमा संयुक्त राष्ट्र संघ अन्तर्गत रही सेवा गरिसक्नु भएको पूर्व राजदूत पनि हुनुहुन्छ । कार्यक्रमका विशिष्ट अतिथिका रुपमा रहनु भएका साहित्यिक अनुरागी एवम् वडा नं. १३ का अध्यक्ष नेत्र काफ्लेसँग साहित्यिक विमर्श तथा पुस्तक परिचर्चाका सम्बन्धमा जिज्ञासा राख्दा उहाँले भन्नुभयो हामीले साहित्य कला, सँस्कृति प्रतिष्ठानमार्फत वडा समितिको सभाहाल उपलब्ध गराएका हौं । मुर्धन्य साहित्यकारहरुको उपस्थिति रहने उक्त कार्यक्रममा पुस्तक विमोचन हुने भएको छ । कार्यक्रममा अर्को विशिष्ट अतिथि प्रा.डा टंक न्यौपाने रहनु भएको छ । कार्यक्रमको सान्दर्भिकताका सम्बन्धमा बुझ्न प्रा.डा. न्यौपानेसँग सम्पर्क राख्दा सम्पर्क हुुन सकेन । यहाँ स्मरणीय कुरा के छ भने साहित्य, कला, संस्कृति प्रतिष्ठनले गत बर्ष अन्तर्राष्ट्रिय धरान साहित्यक तथा संस्कृति पर्यटन महोत्सवको आयोजना गरेको् थियो । वि.सं. २०७७ सालमा स्थापित यस संस्थाले दोस्रो सृंखलाको तयारी यतिबेला अगाडि बढाएको छ ।
