धरान÷धरान उपमहानगरपालिका वडा नं. १४ को निजी जग्गामा रहेका सालका रुखहरु हटाई पिण्डेश्वर बाबाधामको इनारबाट तल झर्ने बाटो माथिका सुकुम्बासी तथा निजी बस्ती जोगाउन तथा सम्भावित दुर्घटनाबाट धनजनको क्षति रोक्न स्वयम् जग्गाधनी र स्थानीयहरुले माग गरेका छन् ।
धरान उपमहानगर पालिका वडा न. १४ को वडा कार्यालयमा स्थानीय तथा जग्गाधनीले मानवीय क्षति हुनबाट रोक लगाई पाउँ भन्ने व्यहोराको निवेदन दर्ता गरी सोको बोधार्थ प्रदेश न. १ को वन मन्त्रालय, जिल्ला वन डिभिजन कार्यालय सुनसरी, सेक्टर वन कार्यालय धरान, इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रशासन कार्यालय सुनसरी, धरान उपमहानगरपालिका, क्षेत्रीय वन निर्देशनालय धरान र वडा नं. ३ को कार्यालयलाई दिएका छन् ।
स्थानीय खगेश्वर लुइँटेलका अनुसार ५० जना स्थानीय र जग्गाधनीले हस्ताक्षर गरी सम्बन्धित निकायलाई पहल गरिदिन आग्रह गरिएको बताउनुभयो । उहाँले भन्नुभयो वडा नं १४ र वडा नं ३ लाई समेत निजी जग्गामा लगाइएका सखुवाका रुखहरु अभिषाप बन्दै गएका छन् । वस्तीमाथिको डाँडामा रहेकोले कुनैपनि बेला दुर्घटना निम्तिन सक्ने लइँटेलले बताउनुभयो । पहिला जग्गाधनीले आय आर्जनको दृष्टिले सखुवाका रुखहरु रोपे पनि ती हुर्किएर ठूला भएको तर सखुवा कटान गर्न नपाउँदा एकातिर जग्गाधनीले जग्गाको उपभोग गर्न पाएका छैनन् भने अर्कोतिर दुर्घटनाको सम्भावना समेत बढ्दै गएकोले सम्बन्धित निकायले पहल गरी रुख हटाई दिन पनि आग्रह गरिएको उहाँले बताउनुभयो ।
बस्तीमाथि भएका रुखहरु कहिले हावाहुरीले ढलेर तल झर्ने, कहिले माटो सहित बगेर आउने, भाँच्चिने, खस्ने गर्दै आएको होमबहादुर सम्बाम्फेले बताउनुभयो । उहाले भन्नुभयो सुकुम्बासी क्षेत्रमा सबैभन्दा बढी जोखिम रहेको छ । सामान्य हावाहुरी चल्दा, पानी पर्दा सबैका आँखा मास्तिर रहेका सालका रुखतिरै हुन्छन् । भिरालो ठाउँमा रहेका रुखका कारण राति सुत्दा, बाल बच्चा लिएर बस्दा पनि त्रास उत्पन्न हुने गरेको छ । वडा नं. १४ र वडा नं. ३ को सीमामा
रहेका त्यस्ता रुखहरु हटाइदिन सुकुम्बासीका तर्फबाट जग्गाधनी उर्मिला राई लगायतले निवेदन सम्बन्धित निकायलाई दिदै आग्रह गरेका छन् । धरान बाँझगरा ११ ङ्ग को नक्सामा भएको कित्ता नं. हरु १६७, ३७२, १३५, १३६, १३८, १३९, ३७३, २१० ३००२, १३७, १७४, ३७०, ३७१, १७६, ३६६, ३६७, १७८, २०१, २०२, २०३, २०४, २०८, २०७, २०६ लगायतका घडेरी यसभन्दा अगाडि नै कित्ताकाट भएर विक्री भइसके तापनि कसैले पनि रुखका कारण भोग गर्न पाएका छैनन् ।
