नेपाली चित्रकलाका शिखर व्यक्तित्व एवम् प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य नेपालीको निधन

धरान÷नेपाली आधुनिक चित्रकला क्षेत्रका शिखर व्यक्तित्व एवम् नेपाल प्रज्ञा प्रतिष्ठानमा आजीवन सदस्य उत्तम नेपालीको गत बुधबार भएको निधनप्रति धरानका चित्रकला क्षेत्रका कालाकारहरुले गहिरो दुःख व्यक्त गरेका छन् ।
विगत चार दशक भन्दा लामो समयदेखि धरानलाई कार्यक्षेत्र बनाइ चित्रकला क्षेत्रमा समर्पित रहँदै आउनु भएका प्रनोद दत्त भन्नुहुन्छ, वि.सं. २०६१ सालमा शशी साह र उत्तम नेपाली दम्पत्ति सहित धरानको चित्रकला क्षेत्रलाई कसरी ऊर्जा प्रदान गर्न सकिन्छ भनेर धरान आउनु भएको थियो । त्यसबेला उहाँहरु चित्रकार कर्ण मस्केकोमा आउनु भए पनि उहाँ काम विशेषले बाहिर जानुपर्ने भएकोले आफ्नो घरमा आएको स्मरण गर्नुहुन्छ । त्यसबेला उहाँहरुले धरानका कलाकार प्रनोद दत्त, स्व. स्वयम्प्रकाश श्रेष्ठ, शिशिर योञ्जन, मुकुन्द श्रेष्ठ, साहित्यकार स्व. बद्री पलिखे कला साहित्यमा रुची राख्नुहुने कृष्ण बज्गाई, सुनिल नेपाल लगायतसँग गहिरो विमर्श गर्नुभएको थियो ।


त्यसबेलाको स्मरण गर्दे कलाकार प्रनोद दत्त भन्नुहुन्छ उत्तम नेपालीलाई गजल असाध्यै मन पथ्र्यो । खासगरी उहाँ जगजित सिंहका गजलहरु सुन्नुहुन्थ्यो । धरान आउँदा पनि उहाँले सिंहका गजल टेप गरेर ल्याउनु भएको थियो । दोस्रो पटक नेपाली स्व. कलाकार स्वयम्प्रकाश श्रेष्ठको एकल चित्रकला प्रदर्शनीको उद्घाटन गर्न प्रमुख अतिथिको रुपमा आउनु भएको थियो ।
वि.सं. १९९४ साल वैसाख १८ गते काठमाण्डौको किलागल टोलमा जन्मनु भएका नेपालीमा पछिल्लो समय मुटु सम्बन्धी समस्या देखिएको थियो । उपचारकै क्रममा गत बुधबार उहाँको मनमोहन कार्डियोथेरासिक एण्ड भास्कुलर सेन्टरमा निधन भएको थियो । कलाकारितासँगै लेख, रचना, कविताहरुमा रुचि राख्नु हुने नेपालीका आलेखहरु २०२१ सालमै मधुपर्कमा प्रकाशित भएका थिए ।
२०६१ सालमा विना शीर्षक कविता संग्रह समेत प्रकाशित गर्नुभएको थियो । उहाँ राष्ट्रिय प्रतिभा पुस्कार २०५४ र सुप्रवल जनसेवा तृतीय पदकबाट विभूषित हुनुहुन्थ्यो । निजामति सेवाको समेत लामो अनुभव बटुल्नु भएका नेपालीका पेन्टिङ अक्सर गरेर व्याक ग्राउन्ड धमिलो, बीच बीचमा धर्सा लाइन, मीठो रातो रंगको प्रयोगमा एब्स्ट्यक र रियलस्टिक पेन्टिङ रहेका छन् ।

तपाईको प्रतिक्रिया