धरान÷धरान बजारको मुख्य चोकमा सुरक्षालाई निगरानी गर्नका लागि जडान गरिएको सिसि क्यामेराहरु १ वर्ष अघि देखि बिग्रदै गए पछि सुरक्षा व्यवस्थापनमा चुनौती थपिदै गएको छ ।
धरानका मुख्य चोकमा
राखिएका १६ वटा सिसि क्यामेरा मध्ये १५ वटा बिग्रिएका छन् । २०७० सालमा सुनसरी उद्योग बाणिज्य संघ धरानको पहलमा सिसि क्यामेरा जडान गरिएको थियो । वडा प्रहरी कार्यालय धरान भानुचोकबाट निगरानी गर्नेगरी राखिएको सिसि क्यामेरा मर्मत हुन नसक्दा हाल १ वटा मात्रै संचालनमा रहेको छ ।
पोल तथा तारहरुमा अत्याधिक बाँदर दौडने गरेको हुँदा सिसि क्यामेराका तारहरु चुडिएका कारण कामै नलाग्ने भईसकेका छन् । धरानमा बढ्दै गएको अपराधिक क्रियाकलाप नियन्त्रणको लागि सिसि क्यामेरा अत्यावश्यक रहेको सुरक्षा निकायको भनाई छ ।
करिब १० लाखको बजेटमा संघ र भिगोरस नेपाल नामक संस्थाले सिसि क्यामेरा जडान गर्न सहयोग गरेका थिए । सिसि क्यामेराको संरक्षण तथा यसको निगरानी वडा प्रहरी कार्यालय धरानले गर्ने भएपनि यसको मर्मत सम्भार भने सुनसरी उद्योग बाणिज्य संघ धरानले गर्ने सहमति भएको थियो ।
व्यापारीक क्षेत्रलाई नै सुरक्षा प्रदान गर्न जोडिएका सिसि क्यामेराहरु बिग्रीएको १ वर्ष बितिसक्दा पनि सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा व्यापारीहरु पनि असुरक्षित महशुष गर्न थालेका छन् ।

