सेनाको शिविरबाट ४९२ जना लाभान्वित

हिले÷नेपाली सेनाका प्रधानसेनापति महारथि राजेन्द्र क्षेत्रीले एकसय बर्ष पुगेका भूतपूर्व नेपाली सेनालाई शताब्दी मासिक भत्ता दशहजार उपलब्ध गराउने जानकारी दिनुभएको छ ।
प्रधानसेनापति महारथि क्षेत्रीले धनकुटाको हिले स्थित दुई नं. बाहिनी अड्डामा शनिवार आयोजित भूतपूर्व सैनिक सम्मेलनसँगै सञ्चालित स्वास्थ्य शिविरमा उक्त कुरा बताउनु भएको हो ।
नेपाली सेनाले भूतपूर्व सैनिक तथा तिनका आश्रित परिवारका लागि विविध लोककल्याणकारी कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । ९० बर्षदेखि ९९ बर्ष उमेर समूहका भूतपूर्व सैनिकहरुलाई कल्याणकारी कोषबाट पूर्व शताब्दी मासिक भत्ता हाल ३ हजार उपलब्ध गराउदै आएको छ । ७० देखि ८० बर्ष उमेर समूहका भूतपूर्व सैनिकहरुलाई मासिक दुई हजार र अन्यलाई चारसय उपलब्ध गराउदै आएको छ ।
यहाँ स्मरणीय कुरा के छ भने वि.सं. २०३२ सालमा एक करोड २४ लाख रुपैयाबाट स्थापना गरिएको सैनिक कल्याणकारी कोषमा हालसम्म आइपुग्दा ४२ अर्ब तीन करोड ३८ लाख रुपैया जम्मा भएको छ । सैनिक कल्याणकारी कोषको मुख्य स्रोत शान्ति सेनाबाट प्राप्त हुने रकम नै हो । जम्मा भएको रकमको व्याजबाट नेपाली सेनाले स्वास्थ्य शिविरदेखि विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । शनिवार सम्पन्न भूपू सम्मेलनमा धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरका जेष्ठ भूपूलाइ नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । यसैगरी सेवा निवृत्त पश्चात उद्यम सञ्चालन गरी उदाहरणीय कार्य गर्ने उत्कृष्ट, सर्वोत्कृष्टहरुलाई पनि पुरस्कार दिइएको थियो भने अशक्त भूपू र तिनका आश्रित परिवारलाई सहजता होस् भन्ने हेतुले ह्विल चियर प्रदान
गरिएको थियो । यसैगरी सैनिक कल्याणकारी कोषबाट कुनै भूपूको निधन भएमा काजक्रियाका लागि २५ हजार सहयोग उपलब्ध गराइने भूपू सम्मेलनमा जानकारी गराइएको थियो । सम्मेलनमा सञ्चालित स्वास्थ्य शिविरबाट ४ सय ९२ जना भूपू तथा तिनका आश्रित परिवार लाभान्वित भएका थिए ।

तपाईको प्रतिक्रिया