भारतको ७१ औं गणतन्त्र दिवस धरानमा समेत भव्य रुपमा मनाइयो

धरान÷संसारको सबैभन्दा ठूलो गणतान्त्रिक मुलुक भारतको ७१ औं गणतन्त्र दिवस धरानस्थित भारतीय राजदूतावास पेन्सन वितरण कार्यालयमा आइबार भव्य रुपमा मनाइएको छ ।
भारतले हरेक बर्षको २६ जनवरीलाई आफ्नो देशको गणतान्त्रिक संविधान जारी भएको अवसरलाई मुलुक र मुलुक बाहिरका कुटनीतिक नियोगहरुमा राष्ट्रिय पर्वकोे रुपमा मनाउदै आएको छ । आइतबार अर्थात २६ जनवरीका दिन भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानको परिसरमा स्थानीय, विभिन्न राजनीतिक दलका नेतृत्व, स्थानीय निकायका निर्वाचित जनप्रतिनिधि, उद्योगी, व्यवसायी, धरानमा विभिन्न पेशा र व्यवसाय गरी बस्नु भएका भारतीय मुलुका नागरिकहरु, शिक्षक, प्राध्यापक, समाजसेवी र ठूलो संख्यामा भारतीय भूतपूर्व सैनिकहरुको उपस्थिति रहेको थियो ।
पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकरी मे. अभिषेक सिंहले झण्डोत्तोलनसँगै वीर सैनिक स्मारकमा माल्यार्पण गर्दै उपस्थित सबैप्रति भारतको ७१ औं गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले त्यस अवसरमा छोटो मन्तव्य व्यक्त गर्दै भन्नुभयो, गणतन्त्र दिवस भारतको राष्ट्रिय दिवस हो । सन् १९५० मा भारतले गणतान्त्रिक संविधान पाएको स्मरण गर्दै भारतको स्वतन्त्रता, अखण्डतालाई अक्षुण राख्न भारतीय भूतपूर्व सैनिक, दिवंगत ज्ञात अज्ञात सैनिकहरुप्रति नमन गर्नुभएको थियो । उहाँले ठूलो र्सख्यामा कार्यक्रममा उपस्थित हुनु भएका भूतपूर्व आसाम राइफल्सप्रति लक्षित गर्दै भन्नुभयो मार्चमा पर्ने आसाम
राइफल्स डे पनि हामी आजैका दिन मनाउँदै छौं । उहाँले उपस्थित आसाम राइफल्सका भूपूहरुलाई कार्यक्रममा सहभागी हुनु भएकोमा धन्यवाद समेत दिनुभएको थियो ।


कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन धरानस्थित दिल्ली पब्लिक स्कुलका विद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । झण्डै आधा दर्जन गीतमा नृत्य प्रस्तुत गरेका विद्यार्थीहरुले उपस्थित सबैको ध्यान केन्द्रित गरेका थिए भने पेन्सन वितरण कार्यालयकी कर्मचारीकी छोरी अस्मिताले राष्ट्रिय भावनाले ओतप्रोत भएको गीतमा एकल नृत्य प्रस्तुत गरेकी थिइन् । यसका अलावा विगतका बर्षहरु भन्दा भिन्न प्रकारको नौलो प्रोकेट खेलको आयोजना गरेर कार्यक्रमलाई थप रोमाञ्चक बनाइएको थियो । प्रोकेट खेलमा भारतीय भूतपूर्व सैनिकहरुको आठवटा टिमले सहभागिता जनाएका थिए । पेन्सन पेइङ्ग टिम, धरान भूपू टिम, हाँसपोसा भूपू टिम, शान्ति नगर भूपू टिम, इटहरी भूपू टिम, बेलबारी भूपू टिम, उर्लाबारी भूपू टिम र दमक भूपू टिमले सहभागिता जनाएकोमा दमक भूपू टिम विजेता र धरान भूपू टिम उपविजेता भएका थिए । त्यसैगरी नेपाल भारतीय गोर्खा सैनिक बोर्डको पत्रिका भूपू २०१९ समेतको सामुहिक रुपमा प्रभारी अधिकारी मे. अभिषेक सिंह, एमआरआइ रुमका डा. मे. राघविन्दर सिंह, विङ्ग कमाण्डर के गुरुङ्ग, कर्णेल विजय राई, मेजर श्याम गुरुङ्ग, अनरेरी क्याप्टेन मेघनाथ राईले विमोचन गर्नुभएको थियो । गीत तथा नृत्यमा सहभागी, प्रोकेट खेलका विजेता उपविजेताहरुलाई त्यस अवसरमा पुरस्कृत समेत गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया