केशव अर्याल
झण्डै ६ महिना अगाडि जिल्ला समन्वय समितिको कार्यालय पाँचथरमा सरुवा भएर आएपछि जिल्लाको पर्यटकीय क्षेत्रहरुको फुर्सदको समयमा भ्रमण गर्ने मेरो एक प्रकारको सौख नै भइसकको छ । धनकुटाको छथर गाउँपालिकाबाट पाँचथर सरुवा हुँदा मनमा एक प्रकारको द्विविधा भएको थियो । सरकारी जागिर, पठाएको ठाउँमा जानै पर्ने बाध्यालाई मनन गर्दै आफ्ना झोली झ्याम्टा बोकेर म पाँचथर आइपुगें ।
सडक सञ्जालले सुगम बनाएको पाँथथरको सदरमुकाम फिदिम गहिरो ठाउँमा रहेकोले होला जिल्लाका अन्य स्थानमा भन्दा ज्यादा गर्र्मी र हिउँदमा उति साह«ो जाडो नहुँदो
रहेछ । पहाडी सदरमुकाम भएपनि आधुनिकताले गाँज्दै लगेर होला स्थानीयका हाउभाउ, रहनसहन, लवाई देशका अन्य सहरको भन्दा कम महसुस भएन । परम्परागत घरहरु विस्थापित भएर कंक्रिटका घरहरुले स्थान लिइसकेको रहेछ ।
गत भाद्र महिनामा एकाएक तिम्बु पोखरीको साथीहरुले चर्चा गरे । स्वर्गकै टुक्रा भएको उनीहरुले वर्णन गरेपछि पाँचथर र ताप्लेजङ्गको सीमामा पर्ने तिम्बु पोखरी घुम्ने योजना बन्यो । मध्य बर्षाको समय भए पनि तिम्बु पोखिरी अत्यन्न्तै ठण्डा हुने भएकोले सोही अनुसार बन्दोबस्तीका सामान बोक्नुपर्ने, मानव बस्ती नभएकोले राशन पानीको व्यवस्था गरेरै हिड्नुपर्ने भयो । भाद्र ८ गते हामो यात्रा तिम्बु पोखरीतिर सोझियो ।
तिम्बु पोखरीको यात्रा


पाँथरको सदरमुकाम फिदिमबाट सगरमाथा भन्दा आधा उचाइमा रहेको अर्थात चार हजार चार सय सत्चालीस मिटरको उचाइमा रहेको तिम्बु पोखरी यात्रा शुरु भयो । चीसो अत्यन्तै । पोखरी पुग्दा म लगायतका साथीहरुलाइ चीसोले लेक लाग्यो ।
तिम्बु पोखरी त्यति उचाइमा भएपनि त्यो पानी कसरी जम्मा भयो भन्नेमा सबैका कौतुलहता जाग्यो । कावेली खोला तिम्बु पोखरीबाटै शुरु भएको रहेछ । अर्थात कावेली खोलाको उदगम् स्थल तिम्बु पाखेरी नै रहेछ । पोखरी भन्दा उत्तरतिर करिब १० मिटर अग्लो एउटा डाँडो छ । नेपाललाई प्रकृतिले सिंगारेको अनुभूति भयो । तिम्बु पोखरी भारतको सिक्किम राज्य सीमानामा पर्दो रहेछ । पोखरीको डिलमा उभिएर पूवूतिर फर्केर थुक्दा सिक्कम र पश्चिमतिर थुक्दा नेपाल, विचित्रको ठाउँ ।
तिम्बु पोखरी पाँथर र ताप्लेजुङ जिल्लाको सीमामा पर्दो रहेछ । जाने बाटो अत्यन्तै विकट । तिम्बु पोखरी मानव बस्ती रहित छ । केही ठाउँ चौरी गोठहरु छन् । पोखरी जानेहरुले तिनै चौरी गोठमा सुत्नुपर्ने हुन्छ । चौरीका छालामा सुत्नुपर्ने, कुनै सुविधा सम्पन्न होटल रेष्टुरेन्ट कही कतै छैनन् । बस त्यही चौरी गोठहरु हुन । हामी तीन रात त्यसरी चौरीका गोठमा बस्दै किम्बु पोखरी आइपुग्यौं । चौरी गोठमा बस्दा चौरीका गोठालाहरुसँग बसेर खाना खाइयो । उनीहरुले गोठ कसरी चलाएका रहेछन् भनेर बुझियो । त्यस्तो विकट ठाउँमा गोठ राखेर पनि उनीहरुको आम्दानी सुन्दा म लगायतका साथीहरु दंग परेका थियौ । उनीहरु महिनाको एक लाख भन्दा बढी कमाउँदा रहेछन् । एकजनाको २३ वटा चौरी दुहुना रहेछन् । उनले दैनिक ५ केजी छुर्पी बनाउँदा
रहेछन्,, नुवाउनी घ्यु १०–१२ केजी बनाउँदा रहेछन् । हामीले त्यही घ्यु किन्दा पनि ९ सय रुपैया केजीले लिनुप¥यो । उनीहरुलाई बजारको कुनै चिन्ता रहेनछ । सबै विदेशतिर जाँदो रहेछ । काठमाण्डौका व्यापारी छुर्पी र घ्यु लिन गोठसम्मै पुग्दा रहेछन् । सम्भ्रान्त परिवारले चौरीकै घ्यु चलाउदा रहेछन्, विदेश सेल गर्दा रहेछन् ।
लेकमा जडीबुटी खाएका, कुनै प्रकारको दाना नखुवाइएका त्यस्ता छुर्पी र घ्युको ठूलो माग रहेछ । घरमा पालेका विकासे गाई जस्ता होइनन् न तिनलाई खोले खुवाइन्छ न अन्य कुरा खुवाइन्छ । जंगलमा जडीबुटी खाएर हुर्किएका रहेछन् । छुर्पी विदेशमा समेत निर्यात हुँदो रहेछ । सिजन अर्थात वैसाखदेखि असोजसम्म कलेक्सन गर्न २५ देखि ३० हजार सम्म दिएर स्थानीय युवाहरुलाई काममा राखेका हुँदा रहेछन् । त्यस्तालाई विचौला भन्दा हुन्छ । ती छुर्पी सिधै अमेरिका बेलायतका कुकुरका लागि निर्यात हुँुदो रहेछ । त्यहाँका कुकुरलाई खुवाउन अनुपयुक्त छ, क्वालिटी राम्रो छैन भने हाम्रो स्थानीय बजारमा पठाउँदा रहेछन् । खास गरेर राम्ररी घामले नसुकेको, ढुसी परेका चाहिँ हाम्रो बजारमा जाँदो रहेछ । हाम्रो बजारमा पाइने पाकेटको छुर्पी त्यस्तै ढुस्सी
परेको, विदेश जान क्वालिटी नपुगेका मात्र हुन्छन् । तिम्बु पोखरीभन्दा पूर्व सिक्किम राज्यको वन्य जन्तु संरक्षण क्षेत्र छ । त्यहाँका गोठालाहरु राशन तथा अन्य सामान लिन चौरी लिएर सिक्किम जाँदा रहेछन् । दुई दिन पछि फर्केर आउँछन् । अहिले लकडाउनले गर्दा प्रवेश निषेध छ । गोठलाहरु पनि उति साह«ो आजकल सिक्किमतिर जाँदैनन् । ।
तिम्बु पोखरीमा कञ्चनजंघा, मकालु हिमालको सुन्दर तस्विर देखिन्छ र पाँच मिनेट भन्दा बढी चीसोले उभिन सक्ने अवस्था हुँदैन । सिक्किम प्रहरे सीमा सुरक्षाका लागि आइरहने चौरी गोठालाहरु बताउँछन् । नेपालका तर्फबाट कुनै प्रकारको सीमा सुरक्षाको व्यवस्था छैन । पाँथरका केही स्थानमा विओपी स्थापना भएको छ अबचाहिँ जान्छन् कि ? अहिले हिउँले पूरै ढाकिएको छ । गोठहरु त्यहाँबाट सारेर अन्यत्र लगिसकेका छन् । अर्थात अहिले त्यो ठाउँ मानव बस्तीविहीन भएको छ ।
ओझेलमा परेको धर्तिको स्वर्ग
प्रदेश नं. १ को ताप्लेजुङ्गमा रहेको पाथीभरा मन्दिरपछि पाँचथरको तिम्बु पोखरी पर्यटकहरुका लागि अत्यन्तै महत्वपूर्ण स्थान हो । ताप्लेजुङ्गको सिदिङ्गवा गाउँ पालिका र पाँचथरको याङ्गवरक यात्रीहरुका लागि तिम्बु पोखरी एउटा महत्पूर्ण गन्तव्य हो । सडक यातायातले नछोएकै कारण पाँथरको फिदिमबाट तिम्बु पोखरी पुग्न तीन दिन लाग्छ ।
पूर्वको गोसाइकुण्ड
तिम्बु पोखरी एकपटक पुगेर आउनेहरुले त्यहाँको वर्णन गर्दा गोसाइकुण्डसँग दाँज्ने गर्छन् । विकट भौगोलिक स्थानमा रहेको तिम्बु पोखरी समुन्द्री सतहदेखि चार हजार चारसय सत्चालीस मिटरको उचाइमा छ ।
पोखरीको लम्बाई चार सय मिटर छ भन्ने चौडाई दुई सय मिटर रहेको छ । पोखरी कति गहिरो छ भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन । यहाँ रोचक कुरा त के छ भने पाँचथर र ताप्लेजुङ जिल्लाको सीमामा पर्ने भएकोले दुवै जिल्लाले आफ्नो सम्पदाको रुपमा तिम्बु पोखरीलाई लिने गरेको पाइन्छ । पोखरीलाई आठ महिनासम्म हिउँले ढाक्ने भएपनि पोखरीको पानी जम्दैन । जेठदेखि भाद्र महिनामा त्यहाँ परेको हिउँ पग्लने भएकोले पर्यटकहरुका लागि यही महिना उपयुक्त हुन्छ । अन्य समयमा त्यहाँ पुग्न सहज छैन । बाटोमा स–साना जुकाहरुले आक्रमण गरिरहन्छन् । जुका निकालेर रगतपच्छे हातहरु पुछदै हिड्नुपर्छ । पोखरीका आसपास अन्य स–साना अनगिन्ती पोखरीहरु पनि रहेका छन् ।
तिम्बु पोखरीको आसपासमा रहेका पोखरीहरुमा सूर्यकुण्ड, दूध कुण्ड, शिव पोखरी, हाँस पोखरी, मयुरपोखिरी, निरपोखरी लगायका अठारवटा पोखरीहरु छन् । तर यी तिम्बु पोखरी भन्दा स–साना छन् । कुम्भकर्ण हिमालको वरिपरि १७८ वटा कुण्डहरु माला आकारमा रहेकाले पनि यसलाई गोसाइकुण्ड भनेको चौरी गोठका गोठालाहरु बताउँछन् ।
प्राकृतिक सुन्दरता
तिम्बु पोखरी र आसपासको प्राकतिक सुन्दरताको वर्णन गरेर साध्य छैन । यहाँका प्राकृतिक सुन्दरता र दृश्यहरु, वनमा फुलेका रंगीचंगी फूलहरु, पशुपंक्षी,अनेकौ वहुमूल्य जडीबुटीहरुले एकपटक सबैलाई लोभ्याउँछ । पोखरीको पानी यति संग्लो छ कि पोखरीमा पुगेका यात्रीहरुले चढाएको पैसा सतहमा विस्कुन झै देखिन्छ तर यसको गहिराई धेरै भएकोले कसैले त्यसरी चढाएको पैसा निकाल्ने हिम्मत गर्दैनन् । स्थानीय गोठलाहरुको किम्दन्ती छ तिम्बु पोखरीको पानी विरामीलाई खुवाएमा विरामी निको हुन्छ । त्यसैले त्यहाँ पुग्नेहरु पोखरीको पानी बोतलमा भरेर फर्कन्छन् । पोखरीको आसपासमा फुल्ने क्यान्जो नामक फूल जातको जडीबुटीले त्यहाँको वातावरण नै सुगन्धित बनाइदिएको छ । अझ विभिन्न प्रजातिका गुराँस, चिमल, माङकोपिला, विभिन्न जातका सुनाखरीले त्यहाँ पुग्नेको मन लोभ्याउँछ । तिम्बु पोखरीमा पाखनबेत, चिराइँतो, बुढो ओखती, सुगन्धित धूपहरु भैरङ्गपति, सुनपाति, सम्पा जस्ता वनस्पतिहरुको स्वच्छ हावामा आउने हर्रर्र गन्धले स्वर्गकै अनुभूति गराउँछ ।



