धनकुटा÷लामो समयदेखि भएको अविरल बर्षाका कारण कोशी राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा सवारी साधन आवागमनमा कठिनाई भएको छ ।
धनकुटा र तेह्रथुम जिल्ला कार्यक्षेत्र भएको डिभिजन सडक कार्यालय धनकुटाले सम्बन्धित निकायबाट समयमै बजेट उपलब्ध नहुँदा सडक मर्मतमा ढिलाई हुने गरेको जनाएको छ । पूर्वाञ्चलको अत्यन्तै महत्वपूर्ण पहाडी सडकका रुपमा
रहेको कोशी राजमार्गको धनकुटा खण्डको गुठीटार, हिले, लेगुवा सडक, बसन्तपुर खण्ड र तेह्रथुमको जिरीखिम्ती लगायतका स्थानमा निरन्तर अवरोध देखिने गरेको छ । धनकुटा र तेह्रथुम जिल्लामा सडक पूर्वाधारको विकास तथा विस्तार गर्ने र विद्यमान सडक संरचनाको मर्मत गरी सडक पहुँच नभएका क्षेत्रहरुलाई सडक सञ्जालमा जोडी स्थानीहरुको जीवन यापनलाई सहज बनाउने, कृषि पर्यटकको विकासमा टेवा पु¥याउने सडक डिभिजन कार्यालयको लक्ष्य रहेको छ ।
यसका अलावा यी दुई जिल्लामा रहेका लोकमार्ग तथा सहायक मार्गहरुको निर्माण, मर्मत सम्भार गरी यातायात व्यवस्थापनलाई सहज रुपमा सञ्चालन गर्ने उद्देश्य डिभिजन सडक कार्यालयको रहे तापनि हाल लोकमार्ग र अन्य सहायक सडक मार्गको काम भने अन्यत्रैबाट हुन थालेको छ । यसै सम्बन्धमा डिभिजन सडक कार्यालय धनकुटाका डिई दानकुमार शाक्यसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो बर्षाले धेरै ठाउँमा सडक अवरुद्ध बनएको छ तर मर्मत गर्न सकिएको छैन । समग्रमा धनकुटाको सडकको अवस्था सम्बन्धमा जिज्ञासा राख्दा डिई शाक्यले भन्नुभयो पानी निरन्तर परिहेको छ । अलिकति पानी पर्दा पनि जमिन झरिहाल्छ । अहिले सडकमा यातयात चलिरहेको छ । गुठीटारमा सडक भासिएको छ । सडक भन्दा माथिबाट अर्के ट्रयाक बनाएको छौं । वान वे गरेर यतिबेला गाडी चलेको छ ।
डिभिजन सडक कार्यालयको मातहतमा ग्रामीण सडक छैन । गाउँका स–साना सडक स्थानीय निकायलाई जिम्मा दिइएको छ भने अलि ठूलो सडक प्रदेशलाई जिम्मा दिइएको छ । धनकुटा हिले लेगुवा डिभिजनले नै हेरिरहेको छ । त्यसको स्थिति राम्रो छैन । गत बर्ष सडक कालोपत्रे गरेको भए सिद्धिने थियो तर बजेट अभावले त्यो हुन सकेन । हामीले अहिले धनकुटा र तेह्रथुम मात्र हेरिरहेको भएपनि मध्य पहाडी लोकमार्गमा तेह्रथुमको बसन्तपुरदेखि माझीटारसम्म, हिलेदेखि लेगुवासम्म पनि मध्य पहाडी लोकमार्गले नै हेरिरहेको शाक्यले बताउनुभयो ।
यता भेडोटारदेखि बुधबारे, रवि, राँके पनि अरुले नै हेरिरहेका छन् । रिप भन्ने निकायले यो सडक हेरिरहेको छ । उहाँ भन्नुहुन्छ यो बर्ष हामीलाई सडक मर्मकतको लागि एक रुपैयाँ पनि आएको छैन । बैंकबाट उठाएको पैसा, गाडी बेचेर आएको पैसा, सडक करबाट उठेको पैसा मध्ये ६–७ अर्ब रुपैया सडक डिभिजन, स्थानीय निकाय र प्रदेशलाई पनि दिने गरेको छ । हामीलाई मर्मतका लािग १५ करोड थोरैमा पनि चाहिन्छ । धरान धनकुटा सडक पुरानो बाटो पनि भइसकेकोले कुनबेला ठूलो क्षति हुन्छ यसै भन्न सकिने अवस्था नभएकोले हामीले त्यस्ता ठाउँको सुपरभिजन गरेर अगाडि नै रोकथामको उपाय अवलम्बन गर्नुपर्छ । डिई शाक्य भन्नुहुन्छ गुठीटार सडक सम्वेदनशील बन्दै गएको छ । साविकको स्थानबाट सडक कि मथिबाट लैजानुपर्ने हुन्छ कि अझ तल झार्नुपर्ने हुन्छ । अहिलेलाई काम चलाउको अवस्थामात्र भएको छ । पानी परिरहेकोछ, सडकमा माथिबाट माटो, लेदो, ढुंगा झर्ने क्रम रोकिएको छैन । कुन बला सडक अवरुद्ध हुन्छ, टुंगो छैन । त्यसैले गुठीटारमा डिभिजन सडक कार्यालयले पहिरो पन्छाउन तयारी अवस्थामा डोजरको व्यवस्था गरेको पनि उहाँले प्रष्ट पार्नुभयो ।
