धरान÷ पूर्वका प्रसिद्ध तिर्थस्थल ताप्लेजुङको पाथिभरा र खोटाङको हलेसी दर्शनकालागि धरानबाट हेलिकप्टरले सेवा सुरु गरेको छ ।
धरान होलिडेजको व्यवस्थापनमा र माउण्टेन हेलिकप्टर्स प्रालिले धरानको रंगशालाबाट तिर्थयात्राकोलागि उडान भर्न थालेको
हो । साथै धरानको दृष्य हेर्न फन फ्लाइट त्यस्तै गरी पर्यटकिय स्थल गुफापोखरी, श्रीअन्तु, कञ्चनजंघा बेस क्याम, मकालु बेस क्यामसम्मको उडान भर्ने प्याकेज रहेको धरान होलिडेजका सञ्चालक अमृत मानन्धरले बताए ।
सोमबारदेखि औपचारिक रुपमा सुरु गरिएको हेलिकप्टर उडानको उद्घाटन धरान उपमहानगरपालिकाका मेयर तिलक राईले गरेका छन् । उद्घाटनका अवसरमा धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी लगायतले हेलिकप्टरबाट धरानको दृष्यावलोकन गरेका थिए । हेलिकप्टरबाट धरान हेरेपछि मेयर राईले भने ‘धरान होलिडेज र माउण्टेन हेलिकप्टरले सुरु गरेको हेलि यात्राले धरानको पर्यटन विकास लागि एक खुड्किलाको रुपमा काम गर्छ । पर्यटकहरुलाई थप मनोरञ्जन प्रदान गर्छ । धरान
नगरबासीले यस कार्यलाई सहयोग नै गरेका छन् ।’
धरान होलिडेजका सञ्चालक अमृत मानन्धरले तिर्थयात्रामा जानेहरुको यात्रा सहजताकालागि हेलिकप्टर सेवा सुरु गरेको बताए । उनले भने ‘तिर्थयात्रामा वृद्धवृद्धा र अशक्तहरु आशिर्वाद लिन जाने परम्परा भएकोले उहाँहरुले पैसा तिरेर जान सक्ने माध्यमका रुपमा हामीले हेलि यात्रा लिएर आएका हौ ।’ उनले एक नं. प्रदेशको पर्यटन विकासमा टेवा पु¥याउनकालागि हेलि यात्राले भूमिका खेल्ने बताए । उनले धरानबाट पूर्वका पर्यटकिय क्षेत्र गुफापोखरी, श्रीअन्तु, कञ्चनजंघा बेस क्याम, मकालु बेस क्यामसम्मको उडान साथै धरानको दृष्यावलोकनकोलागि फन फ्लाइट जस्ता प्याकेज ल्याएको बताए ।
हेली यात्राको उद्घाटनको दिन १५ जनाले फन फ्लाइट गरेका छन् । फन फ्लाइट गरेका दिनेश राईले धरानको दृष्यावलोकन गर्दा खुसी लागेको बताए । उद्घाटनको अघिल्लो दिन नेपाली कांग्रेसका बरिष्ठ नेता
रामचन्द्र पौडेलले सोही हेलिकप्टरबाट सपरिवार पाथिभराको दर्शन गरेका छन् । त्यस्तै उद्घाटन अगावै पहाडी क्षेत्रबाट दुई वटा रेस्क्यु गरिसकेको धरान होलिडेजका सञ्चालक त्रिरत्न अधिकारीले बताए ।
धरानबाट पाथिभरा दर्शन गरेर धरान फर्किदा प्रति व्यक्ति ३० हजार लाग्ने धरान होलिडेजले जनाएको छ । त्यस्तै हलेसी दर्शन गरेर धरान फर्किदा पनि प्रति व्यक्ति ३० हजार लाग्ने धरान होलिडेजले जनाएको छ । प्रति व्यक्ति ५ हजार रुपैयामा धरानको दृष्यावलोकन गराइने धरान होलिडेजका सञ्चालक कुन्दन श्रेष्ठले जनाए । उनले पर्यटन वर्ष २०२० लाई लक्षित गरेर हेलिकप्टरको सेवा धरान ल्याइएको बताए । तीन महिनाको लागि लक्षित गरेर सेवा सुरु गरेको धरान होलिडेजले धरान, इटहरी, विराटनगर, झापा लगायत भारतको दार्जिलिङ, सिक्किम र भुटानसम्म प्रचार गरेर त्यहाँका पर्यटकलाई समेत ल्याइने श्रेष्ठले बताए ।
आपत विपतका समयमा धरानबाट पूर्वी पहाडी क्षेत्रमा रेस्क्यु गर्ने सम्मको योजनाले माउण्टेन हेलिकप्टर धरान आएको क्याप्टेन शैलेन्द्र बस्नेतले बताए । उनले हेलिकप्टर उडानका लागि मेक्सिकन क्याप्टेन सहित मर्मतकालागि विशेषज्ञ समेत धरान आइसकेको बताए ।
