धरानमा फोहोरबाट ऊर्जा उत्पादन हुने

धरान÷धरान उपमहानगरपालिकाले फोहोरबाट ऊर्जा उत्पादन गर्न तयारी सुरु गरेको छ । ऊर्जा उत्पादनका लागि भेन्चर वेस्ट टु इनर्जी प्रालिसँग २० वर्षे सम्झौता समेत गरेको छ ।
इनर्जी प्रालिले दैनिक ३० मेट्रिक टन क्षमताको प्लान्ट जडान गरी ऊर्जा उत्पादनको काम थाल्ने जानकारी दिएको छ । आइतबार उपमहानगर र इनर्जी प्रालिले पत्रकार सम्मेलनमा धरानको फोहोर व्यवस्थान गरी ऊर्जा उत्पादनको काम तत्काल सुरुवात गर्ने इनर्जीका अध्यक्ष जेनेश श्रेष्ठले जानकारी दिएका छन् ।
फोहोर व्यवस्थापन गरी ऊर्जा उत्पादनमा सम्झौता गरेसँगै
धरानलाई अझ सुन्दर सफा बनाउन मद्दत पुग्ने उपमहानगरका मेयर तारा सुब्बाले बताए । ऊर्जा उत्पादनको काम सुरु भएपछि स्थानीयले रोजगारी पाउने र बाहिरी आयात प्रतिस्थापन गर्न सकिने उनले बताए । धरानमा दैनिक ३५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ र त्यस मध्ये २२ मेट्रिक टन फोहोर ग्यास उत्पादनमा कच्चापदार्थका रूपमा प्रयोग गर्न सकिन्छ ।
धरानको फोहोरबाट दैनिक एक हजार एक सय किलो खाना बनाउन प्रयोग गरिने प्राकृतिक ग्यासका साथै पाँच हजार ६ सय किलो जैविक मल उत्पादन गर्न सकिने श्रेष्ठले बताए । धरानकी उपमेयर मञ्जु भण्डारीले फोहोरबाट ऊर्जा उत्पादन गर्न लागिएको देशमै पहिलो भएको बताईन् ।

तपाईको प्रतिक्रिया