फागुन ९ गते जबरजस्ती चलाउछु–सभामुख

धरान÷प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईका विरुद्धमा पौष १२ गते दर्ता गरिएको अविश्वासको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर सांसदहरुको अवरोधका कारण आइतबार बोलाइएको प्रदेशसभाको बैठक स्थगित भएको छ ।
मुख्यमन्त्री राईका विरुद्ध नेकपाकै ३७ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । औपचारिक रुपमा पार्र्टी विभाजन भइनसकेको अवस्थामा माधव–प्रचण्ड समूहले दर्ता गराएको अविश्वास प्रस्ताव टेवल गर्न नदिने रणनीतिमा ओली पक्षीय सांसदहरु रहेका थिए । प्रदेशसभा संसदमा यतिबेला कुनै विजनेश छैन । बैठक अविश्वासकै प्रस्तावमा केन्द्रित हुने र वहुमत सदस्यले राइका विरुद्धमा अविस्वासको मत जाहेर गर्ने निश्चित भएपछि प्रस्तावलाई टेबुलै गर्न नदिएको सांसद इन्द्र आङबुहाङले बताए ।
यस भन्दा अगाडि माघ ७ गतेको वैठक पनि सभामुख भण्डारीले स्थगित गरी माघ २५ का लागि बोलाउनु भएको थियो । यसै सम्बन्धमा सम्पर्क राख्दा सभामुख भण्डारीले भन्नुभयो झण्डै चारघण्टासम्म कार्य व्यवस्था समितिको बैठक बसेर छलफल गर्दा पनि दुवै पक्ष मिल्न नसकेको र आगामी फागुन ९ गते बोलाइएको बैठक जबरजस्ती चलाउनपर्ने बाध्यता देखिएको उहाँले सुनाउनुभयो । संसदलाई बन्धक बनाएर राख्न सकिदैन । आगामी वैठक चल्छ र अवरोध भएपनि जबरजस्ती चल्छ । आइतबार बसेको बैठक मुस्किलले १५ मिनेट चलेको थियो । ११ बजे बोलाइएको बैठक ३ बजेर ५८ मिनेटमा मात्र शुरु भएपछि स्थगित भएको हो ।
प्रदेशसभामा सभामुख प्रदीप भण्डारीको भूमिकालाई लिएर ओली पक्षका बाहेक अन्य सम्पूर्ण सांसदहरुले आशंका व्यक्त गरेका छन् । नेपाली काँग्रेसका सचेतक केदार कार्कीले भने भण्डारीले कार्यव्यवस्था परामर्श समितिमा गरेको सहमति विपरीत भूमिका खेलेको बताउनुभयो । संसदको बैठकमा ओली पक्षका ६ जना सांसदले विरोध गर्दैमा संसदको बैठक स्थगित गर्नुपर्ने कारणै थिएन । आफूहरुले २१ जना उठेर यसभन्दा अगाडि संसद अवरोध गर्न खोज्दा स्थगित नगर्ने अहिले ६ जनाले गर्दा स्थगित गर्ने भन्दै आक्रोस समेत पोख्नुभयो । प्रदेश नं. १ मा ९३ जना सांसद रहेका छन् । जसमध्ये सिंगो नेकपाको ६७ जना छन् ।हाल अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदको संख्या ३७ रहेका छन् । मुख्यमन्त्री राईको पक्षमा हाल २८ जना सांसद छन् । २१ जना काँग्रेसका रहेका छन्, दुई जना राप्रपा र लिम्बुवान मञ्च नेपाल, जनता समाजवादी पार्टीका तीन जना, एकजना सभामुख र एक जना उपसभामुख रहेका छन् ।

तपाईको प्रतिक्रिया