ठू्रलो परिणाममा नक्कली नोट बरामद

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले नेपाली नक्कली रुपैया १ करोड ८२ लाख ५१ हजारसहित पक्राउ परेका एकजना भारतीय नागरिकलाई सोमबार सार्वजनिक गरेको छ । माघ २८गते आइतबार नेपाली एक हजार दरका नोट सहित इनरुवा नगरपालिका वडा नं. ४ सुनसरी खोलाको पुलमा चेक जाँचका क्रममा प्रहरीले BR 11 X 3429 नम्बरको सेतो स्कार्पियो गाडीसहित एकजना भारतीय नागरिकलाई प्रक्राउ गरेको थियोे ।


पक्राउ परेका व्यक्ति भारतको विहार राज्यको सुपौल जिल्ला थाना विरपुर बस्ने २२ बर्षका मोहम्मद शैयद साफी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विपिन रेग्मीका अनुसार हाल हामीले एकजनालाई पक्राउ गरेका छौं । यससँग सम्बन्धित अन्य चार जनाको नाम आइसकेको छ । यो धन्दामा लेयर लेयर हुन्छ । यिनीहरुले उक्त रकम कहाँबाट ल्याएका हुन् भन्ने कुरा ठ्याक्कै पत्ता लागिसकेको छैन । तर गाडी कोशी व्यारेज हुँदै आएकोले सिराहा सप्तरीतिरबाट ल्याएको हुनसक्छ । शुक्रबार गाडी लिएर नेपाल आएको देखिन्छ । २८ गतेसम्म गाडीको भन्सार काटेको छ । यिनीहरु पैसा लिएर कहाँ हिडेका रहेछन् भन्ने सवालमा एसपी रेग्मीले भन्नुभयो घरि विराटनगर भन्छन्, घरि इटहरी भन्छन्, यिनीहरुको  पुरानै कनेक्सन हुनसक्छ । पैसा  पुराना र नयाँ दुवै छ । कही स्टोक गरेर राखेपछि बजार लैजाने देखिएको छ । अन्यलाई हामी चाँडै पक्राउ गर्दैछौं । त्यसपछि सबै कुरा बाहिर आइहाल्छ ।

तपाईको प्रतिक्रिया