इटहरी । वन क्षेत्रलाई विश्वव्यापी रुपमा संरक्षण गरेर पर्यटकीय केन्द्र बनाउने गरिन्छ । तर सुनसरीमा भने वन क्षेत्र फोहोर फाल्ने डम्पिङ साइडको रुपमा परिणत भएको छ ।
इटहरीको फोहोर उठाउने ठेक्का पाएको इन्भारो केयर कन्सर्न नामक कम्पनीले लामो समयदेखि इटहरी २० को सामुदायिक वन क्षेत्रमा फोहोर फाल्दै आएको छ । फालिएका फोहोरलाई बेला बेलामा त्यही डढाउनेसमेत गरेको छ । प्लाष्टिकदेखि नकुहिने फोहोरहरुसमेत बन क्षेत्रमा फाल्दा प्रदूषण फैलने, जंगली जनावरलाई असर गर्नेदेखि माटोको उर्वराशक्ति नै नाश हुने समस्या हुन्छन् । तर २०७० सालदेखि इटहरीको फोहोर उठाउने जिम्मा पाएको कम्पनिले वन क्षेत्रमा फोहोर फाल्ने गरेको हो ।
इटहरीको फोहोर संकलन गर्ने देखि प्रशोधन गर्ने सम्मको जिम्मा इन्भारोले पाएको थियो । त्यसवापत मासिक छ लाख रुपैया हाराहारी रकम उपमहानगरपालिकाबाट लिइरहेको छ । उपमहानगरपालिकाले खोजेको जग्गामा इन्भारो आफैले ल्याण्डफिल्ड साइड बनाउने.भनेपनि उपमहानगरपालिका आफैले ल्याण्डफिल्ड साइड बनाएको छ । ‘उपमहानगरपालिकासँग गरेका सम्झौताका धेरै पक्ष कार्यान्वयन नगरेको कम्पनिले वन क्षेत्र दूषित गराएको पाइएको छ,’ इटहरीका युवा होमनाथ धमला भन्छन, ‘यो समग्र नगरकै लज्जाको विषय हो, कम्पनि जवाफदेही हुनुपर्छ ।’
उनका अनुसार स्थानियले वन क्षेत्रमा फोहोर फाल्न रोक्न माग गर्दै वार्ड कार्यालय, वन कार्यालयमा अनुरोध गरेपनि कतै सुनुवाई भएन ।
जंगलमा फोहोर फाल्न बाध्य भएको जवाफ
यता इन्भारो केयर कन्सर्नका व्यवस्थापक कृष्ण प्रसाद भट्टराईले इटहरी उपमहानगरले डम्पिङ साइट नबनाएकोले वनसँगको सहमतिका फोहोर फाल्ने गरिएको बताएका छन् ।
तर कम्पनिले उपमहानगरपालिकासँग गरेको सम्झौतामै फोहोर व्यस्थापनको कार्यसमेत जिम्मा लिने उल्लेख थियो । सोको लागि आवश्यक संरचनासमेत कम्पनिले बनाउने उल्लेख छ । २०७१ सालमै इटहरी उपमहानगरपालिकाले खनारमा जग्गा खोजिदिएको थियो । तर इन्भारोले ल्याण्डफिल्ड साइड नबनाइदिएपछि उपमहानगरपालिका आफैले बनाउन थालेको थियो । इन्भारो केयर कन्सर्न पटकपटक विवादमा आएको संस्था हो । फोहोर समयमा नउठाउने, मनोमानी शुल्क लिने, फोहोर नउठाएको ठाउँबाट पनि शुल्क लिने गरेको गुनासो सर्वसाधारणले गर्दै आएका छन् । घाटा भएको भन्दै उपमहानगरपालिकासँग करोडौं क्षतीपूर्तीसमेत मागेको यो संस्थाले संकलन गरेको रकमको केही प्रतिशत टोलविकास संस्था, उद्योग वाणिज्य संघलाई दिने भनेपनि अहिलेसम्म कसैलाई रकम दिएको छैन ।
