दमक÷पूर्व राजा ज्ञानेन्द्र साह यतिबेला पूर्वाञ्चल भ्रमणको क्रममा झापाको दमक आउनु भएको छ । पौष १२ गते बुद्ध एयरको नियमित उडानबाट झापाको चन्द्रगढी विमान स्थलमा अवतरण गरी दमकको हिमालय टि स्टेटमा झण्डै एक महिनाको बसाइका लागि पूर्व राजदम्पत्ति आइनपुग्नु भएको हो ।
मुलुक राजनैतिक रुपले शून्यतातर्फ उन्मुख भएको अवस्थामा राज दम्पत्तिको पूर्वाञ्चलको दमक बसाईले राजनैतिक दलहरुमा छट्टपट्टाहट शुरु भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहका निजी सचिव सागर तिम्सिनाले दिनुभएको जानकारी अनुसार मौसुफको भ्रमण नितान्त निजी भएको बताउनुभयो । उहाँका अनुसार भर्खरै झापाको दमक स्थित हिमालय टि स्टेटमा आउनु भएका मौसुफको हाल कोही कसैसँग भेटघाटको कार्यक्रम समेत तय भएको छैन । उहाँले भन्नुभयो, मौसुफको बसाई झण्डै एक महिनाको हुनेछ ।
निजी सचिव तिम्सिनाले भन्नुभयो मौसुफ जनताप्रतिको ममताले, झापा दमकको अर्थात पूर्वाञ्चल भ्रमण त्यहाँको वस्तुस्थितिको आंकलन गर्न मौसुफको भ्रमण भएको हो । राजदम्पतिको चन्द्रगढीमा अवतरण हुनासाथ हजारौ मानिसले जय जयकारको नारा लगाएका थिए । उनीहरुले राजा आउ देश बचाउ We want King को नारा लगाउदै राजदम्पत्ति सवार गाडीसँगै दमक आइपुगेका थिए ।

पूर्व राजदम्पत्तिको भ्रमणलाई लिएर राजनैतिक बृत्तभित्र यतिबेला अनेकौ खिचडी पाक्ने गरेको छ । हुन त यस भन्दा अगाडि पनि पूर्व राजा ज्ञानेन्द्र शाहको जुन जुन स्थानमा सवारी हुन्थ्यो त्यसलाई लिएर सत्ताको बागडोर समातेर बसेकाहरुको कपोलकल्पित टिप्पणीहरु नहुने गरेको भने होइन । राजनैतिक दलहरुले मुलुक सञ्चालनमा असक्षमता देखाएको, जनमतको कदर गर्न नसकेको, जन अपेक्षामा उदाशिनता देखाएको, मुलुकको आन्तरिक मामलामा विदेशी हस्क्षेप निम्त्यिाएको लगायतका अनेकौ कारण आम नेपाली जनता मुलुकमा पुन ः राजसंस्थाको अपरिहार्यता देख्न थालेका छन् । पूर्व राजाको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएपछि राजनैतिक दलहरु हतास मानसिकतामा पुगेको स्वय् राजनैतिक दलका नेताहरुको टिप्पणी बाहिर आउनुले प्रष्ट पारेको छ ।
पूर्व राजा पूर्वाञ्चलको एक महिनाको बसाईको क्रममा दमक आएपछि राजनैतिक दलका स्थानीय नेता कार्यकर्ताहरु मात्र नभएर आम सर्वाधारण उत्साहित भएको देखिएको छ । उनीहरुले राजाको पक्षमा शक्ति प्रदर्शन गर्ने तयारी समेत गरेका छन् । यही पौष २२ गते राष्ट्रवादी युवाहरुले शक्ति प्रदर्शनको तयारीलाई तिब्र बनाएका छन् । शिव सेनाका एक जिम्मेवार व्यक्ति सुरज कर्णेलका अनुसार पौष २२ गते इटहरीदेखि विराटनगरसम्म विशाल मोटर साइकलको आयोजना हुने भएको छ । यसलाई पूर्वाञ्चलबासीहरुले राजाको पक्षमा स्वस्फूर्त शक्ति प्रदर्शनको रुपमा अथ्र्याएका छन् । सुरज कर्णेल यस भन्दा अगाडि पूर्वा राजा ज्ञानेन्द्र शाहको पक्षमा देशका विभिन्न स्थानमा हुने गरेको प्रदर्शनमा सहभागी हुदै आएका युवा हुन् । उनले नेपालगञ्ज, काठमाण्डौ, विराटनगर, जनकपुर, गौर, वीरगञ्ज लगायतका स्थानमा भएका प्रदर्शनमा आफ्नो दब्रिलो भूमिका निर्वाह गरेका थिए । यतिमात्र नभएर पूर्व राजा ज्ञानेन्द्र शाहलाई सुरक्षा दिन शिव सेना नेपालले निर्वाह गर्दै आएको भूमिकामा अग्र्रपंक्तिको घेरामा कर्णेलको सदैव उपस्थिति रहने गरेको छ ।
पूर्व राजा ज्ञानेन्द्र शाहसँग हाल कसैसँग भेटघाटको कायक्रम तय नगरिएको भए पनि एक हप्तापछि भेटघाटको कार्यक्रम अगाडि बढ्ने स्रोतले जनाएको छ । भेटघाटका लागि आम सर्वसाधारण मात्र नभएर विभिन्न राजनैतिक दलका नेता, कार्यकर्ता, विभिन्न सामाजिक संघ संस्थाका प्रतिष्ठित व्यक्तिहरु, उद्योगी, व्यवसायीहरुले चासो देखाउदै सम्पर्क सुत्रको खोजीमा लागेका छन् । पूर्व राजाका निजी सचिव सागर तिम्सिना भन्नुहुन्छ तत्कालै मौसुफसँग भटघाटको कुनै कार्यक्रम तय गरिएको छैन । यद्यपि केही दिन पछि भेटघाटको क्रम चल्ने उहाँले संकेत दिनुभयो । हाल पूर्व राजदम्पत्तिमात्र हिमालय टि स्टेटमा रहे पनि एक हप्ता पछाडि पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाह समेत परिवारका साथ दमक आइपुग्ने बताइएको छ ।
